कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाद्वारा डब्लूएचओबाट बाहिरिने प्रक्रिया सुरु

(एजेन्सी)

वासिङ्टन — अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट बाहिरिने औपचारिक कदम चालेको छ ।

अमेरिकाद्वारा डब्लूएचओबाट बाहिरिने प्रक्रिया सुरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएपछि गत मे महिनामा डब्लूएचओबाट बाहिरने घोषणा गरेका थिए । ईयूसहित विभिन्न देशहरुले त्यसो नगर्न आग्रह गरे पनि ट्रम्पले राष्ट्रसंघीय निकाय परित्याग गर्ने र त्यसलाई उपलब्ध गराइने रकम अन्य परोपकारी संस्थालाई दिने बताएका थिए ।

ट्रम्पले डब्लूएचओबाट अलग हुने उद्देश्यबारे राष्ट्रसंघ र कंग्रेसलाई सूचित गरेका छन् । तर डब्लूएचओबाट पूर्णरूपमा अलग हुन अमेरिकालाई करिब एक वर्ष लाग्ने जनाइएको छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टेफान ड्युजरिकले अमेरिकाले सन् २०२१ जुलाई ६ देखि डब्लूएचओ परित्याग गर्न सूचना दिएको पुष्टि गरेका छन् ।

डेमोक्र्याटिक दलका तर्फबाट परराष्ट्र सम्बन्ध समितिमा रहेका सांसद रोबर्ट मेनन्डेजले ट्वीटरमा लेख्दै राष्ट्रपतिले अमेरिकालाई डब्लूएचओबाट औपचारिक रूपमा बाहिर निकालेकोबारे कंग्रेसमा जानकारी गराएका जनाएका छन् ।

एक वरिष्ठ अमेरिकी अधिकारीले सीबीएस न्यूजलाई अमेरिकी सरकारले डब्लूएचओलाई सुधार गर्न तथा सोझै व्यवहार गर्ने भनेको भए पनि नमानेपछि अलग हुनुपरेको बताएका छन् । ‘हामीले आग्रह गरेअनुसार अत्यावश्यक सुधार गर्न उनीहरू असफल भएकाले यो सम्बन्ध अन्त्य गर्दै छौं,’ ती अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्युजले उल्लेख गरेको छ ।

कोभिड–१९ को महामारीका लागि जिम्मेवार चीनको दबाबमा डब्लूएचओ परेको ट्रम्पको आरोप छ । उनले डब्लूएचओमा चीनको सम्पूर्ण नियन्त्रण रहेको दाबी गर्दै आएका छन् ।

यसैबीच, आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडनले ट्वीट गर्दै आफू राष्ट्रपति बनेको पहिलो दिन अमेरिकाले डब्लूएचओको सदस्यता लिने बताएका छन् ।

अमेरिका डब्लूएचओको प्रमुख दाता हो । उसले गत वर्ष ४० करोड डलरभन्दा बढी रकम डब्लूएचओलाई दिएको थियो । यो संगठनको कुल बजेटको झन्डै १५ प्रतिशत हो । अमेरिका बाहिरिएपछि डब्लूएचको आर्थिक स्थिरता तथा स्वास्थ्य सेवा र विविध रोगसँग संघर्ष गर्न सञ्चालित कार्यक्रमहरू अन्योलमा पर्ने जनाइएको छ ।

प्रकाशित : असार २४, २०७७ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?