कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उग्रवामपन्थी परास्त हुन्छन् : ट्रम्प

(एजेन्सी)

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्रवामपन्थी, मार्क्सवादी, आन्दोलनकारी र लुटेराहरू परास्त हुने बताएका छन् । अमेरिकामा हालै भएका रंगभेद विरोध प्रदर्शनका क्रममा अमेरिकी नेताहरूका सालिक तोडफोड गरेको भन्दै उनले प्रदर्शनकारीको कडा आलोचना गरेका छन् ।

उग्रवामपन्थी परास्त हुन्छन् : ट्रम्प

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेको भए पनि उनले भाइरसविरुद्ध मुलुकले प्रगति गरिरहेको दाबी गरेका छन् । देशभर संक्रमण बढिरहेको भए पनि ट्रम्पले ‘हामीले निकै प्रगति गरिरहेका छौं र हाम्रो रणनीति राम्रोसँग अघि बढिरहेको’ दाबी गरेका छन् ।

भाइरसको महामारी व्यवस्थापन नीतिका कारण अमेरिकामा ट्रम्पको निकै आलोचना भइरहेको छ । भाइरस प्रकोप सुरु भएको चीनलाई पूर्णरूपमा जिम्मेवार बनाउनुपर्ने ट्रम्पका भनाइ छ ।

अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा बोल्दै उनले भने, ‘हाम्रो देशका प्रतिभाशाली वैज्ञानिकहरूले आगामी वर्षभित्रै औषधि वा खोपको समाधान निकाल्नेछन् ।’

ट्रम्पले ह्वाइटहाउसको बगैंचामा अमेरिकी सुरक्षाकर्मी र अग्रमोर्चाका मेडिकल कर्मचारीलाई सम्बोधन गर्ने क्रममा अमेरिकी प्रथम महिला मेलानिया साथमा थिइन् ।

कोरोना भाइरसका कारण अमेरिकामा विश्वकै सबभन्दा बढी प्रभावित छन् । कोरोना भाइरसका कारण अमेरिकामा हालसम्म १ लाख ३० हजार जनाको मृत्यु भइसकेको छ । तर राष्ट्रपतिले आफ्नो सम्बोधनमा भने यसबारे केही उल्लेख गरेनन् ।

उनको सम्बोधन लगत्तै आकाशमा बी–५२ बम्बर र एफ–३५ लडाकु जेटलगायतले लडाइँ कौशल प्रदर्शन गरेका थिए । राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले ती जहाजको प्रदर्शन निकै ध्यानपूर्वक हेरेका जनाइएको छ । त्यसलगत्तै निकै ठूलो आतिसबाजी पनि गरिएको थियो ।

ट्रम्पले ह्वाइटहाउसभित्र सम्बोधन गरिहँदा बाहिर भने ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका प्रदर्शकारीहरूले विरोध जनाएका थिए । आगामी राष्ट्रपतीय चुनावमा पुनःनिर्वाचित हुन खोजिरहेका ट्रम्पले चीनलाई भाइरस प्रकोपको सूचना लुकाउन खोजेको आरोप लगाउँदै आएका छन् । तर उक्त आरोप बेइजिङले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित : असार २१, २०७७ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?