कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा आक्रमण, कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी

कराँची — पाकिस्तानको कराँचीस्थित स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीले सोमबार आक्रमण गरेका छन् । आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा आक्रमण, कम्तीमा ७ जनाको मृत्यु

मृत्यु हुनेमा दुई सुरक्षागार्ड, एक प्रहरी र चार जना आक्रमणकारी छन् । घटनामा सात जना घाइते भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीहरू कार्यालयको मूलढोकामा ग्रिनेड विस्फोट गराएपछि भवनमा प्रवेश गरेका थिए ।

प्रहरीका अनुसार विद्रोहीले आक्रमण गरेलगत्तै सुरक्षाकर्मीले प्रतिकार गरी चार जनालाई मारिदिएका हुन् । घाइते हुनेमा तीन जना प्रहरी छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

आक्रमणको सुरुमा स्वचालित राइफल बोकेका लडाकुहरूले ग्रिनेड प्रहार गरेका थिए । त्यसपछि उनीहरूले उक्त भवनबाहिर अवस्थित सुरक्षाकर्मीको चौकीमा गोली हाने । आक्रमणकारीहरू एउटा कारमा आएका कराँची प्रहरी प्रमुखले समाचार संस्था रोएटर्सलाई बताए ।

‘एउटा खैरो रङको कारमा आएका आक्रमणकारीहरूलाई कार्यालयको गेटमा प्रहरीले रोकेका थिए । त्यसलगत्तै उनीहरूले अन्धाधुन्ध गोली प्रहार गर्न सुरु गरेपछि केहीबेर दोहोरो भिडन्त भएको हो,’ सिन्ध प्रान्तका प्रहरी अतिरिक्त महानिरीक्षक नाबी मेननले भने । प्रहरीको जवाफी कारबाहीका कारण आक्रमणकारीहरू कार्यालयको मुख्य भवनभित्र पस्न नपाएको उनको दाबी छ ।

स्टक एक्सचेन्जका निर्देशक अबिद अलि हबिबले बन्दुकधारीहरू कारबाट बाहिर निस्कनेबित्तिकै वरपर देखेका सबैलाई लक्षित गरी गोली प्रहार गरेको जनाए । उनका अनुसार आक्रमणकारीबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ तथा हतियार बरामद भएको छ ।

आक्रमणपछि कार्यालय परिसरमा रहेका अधिकांश मानिसहरू भागेका थिए । कार्यालयभित्र पसेर ज्यान जोगाएका केहीलाई पछि उद्धार गरिएको जियो न्युजले जनाएको छ ।

‘हामीहरू कोठाभित्र पसेर ढोका बन्द गरेर बस्यौं,’ एक प्रत्यक्षदर्शी असाद जाभेदले समाचार संस्था रोयटर्ससँग भने । अत्यन्त्रै कडा सुरक्षा रहेको स्टक एक्सचेन्ज परिसरमा सयौं वित्तीय संस्थाहरू रहेका छन् । ती कार्यालयहरूमा करिब ८ हजार जनाले काम गर्दै आएका थिए । तर कोरोना भाइरसका कारण कतिपयलाई घरबाटै काम गर्न भनिएकाले आक्रमणको समयमा भने कर्मचारीको संख्या कम रहेको थियो ।

घटनाको बलोच लिबरेसन आर्मीले जिम्मेवारी लिएको छ । बलोचिस्तान प्रान्तका विभिन्न स्रोतहरूको हिस्सा आफूले पाउनुपर्ने बलोच विद्रोहीहरूको माग रहेको थियो तर पछिल्ला दिनमा उनीहरूको पृथकतावादी विद्रोह गर्दै आएका छन् । त्यसका साथै उनीहरूले बलोचिस्तान प्रान्तमा चिनियाँ लगानीको कडा विरोध भएको जनाएका छन् । पछिल्ला दिनहरूका हिंसात्मक आक्रमणहरू गर्न थालेपछि बलोच समूहलाई पाकिस्तान, बेलायत र अमेरिकाले आतंककारी घोषित गरिसकेका छन् ।


प्रकाशित : असार १५, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?