चीनले सीमाक्षेत्रका सैनिकलाई मार्सल आर्ट सिकाउने

एजेन्सी

बेइजिङ — भारतसँगको सीमामा झडप भएपछि चीनले आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाएको जनाएको छ । आधिकारिक प्रतिक्रिया नजाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो ।

दुई देशका सेनाबीच सीमाक्षेत्रमा दुई साताअघि भएको भीडन्तमा कम्तीमा २० भारतीय सेनाको मृत्यु भएको थियो । घटनामा ७६ जना भारतीय सैनिक घाइते भएका थिए । चीनले भने हालसम्म आफ्नो तर्फको क्षतिको विवरण सार्वजनिक गरेको छैन । सन् १९९६ मा गरिएको एक सम्झौता अनुसार सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक, बम वा विस्फोटक पदार्थ बोक्न पाउदैनन् । उक्त भिडन्तमा चिनिया पक्षले घरेलु हतियारको प्रयोग गरेको जनाइएको छ ।

हङकङका सञ्चार माध्यमका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चार माध्यमले जुन २० तारिखमा उल्लेख गरेका थिए । सरकारी प्रसारक सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा पठाइएको हो ।

आणविक हतियारसम्पन्न भारत र चीनबीच जुन १५ मा लद्दाखको गलवान उपत्यकामा हिंसात्मक भिडन्त भएको हो । उक्त घटनाप्रति दुवै देशले एक अर्कालाई आरोप लगाउंदै आएका छन् ।

प्रतिकूल मौसम रहेको उच्च हिमाली क्षेत्र अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रण रहिआएको छ । भारत र चीनबीच सीमामा लामो समयदेखि सीमाका कारण तनाव हुंदै आएको छ । तर सीमा झडप कै कारण भने चार दशकभन्दा बढी समयपछि सैनिकको मृत्यु भएको हो ।

भारत र चीनबीच सन् १९६२ मा सीमायुद्ध भएको थियो । उक्त युद्धमा भारत नराम्ररी पराजित भएको थियो । भारतले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र चीनले ओगटेको आरोप लगाउंदै आएको छ ।

पछिल्लो समय चीनले नियोजित रुपमा सीमाक्षेत्रमा सैनिको उपस्थिति बढाउँदै लगेको भारतको आरोप छ । दुई देशबीच सीमा विवादबारे पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान निस्कन सकेको छैन ।

प्रकाशित : असार १५, २०७७ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्

बुबाका पात्रमा छोराहरू

एजेन्सी

मुम्बई — सम्भवत: केहीले चिराग पाटिलबारे सुनेको हुनुपर्छ या नहुन पनि सक्छ । जेहोस्, उनी ३३ वर्षीय मराठी सिनेमा र टीभी सिरियलका अभिनेता हुन् । कविर खानले बनाउन लागेको सिनेमा ‘८३’ मा पनि उनी पक्कै देखिनेछन् ।

यो त्यही बहुप्रतीक्षित सिनेमा हो, जसमा रणवीर सिंहले कपिल देवको रूपमा अभिनय गर्दैछन् । चिरागले पनि त्यही विश्वकप विजेता टिमका एक पात्रको भूमिका खेल्दैछन् । उनी हुन् सन्दीप पाटिल ।

सानो छँदा पाटिलले पनि केही अवसरमा क्रिकेट खेलेकै थिए । तर उनकै बुबाले उनलाई धेरै लामो समय क्रिकेट खेल्न दिएनन् । कारण, उनलाई के लाग्यो भने आफ्नो छोरामा त्यो क्षमता छैन, जसले उनलाई माथिल्लो स्तरको क्रिकेटसम्म पुर्‍याउन सक्ने छैन । यो क्रिकेटलाई पनि राम्रो भयो, मराठी सिनेमालाई पनि । र, अहिले झन् फाइदा भएको छ, उनी आफ्नै बुबाको भूमिकामा देखा पर्नेछन् । उनीसँग अलिकति भए पनि क्रिकेट खेलेको अनुभव छ ।

उनी भन्छन्, ‘म ठ्याक्कै आफ्नो बुबा जस्तो देखिन्नँ, जति मेरो भाइ देखिन्छ । तर बानीव्यहोरा, बोल्ने तरिका भने धेरै हदसम्म मेरोसँग मिल्छ । त्यसैले मलाई सजिलो हुन्छ नै । रणवीरले कपिल देवबारे बुझ्न उनको घरमा १० दिन बिताए । कपिल देवले कसरी कुरा गर्छन्, कुरा गर्दा कसरी हात चलाउने गर्छन्, यी सबै बुझ्नका लागि उनले यति मिहिनेत गरेका हुन् । कम्तीमा मैले यस्तो गर्नुपरेन । बरू मेरा लागि त क्रिकेट खेल्नु बढी चुनौतीपूर्ण रह्यो ।’

यो सिनेमा जुरेको यस्तो संयोग यहीमात्र पनि होइन । सन् १९८३ को विश्वकपबारे बनेको सिनेमामा वेस्ट इन्डिजका खेलाडीको पनि चर्चा हुनैपर्‍यो । वा भनौं यो सिनेमामा पात्रका रूपमा वेस्टइन्डिजका केही खेलाडी पनि त हुनैपर्‍यो । कार्ल ग्रिनिजले आफ्ना बुबा गोर्न ग्रिनिजको भूमिका खेल्दैछन् । यस्तै माली मार्सलले आफ्ना बुबा म्यालकम मार्सलको भूमिका खेल्नेछन् । त्यसो त वेस्ट इन्डिज कप्तान क्लाइभ लोयडका छोराले पनि यस सिनेमामा खेल्दैछन् ।

तर उनी आफ्नो बुबाको भूमिकामा हुने छैनन् । बरू जेसन लोयडले तीव्र गतिका बलर जोए गार्नरको भूमिका खेल्नेछन् । यसको कारण हो, दुवैको मिल्दो उचाइ । गार्नर ६ फिट ८ इन्च अग्ला छन् । त्यस्तै शिवनारायण चन्द्रपलका छोराले ल्यारी गोमजको भूमिका खेल्नेछन् । अधिकांश यी पात्रको चयनका तीन कारण छन्, अनुहार र हाउभाउ मिल्दोजुल्दो, क्रिकेटको क्षमता र अभिनय गर्नसक्ने कला । संयोग कस्तो भने चिराग यी सबैमा मिल्छन् । उपयुक्त छन् ।

उनी भन्छन्, ‘तर मलाई गाह्रो क्रिकेट खेल्नमै भयो । म बुबाले जसरी ब्याट लिएर क्रिजमा उभिन्थें, म त्यस्तै गर्न चाहन्थें । त्यस्तो स्थितिमा बुबाको एक कुम माथि आउँथ्यो भने अर्को तल हुन्थ्यो । स्ट्यान्स आफै खुला हुन्थ्यो । जति बेला सुटिङ भयो, त्यही शैलीका काम गर्न मलाई एकदमै गाह्रो भयो । यसले मलाई ढाड दुख्ने समस्या भयो । समस्या कतिसम्म चर्को भयो भन्दा मलाई त्यसको उपचार गर्न नै साढे दुई महिनाको थेरापी आवश्यक परेको थियो ।’

सन् १९८३ मा उनको बुबाले विश्वकप जित्दा चिराग जन्मेकै थिएनन् । तर वेस्ट इन्डिजले त्यही विश्वकप गुमाउँदा कार्ल ग्रिनिज भने जन्मिसकेका थिए । उनी भर्खर ५ वर्षका थिए, त्यसैले धेरै सम्भना छैन । तर उनलाई बुबाले क्रिकेटमा संलग्न हुन् भने प्रेरणा र सहयोग थिए । उनले सुरुमा काउन्टी क्रिकेट खेलेपछि उत्तरी लन्डनका स्कुलमा क्रिकेट प्रशिक्षक भएर बिताए । उनी भन्छन्, ‘यही कारणले मलाई यो सिनेमा खेल्न मदत गरेको थियो ।’

उनले कविर खानका लागि कास्टिङ डाइरेक्टरको भूमिकामा पनि निभाए । किनभने उनलाई वेस्ट इन्डिजको त्यो जमानाका टिमका खेलाडीसँग अनुहार र हाउभाउ मिल्दो पात्र खोज्न सजिलो थियो । सिनेमा बनाउँदै गरेको टोलीलाई एउटा समस्या भने भयो । त्यो थियो, कपिल देवले जिम्बावेविरुद्ध १ सय ७५ रन बनाउँदाको फुटेज नहुनु । त्यसैले ती सबै दृश्यका लागि निर्देशकले बलविन्दर सिंह सन्धुको सहयोग लिएका छन् । उनी सिनेमा निर्माण काममा सल्लाहकार बनेका छन् ।

फाइनलमा उनले नै ग्रिनिजको विकेट लिएका थिए र त्यसपछि मात्र भारतीय टिममा आत्मविश्वास बढेको थियो, वेस्ट इन्डिजविरुद्ध १ सय ८३ रनको स्कोर रक्षा गर्न सकिन्छ भनेर । यिनै सन्धुले नै सिनेमाका निर्देशकदेखि लिएर कलाकारलाई आत्मविश्वास दिलाएका थिए, आखिरमा भारतले जितेको सन् १९८३ को त्यो विश्वकपबारे सिनेमा बनाउन सकिन्छ भनेर । त्यतिबेला वास्तवमै के कस्तो भएको थियो, त्यसको साना–साना तथ्यलाई जीवन्त राख्ने काम उनकै भागमा परेको छ ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : असार १४, २०७७ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×