कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाबाट २७५ नेपालीहरु स्वदेश प्रस्थान

दिनेशजंग शाह

न्युयोर्क — कोभिडले अमेरिकामा रोकिएका २ सय ७५ नेपालीहरु मंगलबार बिहान स्वदेश प्रस्थान गरेका छन् । मार्च महिनाको मध्यदेखि कोभिड संक्रमणले अमेरिका आतंकित भएपछि विभिन्न प्रयोजनमा आएका नेपालीहरु अमेरिकाका विभिन्न सहरमा रोकिएका थिए ।

अमेरिकाबाट २७५ नेपालीहरु स्वदेश प्रस्थान

मंगलबार न्युयोर्कस्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सले नेपाली यात्रहरुलाई सेवा प्रदान गरेको हो । टर्किसको चार्टड विमान, इस्तानाबुल हुँदै बुधबार काठमाडौं अवतरण हुनेछ ।

विमानस्थलमा सहजकर्ता बनेका न्युयोर्कस्थित नेपाली कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले भने, ‘विमानमा ६ अमेरिकी कूटनीतिज्ञसहित दुई सय ८१ सवार छन् ।’भट्टराईका अनुसार सिकागोको निर्धारत उडान, संख्या नपुगेर त्यहाँका यात्रुलाई समेत एयरलाइन्सले न्युयोर्कबाट उडाइएको छ । बिहीबार टेक्सासको डालासबाट कतार एयरवेजको अर्को उडान भर्ने छ ।

नियमित भाडा दरभन्दा महँगो एकतर्फी भाडा १५३७ अमेरिकी डलर तिरेर नेपाल फर्किन आतुर नेपालीहरु मंगलबार बिहानैदेखि विमानस्थलमा पुगेका थिए । न्युयोर्कलगायत आसपासका सहरहरु बोस्टन, वासिङ्टन डिसी, बाल्टिमोर, कनेटीकेट लगायत निकै टाढा क्यालिफोर्नियाबाट पनि नेपालीहरु हवाई सेवाका लागि विमानस्थल पुगेका थिए । नेपाली सरकारका कर्मचारीहरु, विभिन्न कार्यक्रममा आएका नेपालीहरु एवम् अमेरिकामा आफ्ना सन्तानलाई भेट्न आएकाहरुको उल्लेखीय संख्या छ ।

अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीका अनुसार निर्धारित उडान भए पनि सडक दुर्घटनाका कारण वीर अस्पतालका चिकित्सक रिमा जोशी र हरि राईले भने न्युयोर्कको उडान छुटाएका छन् । नेपाल पुगेपछि दुई साता क्‍वारेन्टाईनमा बस्नु पर्ने छ । नेपाल सरकारले टर्किस र कतार एयरवेजको समन्वयमा उडान चार्टर गरेको हो ।


प्रकाशित : असार ९, २०७७ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?