कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीआरआईको विश्व सहकार्य उच्चस्तरीय भिडियो सम्मेलन बिहीबार

लक्ष्मी लम्साल

बेइजिङ — गत वर्ष बेइजिङमा सम्पन्न दोस्रो ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चका उपलब्धिहरूको समीक्षा तथा कार्ययोजना तर्जुमा गर्न बिहीबार उच्चस्तरीय भिडियो सम्मेलन गरिने भएको छ।

बीआरआईको विश्व सहकार्य उच्चस्तरीय भिडियो सम्मेलन बिहीबार

विभिन्न २५ वटा मुलुकका विदेशमन्त्री वा विदेशमन्त्रीस्तरीय पदाधिकारी र संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठनलगायत निकायका जिम्मेवार व्यक्तिहरू सहभागी हुने सम्मेलनको बेइजिङबाट चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले अध्यक्षता गर्नेछन्।

बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन गत वर्ष वैशाखमा बेइजिङमा आयोजना भएको थियो। नेपाल गणतन्त्रात्मक मुलुक भएपछि राष्ट्रपतिको पहिलो राजकीय भ्रमणका साथै नेपाल-चीन सीमापार बहूद्देश्यीय सञ्जाल विस्तारको ढोका खोल्ने अवसर पनि सोही सम्मेलनका दौरान जुरेको थियो। यद्यपि नेपालको ठूलो महत्त्वाकांक्षा जोडिएको हिमालयपार सम्झौता कार्यान्वयनको अवस्था भने एक वर्षको अवधिमा निकै सुस्त देखिएको छ।

चीनको परराष्ट्र मन्त्रालयले दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनका सहमति कार्यान्वयनका विषय अघि बढाउनु र हातमा हात मिलाएर विश्व महामारी कोभिड-१९ विरुद्ध लड्ने योजना तर्जुमा गर्नु यस सम्मेलनका लागि तय गरिएका एजेन्डा भएको बताएको छ। मंगलबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र प्रवक्ता चाउ ली च्येनले भने, ‘अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी दोस्रो शिखर मञ्चमा प्राप्त मतैक्यलाई व्यवहारमा उतार्नु र बीआरआई सहकार्यका साझेदारहरूबीच रोगप्रतिरोधसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई बढाउनु यस सम्मेलनको मुख्य विषयवस्तु हो।’

कोभिड-१९ को महामारीपछि विश्व अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको छ भने आपूर्ति शृंखला र आदानप्रदानमा पनि ठूलो गतिरोध उत्पन्न भएको छ। ‘यस विषम परिस्थितिलाई लिएर उत्पादन तथा कारोबारको चेनलाई पुनः सञ्चालन गर्ने विषयमा चीनले जोड दिएको छ,’ प्रवक्ता च्येनले भने, ‘उत्पादन र व्यापार सुचारु गर्न अनुभव साटासाट गरेर बीआरआई परियोजनालाई गुणस्तरीय बनाउनु पनि सम्मेलनको अर्को महत्त्वपूर्ण उद्देश्य हो।’

बीआरआईको प्रथम विश्व सहकार्य शिखर मञ्च सन् २०१७ को मे र दोस्रो सम्मेलन २०१९ को अप्रिलमा आयोजना गरिएको थियो। यो उच्चस्तरीय भिडियो कन्फ्रेन्स चीनका परराष्ट्र मन्त्रालय, विकास तथा सुधार आयोग, वाणिज्य मन्त्रालय, स्वास्थ्य आयोग लगायतले संयोजन गर्दै छन्।

प्रकाशित : असार ३, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?