कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्ली र मुम्बईको स्थिति भयावह बन्दै

भारतमा कोरोना भाइरसबाट संक्रमित २ लाख ६७ हजार जनामध्ये ४५ प्रतिशत यी दुई राज्यका छन्
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) महामारीको संक्रमणका हिसाबले भारतका राजधानी दिल्ली र मुम्बईको स्थिति चिन्ताजनक बन्दै गएको छ । भारतमा मंगलबार साँझसम्म करिब २ लाख ६७ हजार जनामा भाइरसको संक्रमण पुष्टि भएकामध्ये ४५ प्रतिशतभन्दा बढी यिनै दुई राज्यमा छन् ।

दिल्ली र मुम्बईको स्थिति भयावह बन्दै

त्यसैगरी हालसम्म भारतमा संक्रमणका कारण ७ हजार ४ सय ६६ जनाको मृत्यु भइसकेको छ । तीमध्ये आधाभन्दा बढी अर्थात् ४ हजारभन्दा बढी दिल्ली र मुम्बई राज्यका छन् ।

केही दिनयता यी दुई राज्यमा संक्रमणको तीव्र विस्तारले भारतमा दैनिक थपिने संक्रमितको संख्यामा पनि वृद्धि देखिएको छ । भारतमा मंगलबार एक दिनमै करिब दस हजार नयाँ बिरामी थपिएका छन् । जुन अहिलेसम्मकै बढी हो । त्यसैगरी उक्त अवधिमै २ सय ६६ जनाको ज्यान गएको छ ।

संक्रमणको दरमा भएको वृद्धिले विश्वका उच्च संक्रमण भएका मुलुकहरूमा भारत पाँचौं स्थान उक्लिसकेको छ । भारतभरका बिरामीमध्ये करिब आधा अर्थात् १ लाख ३० हजारभन्दा बढी भने निको भइसकेका छन् ।

भारतमा संक्रमण विशेषगरी लकडाउन खुकुलो भएसँगै बढी फैलिएको हो । १ जुनदेखि लकडाउन क्रमश: खुकुलो पार्दै लगिएकाले संक्रमणको विस्तार पनि तीव्र रूपमा भएको छ । २४ मार्चदेखि लागू गरिएको देशव्यापी लकडाउनलाई चरणबद्ध रूपमा खुकुलो पार्दै लगिएको छ ।

लामो दूरीका रेलदेखि आन्तरिक हवाई सेवा पनि सुचारु भएका छन् । गत सोमबारदेखि त सपिङ मल, धार्मिक स्थल र रेस्टुराँलाई पनि खोल्न अनुमति दिइएको छ । यसरी लकडाउन पार्दै लगिएपछि मानिसहरूको आउजाउ बढ्ने क्रमसँगै संक्रमण पनि बढ्दै गएको छ ।

विशेषगरी महाराष्ट्र र राजधानी दिल्लीको तस्बिर चिन्ताजनक बन्दै गएको छ । महाराष्ट्रमा मात्र ८८ हजार ५ सयभन्दा बढीमा भाइरस पुष्टि भएको छ । त्यसमध्ये पचास हजारभन्दा बढी संक्रमित त मुम्बईको मात्र भएको बताइएको छ ।

यता दिल्लीमा पनि संक्रमितको संख्याले ३० हजार नाघेको छ । विगत केही दिनयता कोभिड– १९ का केसमा एकाएक वृद्धि देखिएपछि संक्रमण समुदायस्तरमा फैलिएको आशंकासमेत गरिएको छ । यद्यपि दिल्ली सरकारले अझै संक्रमण समुदायस्तरमा नफैलिएको दाबी गरेको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणको मंगलबार बसेको उक्त बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।

तर, अहिलेकै गतिमा संक्रमण बढ्दै जाने हो भने जुलाई महिनाभित्रमा संक्रमितको संख्या साढे पाँच लाखभन्दा बढी नाघ्ने प्रक्षेपण दिल्ली सरकारले गरेको छ । दिल्ली सरकारका उपमुख्यमन्त्री मनिसा सिसोडियाले मंगलबार त्यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् । संक्रमणको उक्त प्रक्षेपणलाई आधार बनाउँदै जुलाईको अन्त्यसम्म अस्पतालमा करिब ८० हजार आइसोलेसन शय्या चाहिनेसमेत जनाइएको छ ।

लकडाउनका खुकुलो भएसँगै संक्रमण तीव्र रूपमा बढेपछि केजरीवाल नेतृत्वको दिल्ली सरकार दबाबमा देखिन थालेको छ । दिल्ली सरकारको करिब १० हजार शय्या दिल्लीका स्थायी बासिन्दाका लागि छुट्याउने निर्णयलाई पनि त्यही दबाबको परिणाम ठानिएको छ ।

केजरीवालले बाहिरका बिरामीको उपचार गर्दा दिल्लीका स्थायी बासिन्दाका लागि समस्या पर्ने भएकाले उक्त व्यवस्था गरेको दाबी गरेका थिए । तर, उक्त निर्णयलाई लिएर केजरीवालको चौतर्फी विरोध भयो । सबैतिरबाट विरोध भएपछि दिल्लीका उपराज्यपाल अनिल बैजलले केजरीवाल सरकारको उक्त निर्णयलाई उल्टाइदिएका थिए ।

महाराष्ट्र र दिल्ली नेपाली कामदारहरूको सबैभन्दा बाक्लो उपस्थिति रहेका राज्यहरूमा पर्छन् । महाराष्ट्रको मुम्बईमा मात्र करिब दुई लाखको संख्यामा नेपाली कामदारहरू रहेको प्रवासी संगठनहरूको दाबी छ । त्यसैगरी, भारतमा महाराष्ट्रपछि नेपालीहरूको ठूलो संख्या दिल्लीमै भएको बताइन्छ । त्यसैले महाराष्ट्र र दिल्लीमा संक्रमण बढ्दै जाँदा त्यहाँ रहेका नेपाली कामदारहरूमा पनि संक्रमणको त्रास पनि थपिँदै गएको छ ।

उता नेपालसँग जोडिएको उत्तर प्रदेश राज्यमा पनि एकै दिनमा अहिलेसम्मकै उच्च संक्रमण पुष्टि भएको छ । मंगलबार ३ सय ८८ नयाँ केस पुष्टि भएका छन् । यो सँगै उत्तर प्रदेशमा संक्रमितको संख्या ११ हजार ३ सयभन्दा माथि नाघेको छ । त्यसैगरी अर्को सीमावर्ती राज्य बिहारमा पनि संक्रमित संख्या करिब पाँच हजार तीन सय पुगेको छ । जसमध्ये २६ सयभन्दा बढी एक्टिभ केस छन् । खुला सीमा भएका कारण उत्तर प्रदेश र बिहारमा संक्रमण बढ्नु नेपालका लागि पनि त्यत्तिकै जोखिमपूर्ण छ ।

मजदुरी, डकर्मी, स्याउ बगानका काम गर्न जाने नेपाली कामदारहरूको बाक्लो उपस्थिति छ हिमाचल प्रदेशमा । त्यहाँ पनि संक्रमणको संख्या पनि दिन प्रतिदिन वृद्धि देखिएको छ । हालसम्म उक्त राज्यमा ४ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ भने दुई सयभन्दा बढी उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै, नेपाली कामदारहरूको बाक्लो उपस्थिति रहेको तमिलनाडु, गुजरात, राजस्थान र मध्यप्रदेशमा पनि संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । भारतमा हालसम्म ५७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दिल्लीस्थित दूतावासका अनुसार तीमध्ये ७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ८ जनाको उपचार चलिरहेको र बाँकी निको भइसकेका दूतावासले जानकारी दिएको छ ।

साथै लकडाउन खुकुलो भएसँगै भारतका उच्च संक्रमण देखिएका राज्यहरूमा रहेका नेपालीहरूको घर फिर्ने क्रम पनि सुरु भएको छ । त्यसैले सीमामा उनीहरूको कोरोना भाइरसको परीक्षण प्रभावकारी ढंगले नगर्ने हो भने नेपालमा संक्रमण जोखिम थप बढेर जाने निश्चित छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?