कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युजिल्यान्ड कोरोना भाइरसमुक्त

‘स्पष्ट स्वास्थ्य नीति, पिसिआर टेस्टिङ र सामाजिक दूरी प्रभावकारी रूपमा लागू गर्ने विषयमा नेपालले पनि धेरै कुरा सिक्न सक्छ ।’
नारायण खड्का

सिड्नी — न्युजिल्यान्ड सोमबारदेखि आधिकारिक रूपमा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको सबै प्रतिबन्धलाई फुकुवा गर्ने घोषणा गरेकी छन् । कोरोना भाइरसका कारण संक्रमित अन्तिम व्यक्ति अस्पतालबाट डिस्चार्ज भएसँगै आधिकारिक रूपमा न्युजिल्यान्ड कोरोना भाइरसमुक्त भएको हो ।

न्युजिल्यान्ड कोरोना भाइरसमुक्त

न्युजिल्यान्डमा विगत १७ दिनदेखि कुनै पनि नयाँ संक्रमणसमेत देखिएको छैन । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रफुल्लित मुद्रामा देखिएकी आर्डर्नले देशमा लगाइएको सबै प्रकारका प्रतिबन्धलाई समेत खुला गरेकी छन् । यद्यपि अन्तर्राष्ट्रिय हवाई यातायातमा लगाइएको प्रतिबन्ध भने तत्काललाई हटाइएको छैन । सोमबारदेखि नै सार्वजनिक तथा व्यक्तिगत कार्यक्रमका साथै सार्वजनिक सवारी र अन्य सबै प्रकारका व्यवसायलाई सामाजिक दूरीबिना नै सामान्य रूपमा सञ्चालन गरिने भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गत फेबु्रअरीको २८ तारिखमा पहिलो संक्रमण देखिएको न्युजिल्यान्डमा यसका कारण २२ जनाले ज्यान गुमाएका थिए भने १ हजार ५ सय ४ संक्रमणको सिकार बनेका थिए । संक्रमितको संख्या १ सय पुग्नेबित्तिकै न्युजिल्यान्डले देशकै उच्च तहको सुरक्षा सतर्कता अपनाउँदै लेभल–४ को प्रतिबन्ध कार्यान्वयन गरेको थियो । पूर्णत: लकडाउन गरी संक्रमण नियन्त्रणका लागि काम गरेको न्युजिल्यान्डले संक्रमण देखिएको करिब ३ महिनाकै अवधिमा संक्रमणलाई नियन्त्रणमा लिन सफल बनेको थियो । सोमबारदेखि यो सुरक्षा सर्तकता लेभल एकमा झारिएको छ जुन भाइरस संक्रमण हुनुअघिको हो ।

लकडाउनमा यात्रा गर्न नपाइने प्रतिबन्धलाई उल्लंघन गरेका कारण स्वास्थ्यमन्त्री डा. डेभिड क्लार्क कारबाहीमा परेका थिए । यसले पनि कोरोना भाइरस नियन्त्रणका लागि न्युजिल्यान्डले संक्रमण रोक्न कसरी काम गरेको थियो भन्ने पुष्टि गर्ने विश्लेषकहरुले बताएका छन् । सोमबारको पत्रकार सम्मेलनमा आर्डनले पुन: भाइरसको संक्रमण देखिन सक्ने सम्भावना रहेको बताउँदै यस्तो देखिए न्युजिल्यान्डवासी असफल भएको नभई भाइरसको वास्तविकता नै यही भएको बताइन् ।

न्युजिल्यान्डस्थित अकल्यान्डमा चिकित्सकका रूपमा कार्यरत डा. प्रभुकिरण पाण्डे सुरुको समयमा डरलाग्दो अवस्था भए पनि सरकारी स्वास्थ्य नीतिका कारण यो अवस्था धेरै समयसम्म नरहेको बताउँछन् । ‘साँच्चै भन्ने हो भने नेपालले पनि यहाँबाट धेरै कुरा सिक्न सक्छ तर त्यसका लागि स्पष्ट स्वास्थ्य नीति, पीसीआर टेस्टिङ र सामाजिक दूरीलगायतलाई प्रभावकारी रूपमा लागू गर्न सक्नुपर्छ,’ उनले कान्तिपुरसँग भने । उनी अहिले नेपालमा संक्रमण बढिरहेका कारण सरकारले निजी क्षेत्रलाई सहभागी गराएर भए पनि पीसीआर टेस्टिङलाई बढाउनुपर्ने सुझाव दिन्छन् ।

न्युजिल्यान्ड नेप्लिज सोसाइटीका अध्यक्ष दिनेश खड्काले ३ महिनापछि लकडाउनबाट बाहिर आउँदा सम्पूर्ण जनताहरु उत्साहित रहेको सुनाए । ‘लामो समयसम्म लकडाउन भए पनि सरकारले जनतालाई उपलब्ध गराउन सक्ने सबै सहयोग दिएकाले समेत सरकार कोरोना नियन्त्रणमा सफल बनेको हो ।’

खुसीले एकछिन नाचेँ : आर्डर्न

सोमबार न्युजिल्यान्डका चिकित्सकले कुनै पनि सक्रिय संक्रमणका बिरामी नभएको खबर प्रधानमन्त्री आर्डर्नलाई सुनाएका थिए । सोमबारै आयोजित पत्रकार सम्मेलनमा न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डर्नले ‘मैले आज खुसीले केहीछिन नाचेँ’ भन्दै आफ्नो देश कोरोना भाइरसमुक्त भएकोमा अत्यन्तै खुसी भएको बताएकी थिइन् । उनले देशलाई कोरोनामुक्त बनाउनका लागि आफूहरुले मात्र नभएर देशमा रहेका सबै ५० लाख जनताको एक टिमले काम गरेका कारण सफल बनेको बताएकी थिइन् । विश्वमै सफल नेतृका रूपमा नाम कमाएकी उनले भाइरस नियन्त्रणका लागि गरेको सबै कार्यलाई सम्पूर्ण जनताले प्रशंसा मात्र गरेका थिएनन् कि अन्तिमसम्म साथ दिएका थिए ।

न्युजिल्यान्डका स्थानीय समाचारमाध्यमले उनमा असहज परिस्थितिलाई सामना गर्न आवश्यक सबै क्षमता भएको बताएका छन् । ‘द कन्भर्सेसन’ मा प्रकाशित एक रिपोर्टका अनुसार प्रधानमन्त्री आर्डर्नमा एक सफल नेतामा हुनुपर्ने मुख्य तीन गुण भएको उल्लेख गरिएको छ । उनमा एक नेताले आफ्ना जनतासँग गर्न चाहिने सञ्चारका सबै सीप भएको, जनतालाई परिवर्तनसँग अभ्यस्त हुन सक्षम बनाउने र सही कामका लागि सबैलाई सहमत गराउन सक्ने क्षमता भएको बताएको छ । ‘भलै यहाँ सबै कुरा उत्कृष्ट नभएका होलान् तर हामीले आर्डर्नको नेतृत्वलाई अन्य पश्चिमा नेतासँग तुलना गर्दा अवश्य आभारी हुनुपर्छ,’ रिपोर्टमा भनिएको छ ।

प्रधानमन्त्री आर्डनले भाइरस नियन्त्रणका लागि तत्काल चालेको कदमलाई न्युजिल्यान्डका ९० प्रतिशतभन्दा बढी जनताले समर्थन गरेका थिए । त्यति मात्र नभएर उनी रुचाइएको प्रधानमन्त्रीको रेटिङसमेत बढेर ५९.५ प्रतिशत पुगेको समाचारमा जनाइएको छ । गतवर्ष क्राइस्ट चर्चको मस्जिदमा भएको आक्रमणपछि उनले चालेको कदमका कारण उनको नेतृत्वले विश्वव्यापी चर्चा कमाएको थियो । समाचारमाध्यमले प्रधानमन्त्री आर्डर्नले कोरोना भाइरस नियन्त्रणका लागि चालेको ‘छिटो गरौं प्रभावकारी गरौं’ भन्ने रणनीति नै सफल बनेको बताएका छन् ।

विशेष गरेर सञ्चारमाध्यमसँग मैत्रीपूर्ण मानिने आर्डर्नलाई कोरोना भाइरस नियन्त्रणपछि विश्वका सञ्चारमाध्यमले खुलेर प्रशंसा गरेका छन् । कोरोना भाइरसको संक्रमण परेर पनि नियन्त्रणमा सफलता पाउने विश्वकै पहिलो देश भएको समेत दाबी गरिएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७७ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?