१५ वर्षमुनिका ४ करोडमा धूमपानको लत : डब्लूएचओ- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ वर्षमुनिका ४ करोडमा धूमपानको लत : डब्लूएचओ

एजेन्सी

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी किशोरकिशोरीमा धूमपानको लत रहेको जनाएको छ । राष्ट्रसंघीय निकायले विश्व धूमपानरहित दिवसका अवसरमा चेतनामूलक कार्यक्रम गरी युवा जगत्मा धूमपानको कुलत हटाउनुपर्नेमा जोडसमेत दिएको छ ।

‘हाल १३–१५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी युवाहरूले सुर्तीजन्य पदार्थको सेवन सुरु गरिसकेका छन्,’ डब्लुएचओले भनेको छ । डब्लूएचओले १३–१७ वर्ष उमेर समूहका विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको बजारीकरणबारे सचेतना दिन विशेष सूत्रको प्रयोग गरेको थियो । सुर्तीजन्य उद्योगहरूले किशोरकिशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक ९ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्दै आएका छन् ।

डब्लूएचओले भनेको छ, ‘सुर्तीजन्य उत्पादनको विज्ञापनका लागि सम्बन्धित उद्योगहरूले विश्वमा हरेक वर्ष ९ अर्ब अमेरिकी डलर खर्चिने गरेको छ र निकोटिन तथा सुर्तीजन्य पदार्थको यो विज्ञापनको लक्षित समूह भनेको युवा जगत् रहने गरेको भेटिएको छ ।’

उद्योगहरूले प्रतिवर्ष धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट हुने विभिन्न समस्याका कारण ८ करोड व्यक्तिको बदलामा आफ्नो उत्पादनको प्रयोग गर्न युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गर्ने गरेका हुन्छन् ।’

कोभिड–१९ का कारण आएको विश्वव्यापी महामारीमा पनि सुर्ती, चुरोट, खैनी, बिँडी, परागजस्ता सुर्ती र निकोटिनजन्य अन्य पदार्थको उत्पादन गर्ने उद्योगले आफ्ना उत्पादन बजारमा पठाउने क्रम जारी रहेको बताइएको छ । साथै यस्ता कुलतजन्य पदार्थका कारण मानिसको भाइरसविरुद्ध लड्ने शक्तिलाई कमी गर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

‘धूमपान वा सुर्ती सेवन गर्ने हरेक १० व्यक्तिमध्ये नौ जना १८ वर्ष पुग्नुअघि नै यस्तो कुलतमा लाग्ने गरेकाले यस वर्गलाई लक्षित गरी धूमपानविरोधी भावना जागृत गर्नु अनिवार्य भएको छ,’ संगठनका जनस्वास्थ्य कार्यक्रमका निर्देशक रूइदिगर क्रेचले भने । धूमपानजस्ता कुलतमा फस्न नदिन किशोरकिशोरीलाई उनीहरूको १३–१७ वर्ष उमेर समूहमा सचेतना वृद्धि गर्दै निगरानी बढाउनु आवश्यक भएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बबलगम, क्यान्डी, चुरोट, सुर्ती लगायतका १५ हजार भिन्नभिन्न स्वादका सुर्तीजन्य पदार्थको बिक्री हुने गरेको छ । बबलगम र क्यान्डीहरूले युवाहरूलाई क्रमशः गम्भीर खालका निकोटिनजन्य सामानको उपयोग गर्न प्रेरित गर्ने गरेको पनि जनाएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

लद्दाख सीमामा फेरि भारत र चीनबीच तनाव

सुरेशराज न्यौपाने

नयाँदिल्ली — कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ । पछिल्लो समय करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । यी दुई आणविक शक्ति राष्ट्रबीचको पछिल्लो तनावले पुरै एसियामा युद्धको भय सिर्जना गरेको छ ।

भारत र चीनबीच करिब पैंतीस सय किलोमिटर लामो सीमा छ । जसमध्ये केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतको तर्फबाट उक्त निगरानी सेना र आईटीबीपीले गर्छन् । संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो–तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ । सीमा विवादलाई नै लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो । भारतले नराम्ररी पराजय भोगेको उक्त युद्धपछि पनि सीमा विवाद भने टुंगिएन ।

पछिल्लो विवाद भनेको लद्दाखस्थित सीमा क्षेत्रलाई लिएर हो । जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग लामो समयदेखि विवाद छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । साथै पाकिस्तान नियन्त्रित कश्मीरको भूभाग पनि भारतले आफ्नो दाबी गर्ने गरेको छ ।

त्यही दाबीबीच भारतले ५ अगस्ट २०१९ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेको थियो । आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्रका आफ्नो नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले तत्कालै विरोध जनाएको थियो । चीनले भारतले आफ्नो नयाँ नक्सामा लद्दाखको विवादास्पद भूमिलाई पनि समेटेको आरोप लगाएको थियो । उक्त नक्साप्रति कालापानीलगायत आफ्नो भूमि समावेश गरिएको भन्दै नेपालले पनि विरोध जनाएको थियो ।

त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बाट छुट्याइएको छ । दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ । यस पटकको विवाद पनि त्यही एलएसीको उल्लंघनलाई लिएर भएको हो । त्यसमा पनि गलवान उपत्यका, तातो पानी र प्यानगंग ताल क्षेत्रमा तनाव चर्किएको हो । पछिल्लो विवादमा चीनले भारतमाथि आफ्नो भूमिमा अनधिकृत रूपमा प्रवेश गरेर र सीमासम्बन्धी पूर्वाधार निर्माण गरेको आरोप लगाएको छ भने भारतले भने आफ्ना सैनिकहरू आफ्नैपट्टि रहेको बताएको छ । तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले विभिन्न स्रोतबाट प्राप्त स्याटलाइट तस्बिरहरूलाई आधार बनाउँदै दुवै पक्षबाट एलएसीको नजिकै सडक र टेन्ट बनाइरहेको उल्लेख गरेका छन् ।

विवाद बढ्दै गएर सीमा सुरक्षामा खटिएका सैनिकहरूबीच झडपको स्थिति नै बनेको छ । भारतीय सञ्चार माध्यमहरूले लद्दाखका तीनवटा स्थानमा दुई देशका सैनिकहरूबीच झडप भएको उल्लेख गरेका छन् । त्यसैगरी सिक्किमको नाथु ला क्षेत्रमा पनि दुई देशका सैनिकहरूबीच झडप भएको बताइएको छ । विवादका कारण सीमामा खटिएका सैनिकहरूबीच हिंस्रक झडप भएका तस्बिरहरू सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।

तनाव बढ्ने क्रमसँगै दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउँदै लगेका छन् । भारतले आफ्नो सेना सँगै आईटीबीपीको ठूलो संख्यालाई लद्दाखको एक्चुअल लाइन अफ कन्ट्रोल (एलएसी) क्षेत्रमा पठाएको छ । भारतले चीनको सैन्य उपस्थिति बराबर हुने गरी सैनिकहरू पठाउन लागेको हो । त्यसका लागि भारतले पहिले लद्दाखको अतिरिक्त फौजबाहेक पनि जम्मु–कश्मीरबाट पनि थप सैनिक पठाउन लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुई देशबीच तनाव चलिरहे पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भने जारी रहेको छ । त्यसका लागि दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि चलिरहेको छ । तर पनि तनाव कम हुनुको साटो थप बढ्दै गएको छ । भारत र चीनबीच सीमामा आइपर्ने तनाव सम्बन्धमा छलफल सैनिक अधिकारीहरूको नेतृत्वमा एउटा विशेष संयन्त्र नै गठन गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार गत साता दुई पटक उक्त सयन्त्रमार्फत दुई देशका सैनिक अधिकारीहरूबीच छलफल भएको थियो । उक्त छलफलमा भारतले चीनलाई एलएसी क्षेत्रमा यथास्थिति कायम गर्नुपर्ने माग गरेको थियो भने चीनले सीमानजिक सडकलगायत कुनै पनि संरचनाको निर्माण तत्काल रोक्नुपर्ने माग राखेको थियो ।

भारतीय सञ्चार माध्यमहरूले त तनाव कम गर्नका लागि स्थानीयस्तरमा आधा दर्जनभन्दा बढी पटक वार्ता भइसकेको बताएका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहले शनिबार एउटा भारतीय टीभी च्यानललाई दिएको अन्तर्वार्तामा पनि भारत आफ्ना छिमेकीहरूसँग सुमधुर सम्बन्ध चाहेको हुँदा चीनसँग पनि सैनिक वा कूटनीतिक स्तरबाटै विवाद समाधान गरिने बताएका थिए ।

सीमालाई लिएर दुई छिमेकीबीच तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि दुई देशले चाहेको खण्डमा मध्यस्थता गर्ने बताएका थिए । तर, ट्रम्पको उक्त भनाइलाई भारत र चीन दुवैले खारेज गर्दै दुई देशको मुद्दामा तेस्रो पक्षको भूमिका आवश्यक नरहेको जनाएका थिए । दुई देशबीच सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्ततः उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो ।

प्रकाशित : जेष्ठ १९, २०७७ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×