कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा माध्यमिक तहका कक्षा सुरु

एपी

सोल — कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको दक्षिण कोरियाको माध्यमिक तहको अध्ययन/अध्यापन सुचारु भएको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू बुधबारदेखि विद्यालयमै गएर अध्ययन गर्न थालेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्वभरि पठनपाठन अवरुद्ध भइरहेका बेला दक्षिण कोरियाले भने सुरक्षाका उपायसहित शैक्षिक संस्थाहरू पुन: सञ्चालनमा ल्याएको हो ।

कोरियामा माध्यमिक तहका कक्षा सुरु

अधिकारीहरूका अनुसार शिक्षालयमा प्रवेश गर्नुअघि शिक्षक तथा विद्यार्थीहरूको तापक्रम मापन गर्न थालिएको, मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको र अन्य आधारभूत स्वास्थ्य सतर्कताहरू अपनाइएको जनाएका छन् ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण शैक्षिक संस्थाहरू लामो समयदेखि बन्द थिए । तर नयाँ शैक्षिक सत्र शुरु गर्ने समय गुज्रिसकेकाकाले साधानीसहित कक्षा सञ्चालन गर्नुको विकल्प नभएको विज्ञहरूको भनाइपछि पठनपाठन सुरु गरिएको हो ।

अहिले सञ्चालनमा आएका शिक्षालयहरूमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्नेलगायतका गतिविधिहरू पहिलाभन्दा फरक रहेको विद्यार्थीहरूले बताएका छन् । रोगको डरले लामो समय लकडाउन गरिएकाले विद्यार्थीहरूको अध्ययन प्रभावित भएको थियो ।

कोरियाली शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्ने गरी डेस्कमा प्लास्टिकको नयाँ संरचना बनाइएको जनाएको छ । एक विद्यार्थीको नाक, मुखबाट निस्कने श्वास अर्को विद्यार्थीसम्म नपुगोस् भन्ने उद्देश्यले अनुहार छेक्ने पारदर्शी संरचना वितरण गरिएको मन्त्रालयको भनाइ छ ।

अहिले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि मात्रै अध्ययन अध्यापन कार्य सञ्चालन गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उनीहरूले सानो उमेरका विद्यार्थीहरूका लागि चरणबद्ध रूपमा कक्षा सञ्चालनमा ल्याइने जनाएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ २३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?