कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस अझै सम्पर्कविहीन

नवीन पोखरेल

लन्डन — मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व ब्रिटिस राजदूत रिचर्ड मोरिसको खोजी कार्य जारी रहेको ब्रिटिस प्रहरीले जनाएको छ ।

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस अझै सम्पर्कविहीन

ब्रिटेनको ह्याम्पसायर प्रहरीले बेन्टली निवासी ५२ वर्षीय मोरिस गत बुधबार बिहान १०.३० बजे दौड्न घरबाट निस्किएको तर त्यसपछि परिवारसग सम्पर्कमा नआएको जनाएको छ । प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आ–आफ्ना घरका बगैंचा, भण्डार गृह आदिमा चेक गर्न आग्रह पनि गरेको छ । कुनै स्थानीय बासिन्दा वा व्यवसायसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले खोजी कार्यमा सघाइरहेका हयाम्पसायर सर्च एण्ड रेस्क्यू टोलीका स्वयंसेवकहरुलाई धन्यवाद पनि दिएको छ । उनले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि आउँदो जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो । उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।

उनले लामो बाहुला नीलो जिपर भएको टप, कालो हाफ पाइन्ट र निलो जुत्ता लगाएको प्रहरीले बताएको छ । प्रहरीले आफूसँग व्यवसायिक खोजकर्ता समूह रहेको र उनीहरुले स्थानीय क्षेत्रमा गहन रुपले खोजी गरिरहेको भन्दै विश्वस्त पारेको छ ।

बेलायतको विदेश मन्त्रालय (एफसीओ) मा प्यासिफिक डिपार्टमेन्ट प्रमुख भएर काम गरिसकेका मोरिस सम्पर्कविहीन भएको खबरले आफूहरु चिन्तित भएको भन्दै एफसीओले उनी छिट्टै सकुशल भेटिने अपेक्षा व्यक्त गरेको छ ।

नेपाललाई माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । विशेषगरी ब्रिटेन नेपाल च्याम्बर अफ् कमर्स प्रतिनिधिसँग निकट थिए मोरिस ।

प्रकाशित : वैशाख ३०, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?