कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वुहानमा फेरि बढ्यो संक्रमण

११ जना संक्रमित भेटिएपछि जिलिन प्रान्तको सुलानमा लकडाउन
(एजेन्सी)

बेइजिङ — कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा संक्रमण फेरि बढेको छ । अधिकारीका अनुसार वुहानमा सोमबार पाँच जना संक्रमित भेटिएका र उनीहरू एउटै आवास क्षेत्रका हुन् । अप्रिल ३ यता वुहानमा पहिलो पटक शनिबार एक जना संक्रमित भेटिएका थिए ।

वुहानमा फेरि बढ्यो संक्रमण

महामारी घोषणा भएयता मार्च ११ पछि वुहानमा एकै दिन संक्रमण देखिएको यो सबैभन्दा ठूलो संख्या हो ।

त्यस्तै, भाइरसबाट संक्रमित ११ जना भेटिएपछि चीनको एउटा सहरलाई उच्च जोखिमको सूचीमा राखेर पूर्ण लकडाउन गरिएको छ । उत्तर कोरिया र रुससँग सीमा जोडिएको जिलिन प्रान्तको सुलान सहरमा एक सातामा ११ जनामा संक्रमण देखिएको हो । अधिकारीका अनुसार उनीहरू सबै एक महिलाबाट संक्रमित भएका हुन् ।

ती ४५ वर्षीया महिलाले आफ्ना श्रीमान्, दिदीबहिनी र परिवारका अन्य सदस्यलाई भाइरस सारेकी बताइएको छ । तर ती महिलाले कतै यात्रा भने नगरेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार घटनापछि सहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएका छन् । सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ भने सहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा हालसम्म ८२ हजार ९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । तीमध्ये ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ७८ हजार १ सय ४४ जना उपचारपछि निको भइसकेका छन् । आयोगका अनुसार हाल उपचार गराइरहेका १ सय ४१ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित : वैशाख २९, २०७७ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?