कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहाँ गए ती विमान ?

ह्यांगर तथा रनवेमा विमान नअटेपछि करिब २ हजार ५ सय ठूला विमान कम्पनीलाई पार्किङको समस्या
ददि सापकोटा

पेरिस — विश्वको कम्तीमा आधाभन्दा जनसंख्या कुनै न कुनैखाले लकडाउनमा छ । होटल बन्द छन् । रेस्टुरेन्ट र बारहरुमा ताला लागेको छ ।सुपरमार्केटहरु खुलेका छैनन् । बजार ठप्प छ । पर्यटकीय केन्द्र सुनसान छन् ।

कहाँ गए ती विमान ?

हामीमाथिको आकाश पनि त सुनसान नै छ । जतिखेर पनि आकाशमा उडिरहने, परिवार, देश र विश्वलाई जोडिदिने विमानहरु लगभग आकाशमा देखिँदैनन् । कहाँ गए त ती विमान ? कौतुहलता लाग्न सक्छ ।

फ्लाइटराडार २४ का इयान पेचेनिकका अनुसार गत वर्षहरुमा मार्च/अप्रिल महिनामा दैनिक १ लाख ७५ हजार देखि १ लाख ८० हजार विमानले उडान भर्थे । भारतमा पनि यो मौसममा दैनिक ३ हजार ३ सय ३० स्थानीय फ्लाइट हुन्थे भने ५ सय ८० वटा अन्तर्राष्ट्रिय उडान हुन्थे । तर मे ६ को तथ्यांकअनुसार विश्वमा लगभग ८५ प्रतिशतभन्दा बढी उडान कटौती भएका छन् ।

विश्वका सबै विमानस्थलका हयांगरमा विमान अटाउने ठाउँ पनि छैन । विमानहरु सबै ओर्लिए भने के गर्ने भन्ने प्रश्न आजसम्म कसैले सोचेकै देखिएन । त्यसैले सबै विमान जमिनमा ओर्लिंदा तिनलाई पार्किङको समस्या भयो ।

ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सले उनीहरूको क्षेत्रीय र अन्तरमहाद्विपीय यात्रुहरू दुबई, न्युयोर्कको जोन अफ केनेडी, लन्डन हिथ्रो र अन्य यस्तै ठूला सहरतिर उडान गर्थे । जहाँ पुग्यो त्यहीं पार्क गर्थे । ती विमानहरू सामान्य रूपमा सबै एकै समयमा एकै थलोमा भेट नै हुँदैनथे । तर कोरोना भाइरसको संक्रमणले सबै विमान ग्राउन्डेड हुँदा पार्किङ नपाएर हैरान भएका छन् ।

ट्याक्सी जसरी लाइनमा विमानहरु पार्किङ गरेर राख्दा पनि ह्यांगरको कुरै छाडौं, विमानस्थलका रनवेहरु भरिएका छन् । लगभग २ हजार ५ सय ठूला विमान कम्पनीलाई पार्किङको समस्या भयो ।

केही एयरलाइन्सहरूले पायक पर्ने ठूला विमानस्थलमा पार्किङ नपाएपछि एरिजोना मरूभूमिमा पठाए । डेल्टा एयरलाइन्सका लागि पनि आफ्ना विमानहरु अमेरिकाको मारानामा राखेको छ । यसले ७६७ बोइङ पनि भण्डार गर्छ । उसले ठूला व्यापारिक केन्द्र भएका सहरमा भन्दा उडानका लागि सजिलो हुन्छ भनेर मरुभूमिमा राखेका छन् । ठूला सहरमा भन्दा मरुभूमिमा पार्किङ गर्दा विमानहरु बढी सुरक्षित र पार्किङको मूल्य सस्तो हुनाले ७७७ बोइङ पनि त्यतै थन्क्याइएका छन् । डेल्टा एयरले मात्रै ६ सय वटा विमानहरु पार्किङ गरेको छ ।

अमेरिकी यात्रुबाहक केही विमान ओक्लाहोमाको टुल्सा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसम्मै भरिएका छन् । यहाँ अस्ट्रेलियाको क्वान्टास लिमिटेड, सिंगापुर एयरलाइन्सलगायतले विमान पार्किङ गरेका छन् ।

युरोपको सबैभन्दा ठूलो जर्मनीको फ्यांकफर्ट विमानस्थल विमानहरूको भूतघरजस्तै बनेको छ । यसको उत्तर–पश्चिम अवतरण गर्ने रन वे, ट्याक्सी वे लुफ्थान्सा, कन्डोर र अन्य एयरलाइन्सका लागि पार्किंङमा बनेको छ ।

लुफ्थान्साले स्विट्जरल्यान्डको ज्युरिखनजिकको सेनाको विमानस्थल समेत पार्किङका लागि भाडामा लिएको छ । हङकङ, सोल, बर्लिन, भियनाजस्ता ठूला विमानस्थलका पार्किङमा त विमानको भीड नै लागेकै छ ।

त्यसबाहेक भिक्टोरभिल, क्यालिफोर्निया, मराना, एरिजोनाका मरुभूमिमा सयौं विमान पार्किङ गरिएको छ । विमान राख्ने ठाउँ नपुगेर क्वान्टास एयरले करिब ५० वटा विमानहरु अस्ट्रेलियाको मेलबर्नस्थित सानो विमानस्थल आभालोन एयरपोर्टमा पनि लगेर पार्किङ गरेको छ । क्याथे प्यासेफिकले ट्याक्सी पार्किङ गर्ने ठाउँ र विमान उडाउँदा प्रयोग हुने अन्य क्षेत्र ओगटिरहेको छ ।

अमेरिकन एयरलाइन्सले चारवटा विमानस्थल प्रयोग गरेको छ । एयरबस ए ३२०, ए ३२१ र ए ३३० का लागि र एम्ब्रायर ई–१९० क्षेत्रीय जेट पिट्सबर्गमा राखिएको छ । ब्रिटिस एयरवेजले ठूला विमानहरु बर्नमाउथमा राखिरहेको छ ।

लुफ्थान्साका प्रवक्ता नेदा जफारिका अनुसार प्रयोगमा नआएको रनवे र विमानस्थलका प्रयोगहीन ठाउँहरु खोजेर विमान राखिएका छन् । लुफ्थान्साका ७ सय ६३ मध्ये ७ सय विमान पार्किङ गरिएको छ ।

भारतको सबैभन्दा ठूलो डोमेस्टिक एयरलाइन्स इन्डिगोका ६० विमान दिल्ली विमानस्थलमा छन् । यहाँ राष्ट्रिय ध्वजावाहक एयर इन्डियाका ५० प्रतिशत विमान राखिएका छन् । भारतको मुम्बईमा सयवटा पार्किङ गरिएको छ । बैंग्लोरमा ७१, हैदरावादमा ६१, कोलकातामा ५४ र चेन्नाईमा ५३ वटा पार्किङ गरिएको छ । इन्डिगोले एकै ठाउँ पार्किङ नपाएर भारतका १८ वटा विमास्थलमा पार्किङ गरिरहेको छ ।

स्पाइस जेट र गो एयरलाइन्सले ११ वटा विमानस्थलमा पार्किङ गरिरहेका छन् । एयर इन्डियाले ७ वटा विमानस्थल, भिस्ताराले ६ वटा विमानस्थल र एयर एसिया इन्डियाले ५ वटा विमानस्थल प्रयोग गरेका छन् । मुम्बई, बैंग्लोर, हैदराबाद, चेन्नाई र कोलकातामा भारतका ८५ प्रतिशत विमान राखिएका छन् । इन्दोर, पुणे, गुहावटी, चण्डिगढ, जयपुर, लखनौ, थिरुभनन्थापुरन आदिमा पार्किङ गर्ने कम्पनी पनि छन् ।

विमानको वजन, विमानस्थलको प्रसिद्धि, पार्किङको क्षमताका आधारमा पार्किङको दस्तुर भर पर्छ । पहिलो एक सय टनसम्म वजन भएकालाई एउटा र अन्यलाई अर्को खाले दस्तुर लाग्छ । उदाहरणका लागि कोलकाता विमानस्थलमा पार्किङ शुल्कप्रति टनप्रति घण्टा ९ रुपैयाँ र हाउजिङको प्रतिटन १७ रुपैयाँ ६० पैसा लाग्छ । यो १ सय टन सम्म वजन भएको विमानका लागि हो । त्यो भन्दा गह्रौं विमानका लागि प्रतिटन ११ रुपैयाँ ८० पैसा र हाउजिङको शुल्क २३ रुपैयाँ ६० पैसा लाग्छ । युरोप, अमेरिकातिर लगभग यति नै रकम डलर वा युरोमा तिर्नुपर्छ ।

त्यस्तै, विमानको आकार प्रकार अनुसार मर्मत, उडानपछिको निगरानी र इन्धन, ब्याट्रीको काम, लगातार पार्किङ गरिरहन मिल्ने समयका लागि विमान उत्पादक संस्थाको निर्देशिका पालना गर्नुपर्छ । लामो समयसम्म पार्किङ गर्दा पार्टपुर्जा खराब हुने भएकाले विमानहरुलाई बेलाबेला उडाइराख्नुपर्छ । जसका कारण विमानको खर्च बढ्छ ।

विमान कम्पनीहरुले ठूलो आर्थिक घाटा व्यहोर्नुपरेकाले धेरै देशहरूले सहुलियत प्याकेज पनि घोषणा गरेका छन् । अमेरिका, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड, फ्रान्स, स्विडेन र नर्वेलगायत देशले एयरलाइन्सलाई पैसा ग्यारेन्टी र कर छुटका लागि वित्तीय राहतको घोषणा गरेका छन् । अस्ट्रेलियाको मेलबर्न र ब्रिसबन विमानस्थलले पार्किङ नि:शुल्क गरिदिएका छन् ।

विश्वको लकडाउन कहिले खुल्छ भन्ने निश्चित छैन् । खुले पनि ती विमानहरूमध्ये कति चाहिन्छन् निक्र्यौल छैन । आगामी दिनमा विश्वको पर्यटन र व्यापारको अवस्था कसरी अघि बढ्छ भन्ने पनि यकिन नभएकाले धेरैजसो विमान कम्पनी आर्थिक रूपमा टाट पल्टिने अवस्था आउने निश्चित छ ।

प्रकाशित : वैशाख २९, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?