१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

फ्रान्समा लकडाउन खुकुलिँदै, चार चरणमा हटाइने

सोमबारदेखि स्कुल, कार्यालय, उद्योग र सार्वजनिक यातायात खुला
ददि सापकोटा

पेरिस — कोरोना भाइरसका कारण ५५ दिनदेखि लकडाउनमा रहेको फ्रान्सले सोमबारबाट आंशिक रूपमा खुकुलो पार्ने तयारी गरेको छ । स्वास्थ्यकर्मी र विशेषज्ञको सुझावपछि चार चरणमा लकडाउन हटाउन लागिएको हो ।

फ्रान्समा लकडाउन खुकुलिँदै, चार चरणमा हटाइने

संक्रमण अझै साम्य नभएको र फेरि बढ्न सक्ने सम्भावना रहेकाले चरणबद्ध रूपमा खुला गर्नुपर्ने प्रधानमन्त्री एडुवार्ड फिलिपले बताएका छन् । राष्ट्रपति एमानुएल माख्रोंले लकडाउनमा बालबालिका सानो कोठामा ठूलो परिवारसँग बस्दा घरेलु हिंसाको चपेटामा परेको देखिएकाले विद्यालय पठाउन अनिवार्य गरिएको तर्क गरेका छन् ।

सरकारले मे ११, मे १८, जुन २ र जुलाई २२ गरी चार चरणमा लकडाउन खोल्ने भएको हो । लकडाउन हटाइएपछि सरकारले घोषणा गरेका सुरक्षा र सामाजिक दूरीका नियम पालना भए नभएको निगरानी गर्न २० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मास्क नलगाउनेलाई १ सय ३५ युरो जरिवाना तोकिएको छ ।

सरकारी घोषणाअनुसार सोमबारदेखि पेरिस क्षेत्रका सार्वजनिक यातायातका साधन बढीमा ५० प्रतिशत सञ्चालनमा ल्याइनेछन् । यिनमा कार्यालयमा काम गर्नेहरूलाई प्राथमिकता दिइने र सामाजिक दूरी एक मिटर अनिवार्य कायम गरिनेछ । सार्वजनिक रूपमा आउजाउ गर्दा हरेक व्यक्तिका लागि मास्क अनिवार्य तोकिएको छ । सरकारले मंगलबारदेखि नै १० लाख मास्कको व्यवस्था गर्ने फ्रान्सको रेल सञ्जाल संस्था आरएटीपीले जनाएको छ ।

सरकारले सोमबारदेखि शिशुकक्षा र प्राथमिक स्कुल सञ्चालनमा ल्याउँदै छ । सामाजिक दूरी कम्तीमा एक मिटर कायम गर्दै एक समूहमा बढीमा १० जनालाई पढाइनेछ ।

नगरप्रमुख र अभिभावकले शैक्षिक क्षेत्र खोल्ने निर्णय पालना गर्न नसक्ने भन्दै विरोध जनाएपछि राष्ट्रपति माख्रों र प्रधानमन्त्री फिलिप दुवैले आफ्नो क्षेत्र र नगरपालिकालाई अनुकूल हुने नियम बनाउन स्वीकृति दिएका छन् । केही मेयरले आफ्नो क्षेत्रमा कोरोना भाइरसको प्रभाव हेरेर स्कुल खोल्ने मिति केही समयका लागि पर सारेका छन् ।

फ्रान्समा सोमबार साना–ठूला गरी चार लाख उद्योग र कम्पनी सञ्चालनमा ल्याइनेछन् । ८ लाख ७५ हजार मानिस नियमित काममा फर्किनेछन् । तिनमा पुष्प व्यापारी, पुस्तक र प्रिन्टिङ पसल, सैलुन पसलका कर्मचारीसमेत पर्नेछन् । तर, ४० हजार मिटरभन्दा फराकिला क्षेत्र ओगटेका पसल भने खुल्न पाउनेछैनन् । इन्टरनेटमार्फत काम गर्न सक्ने अवस्था भएकालाई घरबाटै काम गर्न अनुरोध गरिएको छ ।

पसल, खेलकुद, सैलुन र कलकारखानाले आफ्ना कामदार र ग्राहकलाई अनिवार्य रूपमा दुरी कायम गराउनुका साथै सेनिटाइजर, मास्क र पन्जा प्रयोग गर्नुपर्नेछ । रेस्टुरेन्टहरूले टेक अवे र होम डेलिभरी मात्रै गर्न सक्नेछन् । तर यिनले व्यक्तिगत र खाद्य सुरक्षाका नियम अनिवार्य पालना गर्नुपर्नेछ ।

कोरोना भाइरस संक्रमणको स्थिति हेरी नागरिकहरू एक क्षेत्रबाट अर्को क्षेत्रमा ओहोरदोहोर गर्न पाउने पाउने नियम बनाइएको छ । हाल फ्रान्समा ३२ क्षेत्रलाई रातो घेरामा राखेर कोरोना भाइरसको उच्च जोखिमका रूपमा संकेत गरिएको छ । रातो चिह्न भएका क्षेत्रका नागरिक त्यो क्षेत्र कटेर बाहिर निस्किन पाउनेछैनन् । त्यहाँ स्कुल, पसललगायत सबै बन्द गर्ने नियम छ । लकडाउनलाई खुकुलो पारिए पनि हरियो क्षेत्रका नागरिकसमेत आफू बसेको क्षेत्रबाट एक सय किमिभन्दा टाढा जान पाउनेछैनन् ।

सरकारले होटेल, रेस्टुरेन्ट, बार, नाट्यशाला, ठूला पार्क र राजनीतिक, सामाजिक–सांस्कृतिक भेला गर्ने अधिकारलाई जुलाई २१ सम्मका लागि बन्देज गरेको छ ।

प्रकाशित : वैशाख २९, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?