कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा फेरि बढ्यो संक्रमण

आइतबार संक्रमण देखिएका ३४ जनामध्ये ८ जना विदेशबाट आएका हुन्
(एजेन्सी)

सोल — कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो पारेको दक्षिण कोरियामा आइतबार एकै दिन ३४ जना संक्रमित फेला परेका छन् । अधिकारीका अनुसार एकै दिन संक्रमण भेटिएको यो अप्रिल ९ यताकै उच्च संख्या हो ।

कोरियामा फेरि बढ्यो संक्रमण

कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) ले नयाँमध्ये २६ जनालाई स्थानीयस्तरमै संक्रमण भएको जनाएको छ । ८ जना विदेशबाट आएकाहरू हुन् ।

केसीडीसीका अनुसार एक जना संक्रमित राजधानी सोलस्थित नाइट क्लबहरूमा पुगेपछि अन्य मानिसलाई भाइरस सरेको थियो । एक २९ वर्षीय युवक मे २ मा तीनवटा नाइट क्लबमा पुगेका थिए । केही दिनपछि उनमा संक्रमण रहेको पुष्टि भएको थियो ।

यसअघि, दक्षिण कोरियाले कोभिड–१९ को संक्रमण नियन्त्रणमा आएको भन्दै जारी लकडाउन खुकुलो पारेको थियो । त्यसैगरी, विद्यालय, चर्च, रेस्टुराँ तथा नाइट क्लबहरू खुला गरेको थियो । करिब एक महिनायता कोरियामा दैनिक एक जनाको हाराहारीमा मात्र संक्रमित भेटिएका थिए ।

अधिकारीहरूका अनुसार आइतबारसम्म नाइट क्लबसँग सम्बन्धित ५४ जनामा संक्रमण देखिइसकेको छ । यसमध्ये ४३ जना क्लबमै पुगेका जनाइएको छ । अन्य ११ जना उनीहरूको सम्पर्कमा आएका कारण संक्रमित भएका थिए ।

केसीडीसीले लकडाउनपछि खुला गरिएको क्लब पुगेका १ हजार ९ सय ४६ जनाको ट्रेसिङ भइरहेको छ । उनीहरूलाई १४ दिनको क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । त्यसका साथै अधिकारीहरूले पछिल्लो पटक नाइट क्लबमा पुगेकाहरूलाई अनिवार्य सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

कोरियामा कोभिड–१९ को संक्रमणका कारण २ सय ५६ जनाले मात्र ज्यान गुमाएका छन् । अधिकारीहरूका अनुसार संक्रमितको संख्या १० हजार ८ सय ७४ पुगेको छ । तीमध्ये ९ हजार ६ सय १० जना निको भइसकेका छन् ।

दोस्रो लहरको संक्रमणको चेतावनी

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने भन्दै चेतावनी दिएका छन् । पछिल्ला केही दिनमा नाइट क्लबहरूबाट फैलिएको संक्रमणले कोभिड–१९ को भाइरस जुनसुकै बेला जहाँ पनि फैलन सक्छ भन्ने प्रस्ट भएको उनको भनाइ छ ।

‘यो अझै परास्त भइसकेको छैन । हामी एउटा लामो युद्धमा छौं,’ मुनले भने, ‘म सबै जनालाई सुरक्षात्मक सावधानी अपनाउन र समस्याको पूर्णरूपमा अन्त्य नभएसम्म दैनिक जीवनयापनका क्रममा नियमहरूको अनिवार्य पालना गर्न आग्रह गर्छु ।’

मुनले लामो समयदेखि कोभिड–१९ विरुद्ध लडिरहेको केसीडीसीलाई थप अधिकारसहित शक्तिशाली बनाउने र नाम परिवर्तन गर्ने पनि बताए । ‘हामी संक्रामक रोगको उपचारका लागि थप अस्पताल र अनुसन्धान केन्द्रको स्थापना गर्नेछौं,’ मुनले भने, ‘दोस्रो लहरको महामारी फैलिन सक्ने भएकाले तयारीका लागि यो निकै महत्त्वपूर्ण छ ।’

यसअघि अमेरिकाका एक वरिष्ठ जनस्वास्थ्यविद्ले कोभिड–१९ कोरोना भाइरस संक्रमणको दोस्रो लहर झनै खतरनाक हुन सक्ने चेतावनी दिएका थिए । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का प्रमुखसमेत रहेका स्वास्थ्यविद् रोबर्ट रेडफिल्डले आगामी जाडोयाममा साधारण फ्लुसँगसँगै कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलिने बताएका हुन् ।

रेडफिल्डले कोभिड–१९ र फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी संक्रमण एकैसाथ फैलिएको खण्डमा कतिपयय देशको स्वास्थ्य प्रणालीमा अकल्पनीय भार पर्न सक्नेतर्फ सचेत गराएका छन् । उनका अनुसार आगामी महिनाहरूमा त्यस्तो अवस्थासँग जुध्ने तयारी तत्काल सुरु गर्न अत्यावश्यक छ ।

अन्तरकोरियाली रेलवे निर्माणको प्रस्ताव

राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त क्वारेन्टाइनलगायतका पारस्परिक सहयोगात्मक परियोजनालाई अघि बढाउनुपर्ने बताएका छन् ।

राष्ट्रपति पदमा निर्वाचित भएको तेस्रो वार्षिकीका अवसरमा विशेष सम्बोधन गर्दै मुनले अन्तरकोरियाली रेलवे सम्पर्क सञ्जालको निर्माण र उत्तर कोरियातर्फ हुने भ्रमण जस्ता विशेष कार्यक्रमहरूको महत्त्व अझै रहेको बताए ।

उत्तर कोरिया र अमेरिकाबीच वार्तामा तत्काल प्रगति नभएको देखिए पनि दुवै कोरियाबीच समझदारी बढ्दै गएको राष्ट्रपति मुनको भनाइ छ । उनले दक्षिण कोरियाबाट प्रस्तावित सहयोगात्मक परियोजनालाई स्वीकार गर्न उत्तर कोरियासमक्ष अनुरोधसमेत गरेका दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

‘हालका प्रस्तावहरू अझै पनि सान्दर्भिक छन् । हामी उत्तर कोरियालाई आफ्ना परियोजनाहरू स्वीकार गर्न आग्रह गरिरहनेछौं,’ उनले भने । मुनले कोरोना भाइरसका कारण सिर्जित समस्याबाट उत्तर कोरिया पनि प्रभावित भएको दाबी गरे । दक्षिण कोरिया र अमेरिका दुवै देश उत्तर कोरियासँग निकट सम्पर्कमा रहेको उनको भनाइ छ ।

दक्षिण कोरियाको राजधानी सोलस्थित नाइट क्लब रहेको क्षेत्रमा हिँडिरहेका युवती । तस्बिर : एएफपी

प्रकाशित : वैशाख २८, २०७७ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?