कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रित्तै फर्कियो नेपाली ध्वजावाहक

नेपाल फर्कंदा लाग्ने भाडा आफैं बेहोर्ने र नेपाल पुगेर नियमअनुसार क्‍वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएका २ सय ८० नेपालीको उद्धार भएन
नारायण खड्का

अस्ट्रेलिया — नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई लिएर आएको नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्केको छ । सयौं नेपालीले अस्ट्रेलियाबाट उद्धार गरिदिन गरेको आग्रह अस्वीकार गर्दै बिहीबार सिड्नी आएको नेपाली ध्वजावाहक रित्तै फर्केको हो ।

रित्तै फर्कियो नेपाली ध्वजावाहक

काठमाडौंबाट बुधबार दिउँसो उडेको विमानमा १२७ अस्ट्रेलियाली नागरिक, १ सय ४९ स्थायी बासिन्दा र ५ न्युजिल्यान्डका नागरिक थिए । बिहान करिब ८ बजे अवतरण गरेको विमानलाई सफाइ गरेपछि करिब ३ घण्टापछि फिर्ता लगिएको हो ।

अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई दोस्रोपटक उद्धार गरेर आफ्नै देश फर्काउने क्रममा नेपाल एयरलाइन्सको विमान दोस्रोपटक अस्ट्रेलिया ल्याएको हो । कोरोना भाइरसका कारण समस्यामा परेका अस्ट्रेलियास्थित सयौं नेपालीले स्वदेश फर्कन औपचारिक आग्रह गरेका भए पनि उनीहरूको गुनासो बेवास्ता गरिएको छ ।

नेपाली विमानमा फर्कन पाऊँ भन्दै हाल अस्ट्ेरलियामा रहेका २ सय ८० भन्दा बढी नेपालीले नेपाली दूतावासमा औपचारिक अनुरोध गरेका थिए । उनीहरूले आफू नेपाल फर्कंदा लाग्ने भाडा बेहोर्ने, नेपाल पुगेर नियमअनुसार क्‍वारेन्टाइनमा बस्ने तथा क्‍वारेन्टाइनका लागि लाग्ने शुल्कसमेत तिर्ने प्रतिबद्धता जनाउँदासमेत आफूहरूको मागको सुनुवाइ नभएको भन्दै गुनासो गरेका छन् ।

यसअघि ब्रिसबन उत्रेको नेपाली विमान फर्कंदासमेत यहाँका नेपालीले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन आग्रह गरेका थिए । तर आवश्यक प्रक्रियाका लागि समय अभाव भएको भन्दै दूतावास पन्छिएको थियो ।

क्यानबेरास्थित दूतावासले बिहीबार फर्कने विमानमा नेपाल जाने भन्दै करिब ३ सय नेपालीले निवेदन दिएको जनाएको छ । तर नेपाल सरकारले अनुमति नदिएका कारण आफूहरूले चाहेर पनि सहयोग गर्न नसकेको दूतावासको भनाइ छ । यद्यपि, दूतावासले आवश्यक पहल नगरेको पीडितहरूको गुनासो छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरूले सक्दो प्रयास गरेको भए पनि अहिले नेपालको नीति नै विदेशका नागरिकलाई फिर्ता नल्याउने रहेकाले उनीहरूलाई फिर्ता पठाउन नसकिएको बताए ।

‘हामीले धेरै नेपालीको अनुरोध आएका कारण औपचारिक रूपमा र मौखिक रूपमा समेत यहाँको वस्तुस्थितिबारे जानकारी गराएका थियौं तर सरकारबाट अनुमति नआएका कारण फिर्ता पठाउन नसकिएको हो,’ राजदूत दाहालले कान्तिपुरलाई भने । दाहालले नेपालीलाई स्वदेश फर्काउन आवश्यक सहयोग उपलब्ध गराइदिन अस्ट्रेलिया सरकारलाई पत्राचारसमेत गरेको दाबी गरे ।

प्रकाशित : वैशाख २५, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?