कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाको राजधानीक्षेत्र कोरोनामुक्त

नारायण खड्का

सिड्नी — अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) का १ सय ६ जना भाइरस संक्रमितमध्ये १ सय ३ जना पुर्णरुपमा निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियाको राजधानीक्षेत्र कोरोनामुक्त

अस्ट्रेलियाको राजधानी क्यानबेरा रहेको क्षेत्र अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) कोराना भाइरसमुक्त भएको छ । संघीय राज्य एसिटीमा कोभिड १९ संक्रमित सबैजना निको भएका छन् भने नयाँ संक्रमित पाइएको छैन् । अस्ट्रेलियामा ६ राज्य तथा दुई टेरिटोरी छन् ।

एसिटीका प्रमुख स्वास्थ्य अधिकारी डा. केरी कोलम्यानले सात साताको कडा मेहनतपछि यो सफलता आएको बताइन् । ‘एसिटीका सबै भाइरस संक्रमित पुर्ण रुपमा निको भएका र कुनै पनि नयाँ संक्रमित नभेटिनु अत्यन्तै खुशीको कुरा हो,’ उनले विहिबार आयोजित पत्रकार सम्मेलनमा भनिन् । कोलम्यानका अनुसार एसिटीमा जम्मा १ सय ६ जनामा भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये १ सय ३ जना पुर्णरुपमा निको भइसकेका छन । ३ जनाले भने उपचारका क्रममा ज्यान गुमाए । ‘समुदायका हरेक ब्यक्तिले भाइरसलाई परास्त गर्न सामाजिक दूरी कायम राख्नुका साथै अन्य सावधानी अपनाएका कारण नै हामीले यो सफलता पाउन सकेका हौं,’ कोलम्यानले भनिन् । उनले अझैपनि थप महामारी फैलनसक्ने भएकाले सजग हुन आवश्यक रहेको बताइन् ।

स्वास्थ्य अधिकारीहरुले हाल यस क्षेत्रमा कुनै सक्रिय पोजेटिभ संक्रमण नरहेको भएपनि ढुक्क हुने अवस्था नआइसकेको बताएका छन् । एसिटीकी स्वास्थ्यमन्त्री र्‍याचल स्टेफन स्मिथले यो सफलता पाउनका लागि पुर्‍याएको योगदानका लागि क्यानबेराबासीलाई धन्यवाद दिएकी छिन् । उनले आफुहरुले पाएको यो सफलतालाई कायम राख्न स्थानीयलाई आग्रह गरेकी छिन् ।

अधिकारीहरुले गत शुक्रबारदेखि भाइरस जाँच प्रक्रियालाई तिव्रता दिदै सामान्य लक्षण देखिएका जो सुकैले परिक्षण गर्न पाउने नियम बनाएका थिए । प्रमुख स्वास्थ्य अधिकारी डा. कोलम्यानले आधिकारिक रुपमा अहिले एसिटी भाइरसमुक्त भएपनि सामान्य लक्षण देखिएको खण्डमा तत्काल परिक्षण गर्न आग्रह गरेकी छिन् ।

संक्रमण दर कम भएपछि सरकारले लगाएको नियमलाई समेत खुकुलो पार्न थालिएको छ । नर्दन टेरीटोरीमा विवाह, अन्तिम संस्कार, खेलकुद तथा कसरतलगायत क्रियाकलापमा गरिएको कडाई दुई सातापछि हटाइने भएको छ । केन्द्र सरकार र अन्य केही राज्य सरकारले पनि प्रतिबन्धका नियम खुकुलो पार्दै गएका छन् ।

अस्ट्रेलियामा हालसम्म ६ हजार ७ सय ३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये ९१ जनाले ज्यान गुमाइसकेका छन् । गत २४ घण्टामा जम्मा ८ वटा मात्र नयाँ बिरामी थपिएका स्वास्थ्य बिभागले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?