कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन हटेसँगै वुहानमा धमाधम बिहेबारी

लक्ष्मी लम्साल

बेइजिङ — सबैभन्दा पहिले कोरोना महामारीको चपेटामा परेको चीनको वुहानमा लकडाउन हटेसँगै बिहेको चहलपहल सुरु भएको छ । स्थानीय युवायुवती धमाधम वैवाहिक बन्धनमा बाँधिँदै छन् ।

लकडाउन हटेसँगै वुहानमा धमाधम बिहेबारी

चीनका अन्य सहरमा पनि लकडाउन र महामारीले वैवाहिक योजना स्थगित गरेकाहरू अहिले जोडी कस्दै छन् ।

चिनियाँ युवायुवती सकेसम्म बिदाको मौका छोपेर बिहे गर्छन् । यसपालि नयाँ वर्ष अर्थात् वसन्त चाडको लामो बिदामा बिहे गर्ने तयारीमा बसेकाहरूको योजना कोरोना महामारीले बिथोलिएको थियो ।

जनवरी अन्तिम साता चिनियाँ नयाँ वर्ष सुरु हुँदै गर्दा महामारी देखापरेपछि २३ तारिखदेखि नै हुबेई प्रान्तको वुहान सहर ‘लकडाउन’ गरिएको थियो । देशका अन्य सहरमा पनि सभा–समारोह र भीडभाड गर्न रोक लगाइएपछि वैवाहिक योजना रद्द हुन पुगेका थिए ।

७६ दिनपछि अप्रिल ८ मा खुलेको वुहानमा अझै पनि भीडभाड गर्न बन्देज छ । तर प्रशासनले बिहे गर्न चाहनेहरूका लागि केही सर्तसहित लचिलो नीति अख्तियार गरेको हो । प्रशासनले सानो संख्यामा उपस्थित भएर बिहे दर्ता मात्रै गर्न पाउने, समारोह र भोजभतेर गर्न नपाउने नियम तोकेको छ ।

लामो प्रतीक्षापछि जोडी बाँध्ने मौका पाएकाहरू यतिखेर वैवाहिक ‘फोटोसेसन’ गर्न व्यस्त देखिन्छन् । बिहे दर्ताको प्रमाणपत्र लिन आवश्यक गतिविधि सुटिङ गर्दै गरेका चुओ वेई र हु चीनफङ जोडीले समारोह आयोजना गर्न नपाएकोमा दुःख व्यक्त गर्‍यो । ‘तर, पनि कुनै न कुनै अर्थमा यो विवाहको विशेष अर्थ छ,’ उनीहरूले भने । वुहान विवाह दर्ता कार्यालय अप्रिल ३ तारिखदेखि पुनः सञ्चालनमा आएको हो ।

वुछाङ जिल्ला विवाह दर्ता कार्यालयमा पुगेको चुओ दम्पतीले बिहे दर्ताका प्रत्येक चरणलाई आफ्नो स्मार्टफोनमा सँगालेको छ । चुओका अभिभावकले एकअर्कालाई बुझ्ने पर्याप्त समय नलिएरै बिहे गरेकोमा आश्चर्य प्रकट गरे । तर उनी भन्छन्, ‘महामारीले होसियारीपूर्वक एकअर्काको भावना बुझ्ने समय दियो ।’

चिनियाँ नयाँ पुस्तामा बिहेपूर्व ‘लिभिङ टुगेदर’ को चलन पनि आम बन्दै गएको छ । चीनमा पहिले बिहे दर्ता अनि मात्र आफन्त साथीभाइका लागि ‘पार्टी’ गर्ने गरिन्छ ।

जनवरीमै तयार बसेको वाङ रुइलोङ र चू चिङको जोडीले पनि बल्ल बिहेको मौका पाएको छ । लकडाउनका कारण अलग्गिएर बस्नुपरे पनि आफूहरूको प्रेममा कुनै बदलाव नआएको उनीहरू बताउँछन् ।

प्रकाशित : वैशाख १६, २०७७ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?