कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा औषधि अभाव

कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै झन्डै तीन गुणा माग बढेपछि देशभरका सघन उपचार कक्ष (आईसीयू) मा अत्यावश्यक औषधि अभाव
नवीन पोखरेल

लन्डन — कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै माग अत्यधिक भएपछि बेलायतमा औषधि अभाव सुरु भएको छ । भाइरस संक्रमणका कारण माग झन्डै तीन गुणा बढेपछि देशभरका सघन उपचार कक्ष (आईसीयू) मा अत्यावश्यक औषधिको अभाव भएको हो ।

बेलायतमा औषधि अभाव

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्ने चिकित्सकहरूले देशैभरि अस्पतालका सघन उपचार कक्षहरूमा अत्यावश्यक औषधिहरूको अभाव हुँदै गएको गुनासो गरेका छन् । उच्च रक्तचाप, तनाव कम गर्न तथा शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस बनाउन दिइने औषधिहरूको अभाव देखिएको हो ।

बिरामी लठ्याउन दिइने प्रोपोफोल, पेन किलर औषधिहरू फेन्टेनिल, अलफेन्टेनिल, रक्तचाप कम भएका बिरामीलाई ख्वाइने नोरड्रेनलिन, क्लोनिडिन जस्ता औषधि अभाव भएका हुन् । माइग्रेन तथा रक्तचापसम्बन्धी औषधिहरूको अभाव पनि हुन थालेको बताइएको छ ।

शरीरमा ट्युब हालेका बेला मसल प्यारालाइज गराउन दिइने एट्राक्युरिअम, सिसाट्राक्युरिअम र रोक्युरोनियम जस्ता औषधिको आपूर्ति पनि न्यून छ । एनएचएसका मेडिकल डिरेक्टरहरूलाई पठाइएको तीन पेज लामो सचेत सूचनामा ती औषधि अभावबारे उल्लेख गरिएको बेलायती पत्रिका सन्डे टाइम्सले जनाएको छ ।

अग्रपंक्तिमा काम गर्ने बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का ६ जना वरिष्ठ चिकित्सक र औषधि उत्पादकहरूका अनुसार अहिले कम्तीमा ८ खालका अत्यावश्यक औषधि अभाव भएको छ । लन्डन, बर्मिङहम र नर्थवेस्ट इंग्ल्यान्डका अस्पतालहरूमा अन्यत्रभन्दा बढी औषधि सकिएका छन् ।

वेस्ट मिडल्यान्डमा सघन उपचार कक्षमा कार्यरत एकजना कन्सल्टेन्ट रोन डेनियल्सले औषधि अभाव चुलिइसकेको बताउँदै आउँदो साता के गर्ने आफूहरूलाई मेसो नभएको उल्लेख गरेका छन् । उनले केही वैकल्पिक औषधि (सेकेन्ड लाइन ड्रग्स) प्रयोगले बिरामीलाई हल्का ह्दयाघात हुन सक्ने पनि औंल्याए । डेनियलले निको हुने क्रममा रहेका धेरैजसो कोभिड–१९ बिरामी चिन्ताबाट ग्रस्त हुने गरेकाले उनीहरूलाई क्लोनिडिनको सट्टा अरू औषधि दिँदा प्रभावकारी काम नगर्न सक्ने बताए ।

अभावबीच चिकित्सकहरू वैकल्पिक औषधि प्रयोग गर्न बाध्य भएका छन् । यसबाट कोभिड–१९ बिरामीको राम्रो उपचार प्रभावित हुने चेतावनी दिँदै चिकित्सकहरूले वैकल्पिक औषधि दिँदा बिरामीलाई ह्दयाघात जस्तो खतरनाक ‘साइड इफेक्ट’ समेत हुन सक्ने बताएका छन् ।

लेटन हस्पिटल चेसायरमा आईसीयूमा कार्यरत डा. सुमित्रा काफ्ले आफ्नो अस्पतालमा औषधिको पूर्ण अभाव भइनसकेको तर माग अत्यधिक बढेकाले कहिले सकिने हो भन्न नसकिने बताउँछिन् । एनेस्थेसिया र क्रिटिकल केयरमा चाहिने औषधिको माग अहिले बढी भएको डा. काफ्लेको भनाइ छ ।

बेलायत सरकारले समयमै काम गर्न असफल भएको भन्दै आलोचना भइरहँदा सरकारले औषधि अभाव हुन नदिन गत बिहीबारदेखि ३३ प्रकारका अत्यावश्यक औषधिको निर्यातमा रोक लगाएको छ ।

केही समयअघि बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतसँग आवश्यक औषधि भएको विश्वास दिलाएका थिए । डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयरले सरकारले औषधि अभाव हुन नदिन सम्भव भएसम्मका उपाय अपनाइरहेको जनाएको छ ।

लकडाउन खुकुलो नहुने संकेत

बेलायती विदेशमन्त्री डोमिनिक राबले लकडाउन खुकुलो बनाउन धेरै सावधानीपूर्ण कदम आवश्यक हुने बताएका छन् । बेलायतमा कोभिड–१९ का कारण २० हजार बढीको मृत्यु हुनु ह्दयविदारक घटना बताउँदै उनले बीबीसीसँग लकडाउन कडाइ नभएको भए अवस्था झन् गम्भीर हुने बताए । उनले केही समय सोसल डिस्टेन्सिङ आवश्यक रहेको पनि बताएका छन् ।

मन्त्री राबले केही सर्तसहित विद्यालय, खेल र व्यावसायिक क्षेत्रलाई खुकुलो बनाउन सकिने संकेत भने गरेका छन् । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण आइतबारसम्म २० हजार ६ सय ८७ जनाले ज्यान गुमाएका छन् । आइतबार मार्चयताकै सबैभन्दा थोरै ३ सय ६८ जनाको मात्र मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । उता कोभिड–१९ का कारण बेलायतमा हालसम्म ३३ नेपालीको निधन भएको लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

प्रकाशित : वैशाख १५, २०७७ ०१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?