कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाका शैक्षिक संस्थाद्वारा विद्यार्थीलाई राहत घोषणा

नारायण खड्का

सिड्नी — कोरोना भाइरस (कोभिड–१९) का कारण आर्थिक समस्यामा परेका नेपालीलगायत अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियास्थित दर्जनौं शैक्षिक संस्थाले करोडौं डलर बराबरको आर्थिक राहत घोषणा गरेका छन् । राहत घोषणा गर्नेमा नेपालीद्वारा सञ्चालनमा आएका शैक्षिक संस्थासमेत अग्रपंक्तिमा छन् । 

अस्ट्रेलियाका शैक्षिक संस्थाद्वारा विद्यार्थीलाई राहत घोषणा

अस्ट्रेलियामा रहेका विश्वविद्यालयमध्ये करिब ३० वटाले अहिलेसम्म राहत घोषणा गरिसकेका छन् । घोषणा गरिएको राहतमा न्यूनतम २ सय ५० देखि २ हजार डलरसम्मको आर्थिक सहायता दिने घोषणा गरिएको छ । सबैभन्दा धेरै डिकन युनिभर्सिटीले २ करोड ५० लाख डलरको राहत प्याकेज सार्वजनिक गरेको छ । कैयौं विश्वविद्यालयले कोरोना भाइरसका कारण समस्यामा परेका विद्यार्थीलाई नगद सहयोगका साथै क्रण सहायता समेत उपलब्ध गराउने बताएका छन् । यसका साथै सिड्नीको क्राउन कलेजले २५ लाख डलरको आर्थिक सहायता प्याकेज सार्वजनिक गरेको छ भने मेलबर्नमा शेष घलेद्धारा सञ्चालित मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीले समेत १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ ।

अस्ट्रेलियामा करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । कोभिड–१९ का कारण रोजगार गुमाएका तथा आर्थिक संकटमा परेकालाई प्राथमिकतामा राखेर शैक्षिक संस्थाहरुले सहयोग घोषणा गरेका हुन् । २५ लाख डलरको राहत घोषणा गरेका क्राउन कलेजका निर्देशक दीपक खड्काले समस्यामा परेका बिद्यार्थीको शुल्क १७ प्रतिशतले कम गरिने जनाए । उनले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीको शुल्क तिर्ने प्रक्रियालाई समेत सरल बनाइएको र समयमा शुल्क तिर्न नसक्ने विद्यार्थीको जरिवानासमेत मिनाहा गरिएको बताए ।

यसैगरी शैक्षिक परामर्शदाताहरुको संस्था एक्काले समेत ५ लाख डलर बराबरको सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष परशुराम अधिकारीले समस्यामा परेका विद्यार्थीको तथ्यांक संकलन गरेर दूतावास, एनआरएनलगायतका संस्थासँग सहकार्य गरेर सहयोग गरिने जानकारी दिए । अहिलेको कठिन अवस्थामा विद्यार्थीलाई निशुल्क परामर्श दिने र आवश्यक्ता अनुसार काउन्सिलिङ गर्ने व्यवस्थासमेत मिलाइएको अधिकारीको भनाइ छ ।

भाइरसको संक्रमणका कारण प्रभावितलाई अस्ट्रेलियामा रहेका व्यवसायीले व्यक्तिगत रुपमा समेत सहयोगको घोषणा गरेका छन् । सिड्नीमा एकाउन्टिङ व्यवसाय गर्दै आएका डिला खरेलले समस्यामा रहेका विद्यार्थीले सरकारद्वारा घोषणा गरिएअनुसार सुपरएनुएसन झिक्न चाहे नि:शुल्क सेवा दिने बताएका छन् । दक्षिण अस्ट्रेलियामा व्यवसाय गर्दै आएको नेपाली व्यावसायिक फर्म त्रिशूल पेस्ट कन्ट्रोलले स्वास्थ्यक्षेत्रमा काम गरिरहेका कर्मचारीलाई शुल्कमा ७० प्रतिशत मिनाहा गरेर सेवा प्रदान गरिने जनाएको छ । यस पहिले एक्सपर्ट फाउण्डेसनले २ लाख डलरको सहायता कोष स्थापना गरिसकेको छ भने ओली एण्ड एसोसिएटसले समेत समस्यामा परेका विद्यार्थीलाई प्रतिव्यक्ति ५० डलर बराबरको अत्यावश्यक राहत दिने घोषणा गरेको छ ।

राज्य सरकारद्वारा समेत राहत घोषणा

अस्थायी भिसामा रहेका विदेशी नागरिकलाई आर्थिक सहायता पुऱ्याउन पश्चिम अस्ट्रेलिया सरकारले ३ करोड डलर बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार एक व्यक्तिले २ सय ५० डलर र प्रतिपरिवार १ हजार डलरसम्म राहत पाउनेछन् ।

यसैगरी दक्षिण अस्ट्रेलिया सरकारले समेत अध्ययनरत विदेशी विद्यार्थीका लागि १ करोड ३८ लाख डलर बराबरको राहत कार्यक्रम घोषणा गरेको छ । यहाँ रहेका तीन ठूला विश्वविद्यालयको सहकार्यमा गरिएको यस सहायता कार्यक्रमअन्तर्गत फिल्नडर्स युनिभर्सिटी, युनिभर्सिटी अफ साउथ अस्ट्रेलिया र एडिलेड युनिभर्सिटीमा अध्ययन गरिरहेका बाहेकका बिद्यार्थीले ५ सय डलरसम्मको आर्थिक सहायता पाउनेछन् भने विद्यालय तहमा अध्ययन गरिरहेकाले २ सय डलर सहयोग पाउनेछन् ।

प्रकाशित : वैशाख ११, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?