कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा ‘कन्ट्याक्ट-ट्रेसिङ एप’

नारायण खड्का

सिड्नी — अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को थप संक्रमण रोक्ने उद्देश्यका साथ ‘कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ एप’ ल्याउने तयारी गरेको छ ।

अस्ट्रेलियामा ‘कन्ट्याक्ट-ट्रेसिङ एप’

मोबाइल फोनमा डाउनलोड गर्न मिल्ने एपमार्फत वरपर भएका ब्यक्तिहरूको डिजिटल क्रियाकलापलाई रेकर्ड गर्ने र थप संक्रमण फैलन नदिन उक्त तथ्यांकलाई सरकारले प्रयोग गर्न सक्ने जनाइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भाइरसको संक्रमण रोक्न एपले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन् । सिंगापुर र दक्षिण कोरियाले यसअघि यस्तै किसिमको एपको प्रयोग गरेका थिए । एपले मोबाइल फोनमा भएको ब्लुटुथमार्फत आफ्नो नजिकमा आएका ब्यक्तिको क्रियाकलाप रेकर्ड गर्छ ।

अटोमेटिक दुई मोबाइलले अज्ञात रूपमा आफ्नो आईडी साटासाट गरेर आपसी क्रियाकलापलाई रेकर्ड गर्नेछन् । यसरी रेकर्ड गरिएका क्रियाकलापका आधारमा कसैलाई कोभिड–१९ भए/नभएको पहिचान गर्न सकिनेछ । अज्ञात रूपमा रेकर्ड गरिएका दुई सातासम्मका तथ्यांकका आधारमा सरकारी अधिकारीले संक्रमित ब्यक्तिको क्रियाकलाप अध्ययन र अनुसन्धान गर्न सक्नेछन् । त्यसका आधारमा संक्रमित ब्यक्तिलाई आइसोलेसनमा बस्न निर्देशन दिइनेछ । साथै, ती ब्यक्ति पुगेका हरेक स्थानलाई सिल गरी डिस्इन्फेक्टेन्ट छर्किइने जनाइएको छ ।

एपको प्रभावकारिताका लागि कम्तीमा ४० प्रतिशत जनताले यसलाई आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने विज्ञहरूलाई उल्लेख गर्दै स्थानीय समाचारमाध्यमले जनाएका छन् । यद्यपि, एप निर्माणकर्ताहरूले १० देखि २० प्रतिशतले यसलाई डाउनलोड गरेका खण्डमा यो प्रभावकारी हुने दाबी गरेका छन् ।

प्रधानमन्त्री मरिसनले एप डाउनलोड गरेर कोभिड–१९ नियन्त्रणका लागि सरकारी प्रयासलाई सहयोग पुर्‍याउन आग्रह गरेका छन् । ‘यदि तपाईंले यो एप डाउनलोड गर्नुभयो भने, तपाईंले कसैको ज्यान बचाउन सहयोग पुर्‍याउनुहुन्छ,’ मरिसनले भनेका छन् ।

स्वास्थ्य अधिकारी तथा प्रधानमन्त्रीले कोभिड–१९ को थप संक्रमण नियन्त्रणका लागि महत्त्वपूर्ण हुने बताए पनि यो अनिवार्य भने नभएको जनाएका छन् । सरकारले एपमार्फत ब्यक्तिगत जानकारीहरू सुरक्षित हुने दाबी गरे पनि विभिन्न मानवअधिकारवादी संस्थाले भने यसको विश्वसनीयतामा शंका प्रकट गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘यस एपले सरकारले भनेजसरी कारोना भाइरसको थप संक्रमण रोक्न मद्दत पुर्‍याउने भए पनि यसको विश्वसनीयता कायम राख्दै दुरुपयोग कसरी रोक्ने भन्नेबारे सर्वसाधारणलाई सचेत तुल्याउन सञ्चारमाध्यमलाई उपयोग गरिएको देखिन्छ,’ सञ्चारविद् डा. भरतराज पौडेल भन्छन् । उनी यस प्रकारको ‘ट्रेसिङ एप’ नेपालजस्तो देशमा पनि प्रयोग गर्न सकिने दाबी गर्छन् । त्यसका लागि प्रशासनिक संयन्त्र थप क्रियाशील हुनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय अस्ट्रेलिया कोभिड–१९ को भाइरस संक्रमण नियन्त्रणमा अग्रपंक्तिमा देखिएको छ । त्यसका कारण पनि सरकारले सार्वजनिक गर्ने एपलाई स्थानीयले निकै चासो लिएका छन् । दैनिक रूपमा संक्रमितको संख्या कम हुँदै गएको अवस्थामा एपको विकास र प्रयोगसँगै अस्ट्रेलियाले हाल बन्द रहेका केही व्यवसाय खोल्ने तथा अर्थतन्त्रलाई केही मात्रामा सुचारु गर्न सक्ने संकेत गरेको छ । हाल अस्ट्रेलियाको केन्द्रीय स्वास्थ्य विभागले कोभिड–१९ बारे हरेक राज्यबाट प्राप्त जानकारी प्रत्येकको मोबाइलमा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : वैशाख ९, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?