कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा १९ स्वास्थ्यकर्मीले ज्यान गुमाए

नवीन पोखरेल

लन्डन — बेलायतमा कोभिड–१९ विरुद्ध लडिरहेका १९ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । ब्रिटिस स्वास्थ्यमन्त्री म्याट ह्यानककले अहिलेसम्म कोरोना संक्रमणका कारण एनएचएसका १९ जना स्वास्थ्यकर्मीको निधन भएको जनाएका हुन् ।

बेलायतमा १९ स्वास्थ्यकर्मीले ज्यान गुमाए

फ्रन्टलाइनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नभएको गुनासो गरिरहँदा यो मानवीय क्षति बेहोर्नुपरेको हो ।

ब्रिटिस मेडिकल एसोसिएसनले एनएचएसका स्वास्थ्यकर्मीहरूसँग अझै पर्याप्त पीपीई नभएको जनाएको छ । पर्याप्त उपकरणबिनै कोरोना संक्रमित बिरामीहरूको उपचार गरेर स्वास्थ्यकर्मीहरूले आफ्नै जीवन खतरामा पारिरहेको एसोसिएसनको भनाइ छ ।

लन्डनस्थित वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डाइरेक्टर डा. मोहन थापा कोभिड–१९ विरुद्ध खटिएका फ्रन्टलाइनर चिकित्सक हुन् । उनले पर्याप्त स्क्रब, मास्क, प्रोटेक्टिभ आइसिल्डजस्ता सामग्री पाउन संघर्ष भइरहेको बताए । स्वास्थ्यमन्त्री ह्यानककले ब्रिटेनमा सबै स्वास्थ्यकर्मीहरूलाई पुग्ने पीपीई रहेको बताउँदै अनावश्यक प्रयोग नगर्न आग्रह गरेपछि आलोचित भएका थिए ।

रोयल कलेज अफ नर्सिङले पीपीई बढी प्रयोग गरिएको तर्कलाई इन्कार गरेको छ । चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूको जीवनभन्दा ठूलो अरू नहुने उक्त निकायले बताएको छ । गृहमन्त्री प्रीति पटेलले शनिबारको प्रेस ब्रिफिङमा पीपीई नपुगेको भन्ने समाचारले आफू दु:खी भएको बताउँदै क्षमा मागेकी थिइन् । विश्वभर फैलिएको महामारीले पीपीई अभाव बढेको बताउँदै गृहमन्त्री पटेलले ब्रिटिस सरकार यो समस्या समाधानका लागि काम गरिरहेको पनि प्रस्ट्याएकी थिइन् । उनले सार्वजनिक सेवामा खटिएका प्रहरी, जेल कर्मचारी र अग्नि नियन्त्रकहरूका लागि १५ लाख पन्जा र मास्क उपलब्ध गराइरहेको पनि जनाइन् ।

सरकारले आवश्यक पीपीई उपलब्ध गराउन सेना नै परिचालन गरेको छ । अहिलेसम्म महामारी सुरु भएयता बेलायतभर ७६१ मिलियन पीपीई आपूर्ति भइसकेको सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ । यसमा १५८ मिलियन मास्क, १३५ मिलियन एप्रोन र ३६० मिलियन पन्जा पनि समावेश छन् ।

२४ सै घण्टा मिलिट्री अप्रेसनमार्फत आवश्यक ठाउँमा पीपीई उपलब्ध गराउन सरकार क्रियाशील छ । अहिले बर्बरी, रोल्स रोयस, म्याकलरेन, इनियोस्, डियगोजस्ता ठूला कम्पनीहरूले गाउन, भाइजर, ह्यान्ड हाइजिन आदि सामग्री उत्पादन गरिरहेका छन् ।

१० नेपालीको निधन

कोभिड–१९ का कारण बेलायतमा हालसम्म १० नेपालीको निधन भइसकेको छ । लन्डनस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा धेरैजसो पूर्वगोर्खा सैनिक छन् ।

गोर्खा अभियन्ता ज्ञानराज राई बूढाबूढीको अवस्था दयनीय भएको बताउँछन् । ‘उनीहरू पढ्न/बोल्न जान्दैनन् । अहिलेको महामारीबारे धेरै बेखबर छन्,’ राईले भने, ‘सकेसम्म सम्झाउने/बुझाउने गरिएको छ । तर कतिपय अवस्थामा हामी पनि सहयोग गर्न असमर्थ छौं ।’

दूतावासले नेपालीहरूलाई भाइरसको महामारीबारे सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय गर्न विभिन्न समिति गठन गरेको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरू गठन गरिएको हो ।

बेलायतस्थित नेपाली चिकित्सकहरूको संस्था नेपलिज डक्टर्स एसोसिएसन यूकेले पनि कोरोना भाइरससम्बन्धी जानकारीमूलक सन्देश सार्वजनिक गरिरहेको छ । बेलायतमा मंगलबार साँझसम्म ११ हजार ३ सय ५० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ९० हजार नाघेको छ । संक्रमण फैलिन नदिन सरकारले लकडाउन तीन साता थप्ने तयारी गरेको छ । कार्यवाहक प्रधानमन्त्री डोमिनिक राबले मे ७ सम्म लकडाउन थप्ने घोषणा गर्ने जनाएका छन् ।

प्रकाशित : वैशाख ३, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?