कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारीकै बीच कोरियामा बुधबार चुनाव

मतदाताले एक मिटर दूरी राख्नुपर्ने, संक्रमितले पनि भोट हाल्न पाउने 
गोकुल थोकर

साेल — दक्षिण कोरियामा बुधबार आमनिर्वाचन हुँदै छ । प्रत्येक चार वर्षमा हुने निर्वाचनबाट राष्ट्रिय सभाका ३ सय सदस्य चुनिँदै छन् ।

कोरोना महामारीकै बीच कोरियामा बुधबार चुनाव

कोरोना संक्रमणका कारण यसपालि निर्वाचनको तयारीमा आमसभा र भेला गरिएनन् । जनवरी २० मा कोरोना संक्रमित भेटिएयता सार्वजनिक रूपमा भेला हुन रोक लगाइएको छ ।

उम्मेदवारहरूले सामान्य घरदैलो कार्यक्रम मात्र गरेका छन् । घरदैलोमा पनि दुई–तीन जनाभन्दा बढी हिँड्न पाइँदैन । उनीहरूले गाडीबाटै माइकिङ गरेर आफ्ना योजना सुनाए । कतै–कतै उम्मेदवारको प्रचारमा ब्यानर पनि राखिएका छन् ।

निर्वाचन आयोगका अनुसार यहाँ ४ करोड ४० लाख मानिस मतदाता सूचीमा छन् ।

कोरियाली सरकारले कोरोना संक्रमण घटाउन सफल भएको भनी विश्वभरिबाट प्रशंसा पाइरहेको छ । यो साता संक्रमण दर दैनिक ५० जनाभन्दा कम छ । अधिक प्रभावित थेगुमा पनि आइतबारयता नयाँ बिरामी भेटिएका छैनन् ।

राष्ट्रपति मुन जे इनको डेमोक्रेटिक पार्टी यही सफलताको जस लिएर निर्वाचन परिणाम आफूतिर पार्ने दाउमा छ । यहाँका विभिन्न अध्ययनले पनि यही पार्टीले बहुमत ल्याउने अनुमान गरेका छन् । अहिलेको सदनमा डेमोक्रेटिकको १ सय २० सिट छ । विपक्षी युनाइटेड फ्युचर पार्टीको १ सय १२ सिट थियो । अहिले युनाइटेडका २० सदस्यले नयाँ पार्टी खोलेका छन् । युनाइटेड पनि आफ्नो बहुमत आउने दाबी गर्छ ।

राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल सकिएको छ । यो निर्वाचनलाई उनका कामको समीक्षाका रूपमा पनि हेरिएको छ । मुन पछिल्लो समय कोरियालीबीच निकै लोकप्रिय छन् । मार्चमा दुई लाखभन्दा बढी कोरियालीले राष्ट्रपतिलाई हटाउन माग गर्दै हस्तक्षर गरेका थिए । उनीमाथि चिनियाँ नागरिकलाई कोरिया आउन दिएको आरोप थियो । यद्यपि अहिले अवस्था फेरिएको छ ।

निर्वाचनमा बहुमत आए मुनलाई आगामी दुई वर्ष काम गर्न सजिलो हुनेछ । उनले चाहेअनुसारका नियम–कानुन बन्नेछन् । उनको महत्त्वाकांक्षी योजनाका रूपमा हेरिएको कामदारको तलब प्रतिघण्टा मान वन (१ हजार) पुर्‍याउन सहज हुनेछ ।

कोरोना केही मत्थर भए पनि संक्रमण फैलन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइएको कोरियाली निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्नेछ । सबैले मास्क लगाउनुपर्नेछ । मतदान केन्द्र प्रवेश गर्नुअघि ह्यान्ड सेनिटाइजर प्रयोग अनिवार्य गरिएको छ । सबैको ज्वरो नापिनेछ । ३७.५ भन्दा बढी तापक्रम भएका मानिसलाई छुट्टै लाइनको व्यवस्था गरिनेछ । सेनिटाइजर लगाएपछि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्लास्टिकको पन्जा लगाउनुपर्नेछ ।

आयोगले कोरोना संक्रमितले पनि भोट हाल्न पाउने व्यवस्था गरेको छ । तर उनीहरू बिहान ९ बजेभन्दा अघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्नेछन् ।निर्वाचनमा विदेशमा रहेका कोरियालीका लागि पनि मतदानको व्यवस्था गरिएको छ । उनीहरूले दुई साताअघिदेखि नै भोट हालेका छन् । बुधबार (१५ तारिख) मा मतदान गर्न नसक्नेका लागि गत शुक्रबार र शनिबार नै मतदान सम्पन्न भइसकेको छ ।

यति बेला कोरियामा जताततै ‘फत् कोत्’ अर्थात साकुरा फुलेको छ । कोरोना नआएको भए देशैभरि ‘चुक्छे’ भनिने फूल फेस्टिवल चलिरहेको हुन्थ्यो । राजधानी सोलको योइदो पार्कमा झन्डै एक साता सडक पुरै बन्द गरेर फेस्टिभल मनाइन्थ्यो । लाखौं मानिस त्यहाँ भेला भएर रमाइलो गरिरहेका हुन्थे ।

प्रकाशित : वैशाख २, २०७७ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?