कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटाली र स्पेनमा कोरोना संक्रमित घट्दै

कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित इटाली र स्पेनमा संक्रमित तथा मृतकको संख्यामा कमी आएपछि आफूहरू आशावादी भएको अमेरिकी राष्ट्रपतिको भनाइ
(एजेन्सी)

रोम/मड्रिड — कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी प्रभावित दुई युरोपेली देश इटाली र स्पेनमा संक्रमितको संख्या क्रमश: घट्न थालेको छ ।

इटाली र स्पेनमा कोरोना संक्रमित घट्दै

विगत केही दिनयता कोभिड–१९ संक्रमितको संख्यामा कमी आएपछि त्यहाँ लकडाउनले काम गरेको ठानिएको छ । स्पेनमा लगातार चौथो दिन मृतकको संख्यामा कमी आएको बीबीसीले जनाएको छ ।


कोभिड–१९ का कारण स्पेनमा सोमबार ६३७ जनाले ज्यान गुमाए । योसँगै मृतकहरूको संख्या १३ हजार नाघिसकेको छ । गत बिहीबार ९ सय ५० जनाको मृत्यु भएको थियो । स्पेनमा संक्रमितको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । जुन अमेरिकापछिकै बढी हो ।


तीन सातादेखिको लकडाउन अप्रिल अन्त्यसम्मका लागि बढाइएको छ । स्पेनी अधिकारीले कोभिड–१९ को लक्षण नदेखिएकालाई पनि परीक्षण गर्नको विकल्प नरहेको जनाएका छन् । विदेशमन्त्री अरान्चा गोन्जालेजले विस्तारै लकडाउन अन्त्य गर्न भाइरसको संक्रमण भएर पनि लक्षण नदेखिएकालाई पहिचान गर्नु आवश्यक भएको बताए ।


स्पनेकी स्वास्थ्य आपत्कालीन समितिकी उपप्रमुख मारिया जोसे सियराले सोमबारको मृत्यु र संक्रमणको संख्याले महामारी केही सुस्त भएको देखिएको जनाइन् । बढी प्रभावितमध्येको क्याटालोनिया क्षेत्रका सुरक्षा जाँच केन्द्रहरू सोमबार हटाइएको छ । प्रधानमन्त्री पेद्रो साञ्चेजले अर्को सातादेखि आवागमन केही खुकुलो पार्न सकिने भए पनि लकडाउन अप्रिल २५ सम्म जारी रहने बताए ।


त्यसैगरी इटालीमा पनि पछिल्ला केही दिनयता मृतक तथा संक्रमितको संख्यामा कमी आएको छ । शनिबार इटालीमा ६ सय ८१ जनाले ज्यान गुमाएका थिए । जुन मार्च २३ यताकै सबैभन्दा कम हो ।


आइतबार ५ सय २५ जनाको ज्यान गएको जनाइएको छ । यो दुई सातायताकै सबैभन्दा कम हो । इटालीमा कोभिड–१९ का कारण हालसम्म १५ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या १ लाख २५ हजार नाघिसकेको छ ।


यसअघि अप्रिल ३ सम्मका लागि घोषित लकडाउन इस्टर (अप्रिल १२) सम्मका लागि थप गरिसकिएको छ । फ्रान्स र जर्मनीका अधिकारीले पनि पछिल्ला केही दिनमा कोभिड–१९ संक्रमितको संख्यामा क्रमश: कमी आएको जनाएका छन् ।


अमेरिका आशावादी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा भाइरसको संक्रमण छिट्टै हट्ने जनाएका छन् । नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका छन्, ‘सुरुङको पल्लो कुनामा हामी प्रकाश देख्छौं ।’ यद्यपि, अमेरिकामा पछिल्लो २४ घण्टामा भाइरसका कारण १ हजार २ सय जनाले ज्यान गुमाइसकेका छन् ।


भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्युयोर्कमा आइतबार संक्रमितको संख्यामा उल्लेखनीय कमी आएको थियो । राष्ट्रपति ट्रम्पले यसलाई ‘राम्रो संकेत’ का रूपमा व्याख्या गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर उनले भाइरसको उच्च बिन्दुमा पुग्ने चरणमा रहेको भन्दै नागरिकलाई सचेत गराएका छन् ।


थप स्वास्थ्यकर्मी तथा मास्क र भेन्टिलेटरसहितका सामग्री आवश्यक परेका संघीय सरकारले जुनसुकै राज्यलाई उपलब्ध गराउने उनले जनाए ।


ट्रम्पका सल्लाहकार तथा कोरोना भाइरस कार्यदलका सदस्य डा. डेबोरोह ब्रिक्सले इटाली र स्पेनमा संक्रमित तथा मृतकहरूको संख्या घटिरहेको जनाउँदै त्यसले अमेरिकीहरू आशावादी भएका बताए । ‘कोरोना भाइरसको महामारी फैलिएका राज्यमा यही वा आगामी साता संक्रमित तथा मृतकको संख्या घट्नेमा हामी आशावादी छौं,’ उनले भने ।


तर कतिपय विज्ञ तथा राष्ट्रपतिका प्रमुख सल्लाहकार डा. एन्थोनी फौसीले भने ट्रम्प र ब्रिक्सको भनाइमा असहमति जनाएका छन् । ‘आगामी केही साता अमेरिका र अमेरिकी जनताका लागि निकै गाह्रो र दु:खदायी समय हुनेछ,’ फौसीले भने ।


सर्जन जनरल जेरोमी एडम्सले आगामी समयले अमेरिकीलाई पर्ल हार्बरको पीडा बिर्साइदिने बताउँछन् । अमेरिकाको पर्ल हार्बरमा सन् १९४१ मा जापानले गरेको आक्रमणमा २ हजार ३ सय ३५ अमेरिकी सेना र ६८ सर्वसाधारणको ज्यान गएको थियो ।


स्पेनलाई स्वास्थ्य सामग्री सहयोग

नान्जिङ– चीनको जियाङ्सु प्रान्तको कुन्सान सहरले कोरोना भाइरसको महामारीविरुद्ध संघर्षरत स्पेनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।


नगर सरकारका अनुसार ५० हजार थान डिस्पोजेबल मास्क, ५ हजार थान ग्लोब्स र ५ हजार थान व्यक्तिगत सुरक्षा कवच पीपीई सहयोग गरिएको हो । सांघाईस्थित अग्रणी स्पेनी व्यावसायिक समूह मोन्द्रागोन कर्पोरेसनलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।


मोन्द्रागोन कर्पोरेसनको कुन्सानस्थित ओर्किल इलेक्ट्रोनिक्स कम्पनीले दुवै देशबीचको प्रगाढ सम्बन्धलाई विचार गरी यी सामग्रीको अभाव रहे पनि स्पेनलाई प्रदान गरिएको जनाएको छ ।

भाइरसको संक्रमण फैलिएसँगै कुन्सान मोन्द्रागोन औद्योगिक पार्कका धेरै स्पेनिस कम्पनीहरूले स्थानीय सरकारलाई अत्यावश्यकीय चिकित्सा सामग्री प्रदान गरेका थिए ।


गत महिना मोन्द्रागोन कर्पोरेसनको सांघाई कार्यालयले २ हजार ९ सय ६० थान एन–९५ मास्क, १०० थान पीपीईलगायत सामग्री क्विएनडेङ नगरलाई सहयोग गरेको थियो । कुन्सान मोन्द्रागोन औद्योगिक पार्क सन् २०१० मा कुन्सान सरकार र मोन्द्रागोनद्वारा संयुक्त रूपमा स्थापना गरिएको हो ।


बोइङ कारखाना बन्द

वासिङ्टन– कोरोना भाइरसको महामारीपछि जारी लकडाउनका कारण अमेरिकी विमान निर्माता कम्पनी बोइङले अमेरिकाको वासिङ्टनस्थित कारखाना अनिश्चितकालका लागि बन्द गरेको छ ।


बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अन्य मोडलका विमान उत्पादन हुने गरेका छन् । कम्पनीले गत महिना आफ्नो कारखाना दुई साताका लागि बन्द गर्ने घोषणा गरेको थियो ।


साथै कम्पनीले बोइङ ७३७–म्याक्स विमानमा समस्या आएपछि मोजेज लेकमा रहेको अर्को कारखाना पनि अहिले बन्द छ । बोइङले कोभिड–१९ को महामारीबाट कर्मचारीलाई जोगाउन पनि कारखाना अनिश्चितकालका लागि बन्द गर्नुपरेको जनाएको छ ।


बोइङका व्यावसायिक विमान विभागका अध्यक्ष स्टान डिलले एक वक्तव्य जारी गर्दै कर्मचारी, उनीहरूका परिवारलगायतको स्वास्थ्य र सुरक्षाका लागि कारखाना बन्द गर्नु परेको उल्लेख गरेका छन् ।


त्यसका साथै कम्पनीले संघीय सरकारबाट ६० अर्ब डलरभन्दा बढीको आर्थिक सहायताका लागि अनुरोधसमेत गरेको छ । कम्पनीले गत बिहीबार स्वैच्छिक बिदामा बस्न वा अवकाश लिन चाहने कर्मचारीलाई तत्काल आवेदन दिन अनुरोध गरेको थियो ।

प्रकाशित : चैत्र २४, २०७६ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?