कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस नियन्‍त्रणमा ताइवान ‘विश्‍वमै अगाडि’

‘विश्‍व स्वास्थ्य संगठनले ताइवानलाई बेवास्ता गर्दा बाँकी विश्‍वले मूल्य चुकाउनुपर्‍यो’

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को संक्रमण अहिले विश्वका लगभग सबै देशमा फैलिइसकेको छ । चीन, युरोप हुँदै यसले अहिले अमेरिकालाई आक्रान्त बनाएको छ । तर पनि केही देश भने पहिले नै सजगता अपनाएका कारण तुलनात्मक रुपमा कम प्रभावित छन् । 

कोरोना भाइरस नियन्‍त्रणमा ताइवान ‘विश्‍वमै अगाडि’

गत जनवरी २५ मा चीनबाट तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको सम्भावित खतराबारे विश्वका धेरै मुुलुक अनभिज्ञ थिए । तर दुई मुलुक ताइवान र अस्ट्रेलियामा भने चार–चार जनामा संक्रमण पुष्टि भएको थियो ।

अस्ट्रेलिया र ताइवानको जनंसख्या करिब–करिब बराबर(२ करोड ४० लाख) रहेको छ । दुवै टापु मुलुक पनि हुन् । र चीनसँग व्यापार र यातायातको सञ्जाल जोडिएका देश पनि । कोरोना संक्रमण पुष्टि भएको १० हप्तापछि भने दुई देशको अवस्था अलि भिन्‍न छ । यतिबेला अस्ट्रेलियामा ५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ताइवानमा ४ सयभन्दा कम संक्रमित छन् । आइतबार दिउँसाेसम्म ताइवानमा ३५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ जनाको मृत्यु भएको छ भने ५० जना निको भएका छन् ।

यसो भन्दैमा अस्ट्रेलियाले सावधानी नअपनाएको भन्न नमिल्ने सीएनएनका पत्रकार जेम्स ग्रिफिथ्स बताउँछन् । उनी लेख्छन्, ‘अस्ट्रेलियाले नराम्रो गऱ्यो भन्ने होइन, २० देशमा अस्ट्रेलियामा भन्दा बढी संक्रमण फैलिएको छ । तीमध्ये सात वटा देशमा त अस्ट्रेलियामा भन्दा ७ गुणा बढी संक्रमित रहेका छन् ।’ पत्रकार जेम्सले विश्वका अरु देशले नियन्त्रण गर्न नसकिरहेको कोरोना भाइरसको संक्रमण ताइवानले कसरी रोक्न सफल भइरहेको छ भनेर रिपोर्ट तयार पारेका छन् ।

विगतको तीतो अनुभव

पत्रकार जेम्स ताइवानले विगतमा भोगेका तीता अनुभवका कारण पनि कोरोना नियन्त्रणका लागि कडा कदम चालेको बताउँछन् । सन् २००३ मा सार्स(सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम) को महामारीका बेला हङकङ, दक्षिणी चीनसँगै ताइवान पनि नराम्ररी प्रभावित भएको थियो । त्यतिबेला ताइवानमा १८१ जनाको मृत्यु भएको थियो । त्यस्तै एक लाख ५० हजारभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको थियो । सार्स संक्रमण र अहिलेको अवस्था भने अलि फरक छ । एसियाका धेरै देशले भविष्यमा महामारी आएका के कस्ता पूर्वसावधानी अपनाउनुपर्छ भन्ने पाठ सिकेका छन् ।

ताइवानमा विश्वकै स्तरीय स्वास्थ्य सेवा रहेको छ । चिनियाँ नयाँ वर्षको संघारमा वुहानमा कोरोना भाइरसको संक्रमण फैलिनेबित्तिकै ताइवानको नेसनल हेल्थ कमान्ड सेन्टर(एनएचसीसी) सम्भावित खतराका लागि आवश्यक कदम चालिसकेको अमेरिकन मेडिकल एसोसियसनको जर्नलमा रिपोर्ट छापिएको छ । उक्त रिपोर्टमा ताइवानले द्रुत गतिमा पछिल्लो ५ हप्तामा १२४ वटा ‘आवश्यक कदम’ चालेको बताइएको छ । जर्नलमा ताइवानकी चिकित्सक जेसोन वाङ ताइवानले बोर्डर बन्द गरेर मात्रै नहुने देखेपछि अन्य कदम पनि चालेको बताउँछिन् ।

अरु देश कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कदम चाल्ने कि नचाल्ने भन्ने विवादमा अल्झिरहँदा ताइवान भने निकै अगाडि बढिसकेको थियो । जनवरीमा जोन होप्किन्स विश्वविद्यालयले गरेको एउटा अध्ययनमा चीनपछि ताइवान कोरोना भाइरस संक्रमणको ‘रेड जोन’ मा राखेको थियो । जोन होप्किन्स विश्वविद्यायलले चीनसँगको निकटता, सम्बन्धर यातायात सञ्जालका कारण ताइवानमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन सक्ने अनुमान गरेको थियो । तर ताइवानले सुरुमै चीनका अधिकांश भूभागबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाइहाल्यो । त्यस्तै कुनै पनि पानीजहाजलाई आफ्नो बन्दरगाहमा रोक्न नदिने निर्णय पनि गऱ्यो । साथै होम क्वारेन्टाइनको नियम पालना नगरे कडा सजाय दिने पनि घोषणा गऱ्यो ।

त्यस्तै ताइवानले मुलुकमा मास्कको अभाव हुन नदिन मास्कको उत्पादन पनि बढाउने काम गऱ्यो । त्यस्तै मुलुकभर परीक्षण गर्ने, पुन: परीक्षण गर्ने, पहिले निमोनियाजस्तै रोग लागेका र जानकारी नदिने व्यक्तिलाई कडा सजाय दिनेजस्ता कदम पनि अगाडि बढायो ।

साथै कोरोना संक्रमण रोकथामका लागि ताइवानले द्रुत गतिमा चालेको पारदर्शी कदम र दैनिक रुपमा स्वास्थ्य अधिकारीलेहरु पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनेजस्ता क्रियाकलापले महामारीका बेलामा पनि प्रजातान्त्रिक तवरले सरकार चलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको पत्रकार जेम्स लेख्छन् ।

पछिल्लो अवस्थामा ताइवानसँग घरेलु आवश्यकताका लागि पर्याप्त मात्रामा मास्क रहेको छ । बुधबार ताइवान सरकारले एक करोड मास्क विभिन्न देशलाई सहयोगस्वरुप उपलब्ध गराउने पनि घोषणा गरेको छ । अमेरिका, इटाली, स्पेन, अरु ९ वटा युरोपेली मुलुक र ताइवानसँग मैत्रीपूर्ण सम्बन्ध भएका अरु देशलाई ताइवानले ती मास्क सहयोग गर्ने भएको हो ।

‘महामारी राजनीति’

कतिपय विश्लेषकले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ताइवानलाई बेवास्ता गर्दा बाँकी विश्वले मूल्य चुकाउनु परेको पनि बताउँछन् ।अमेरिकी पत्रिका द नेसनको अनलाइन संस्करणमा विल्फ्रेड चान लेख्छन्, ‘कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लाति विश्वका कुनै पनि मुलुकभन्दा पहिले ताइवान तयार थियो । तर डब्लूएचओले पहिले राजनीतिलाई प्राथमिकता दियो ।’

जनवरी र फेब्रुअरीमा ताइवानले चालेका कदमबारे धेरै पश्चिमा मुलुकहरु अनभिज्ञ पनि थिए । ताइवानमा के भइरहेको छ भन्नेबारे अन्य मुलुकलाई डब्लूएचओले जानकारी गराउने कुरै भएन । किनकी ताइवान डब्लूएचओको सदस्य राष्ट्र होइन ।

चीनले ताइवान आफ्नो भूभाग भएको बताउँदै आएको छ । जबसम्म ताइवानले ‘एक चीन नीति’ स्वीकार नगरेसम्म अन्तर्राष्टिय संगठनहरुमा आबद्ध हुन नदिने अडान चीनले दोहोऱ्याउँदै आइरहेको छ । चीनकै दबाबमा ताइपेइले ‘चाइनिज ताइपेई’ का रुपमा ओलम्पिकमा सहभागिता जनाएको छ । सन् २०१६ सम्म त ताइवान डब्लूएचओको पर्यवक्षक सदस्यका रुपमा रहेको थियो । साई इङ वेन राष्ट्रपतिमा निर्वाचित भएसँगै ताइवान डब्लूएचओको पर्यवक्षक राष्ट्रका रुपबाट समेत बाहिरियो । डब्लूएचओले भने ताइवान सदस्य राष्ट्र नभएकैले स्वास्थ्यसम्बन्धी सूचना आदानप्रदानमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर धेरै पर्यवेक्षकहरुले विश्व स्वास्थ्य संगठनले ताइवानसँग समन्वय नगर्दा सार्स र कोरोना महामारीका बेला नकारात्मक असर देखिएको बताएका छन् ।

अहिले पनि कोरोना भाइरस संक्रमणका बारेमा डब्लूएचओको तथ्याङ्क र सहयोग नपाएको चीन र ताइवान मामिलाकी जानकार अस्ट्रेलियाको लोवी इन्स्टिच्युटकी नताशा कसाम बताउँछिन् । सूचनामा पहुँच नहुँदा ताइवानले पहिले नै निर्णय गर्न बाध्य भएको पनि नताशा बताउँछिन् ।

त्यस्तै ताइवानले आफ्ना चिकित्सक र मेडिकल सामग्री बाँकी विश्वमा पठाउन चाहेको बताउँदै आएको छ । तर डब्लूएचओ बाहिर रहेकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभन्दा बाहिर प्रभावकारी भूमिका खेल्न सकेको छैन । ‘हामी सहयोग गर्न चाहन्छौँ, कुनै देशलाई आवश्यक भएमा हामीले हाम्रा दक्ष चिकित्सक, अनुसन्धानकर्ता र नर्सहरु पठाउन चाहन्छौं,’ जोन होप्किन्स विश्वविद्यायलयबाट संक्रामक रोगमा विशेषज्ञता हासिल गरेका ताइवानका उपराष्ट्रपति डाक्टर चेन चियनजेनले गत हप्ता भनेका थिए । उनले आफूहरुले योगदान गर्न चाहेर पनि नसकेको गुनासो गरेका थिए ।

त्यस्तै गत हप्ता मात्रै हङकङको एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा डब्लूएचओका सहायक महानिर्देशक ब्रुस एलवार्डलाई ताइवानसम्बन्धी प्रश्न सोध्दा इन्टरनेटको समस्या भउको भन्दै उत्तर दिन हिच्किचाएका थिए । कोरोना रोकथामका लागि ताइवानले चालेको कदमबा बारेमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले सबै कुरा ‘चीनबाट थाहा पाइरहेको’ बताएका थिए । तर उनले ताइवानको नामै लिएर टिप्पणी गर्न भने मानेनन् । त्यसको केही समयपछि ताइवानको विदेश मन्त्रालयले त्यो अन्तर्वार्ताको क्लिपसहित ट्वीट गऱ्यो, ‘ओहो !, डब्लूएचओमा ‘ताइवान’ उच्चारण गर्न पनि पाइँदैन । महामारीसँग लड्नका लागि राजनीतिलाई अलग राख्नैपर्छ ।’

अहिलेको अवस्थामा राजनीति गर्नुभन्दा पनि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि ताइवानसँग भएको दक्ष जनशक्ति र स्रोतसाधनको सहयोग लिन पर्ने देखिन्छ ।

-सीएनएन र अन्य एजेन्सीको सहयोगमा

प्रकाशित : चैत्र २३, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?