बेलायत तीन साताका लागि ‘लकडाउन’ - विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायत तीन साताका लागि ‘लकडाउन’ 

नवीन पोखरेल

लन्डन — बेलायत सोमबार मध्यरातदेखि तीन साताका लागि ‘लकडाउन’ भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न बेलायत सरकारले थप कडा नियम घोषणा गरेको हो ।

सोमबार बेलुका टेलिभिजनबाट प्रसारित प्रत्यक्ष सम्बोधनमा प्रधानमन्त्री बोरिस जोनसनले बेलायती जनतालाई अत्यावश्यक खाद्यान्न किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीबाहेक अरुलाई घरैमा बस्न निर्देशन दिएका छन् । ‘यी नियम पालना नगर्ने मानिसहरुलाई दण्ड जरिवाना गर्न र भीडभाड हटाउन प्रहरीलाई अधिकार दिइएको छ’, उनले भने ।


त्यसैगरी सबै पुस्तकालय, जिम, खेल मैदान, चर्च तथा धार्मिक भेला, विवाह समारोहहरुमा पनि रोक लगाइएको छ । यद्यपि अन्त्येष्टि समारोह भने आयोजना गर्न पाइनेछ । दुई जनाभन्दा बढी भेला हुन नपाइने प्रधानमन्त्रीको सम्बोधनमा छ । पार्कमा अभ्यासका लागि एक जनामात्र वा परिवारका साथ जान सकिन्छ ।


बैंक, फार्मेसी, पेट्रोल, खाना, पत्रिका, हार्डवेयर, लन्ड्रीजस्ता पसलबाहेक बन्द हुनेछन् । सडक र रेल नेटवर्क खुल्ला रहनेछन् तर अत्यावश्यक सेवाका कामदारले मात्र प्रयोग गर्न पाउने बताइएको छ ।


प्रधानमन्त्री जोन्सनले बेलायतको स्वास्थ्य

सेवा (एनएचएस) कोभिड १९ बिरामीको चापका कारण तहसनहस हुन नदिन यो कदम चाल्नु परेको पनि बताएका छन् । यसअघि सरकारले जमघट, अनावश्यक यात्रा नगर्न र सकभर घरैबाट काम गर्न गरेको अनुरोध अवज्ञा भएपछि सरकार थप कठोर बनेको हो । फ्रान्स, इटाली र स्पेनले पनि कोभिड १९ फैलन नदिन लकडाउन गरेका छन् ।


बेलायतमा कोभिड १९ का कारण सोमबारसम्म ३ सय ३५ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ६ सय ५० जनामा संक्रमण भएको छ । नेशनल हेल्थ सर्भिस (एनएचएस) ले अहिले जोखिममा रहेका समूहलाई टेक्स्टमार्फत १२ सातासम्म घरैमा बस्न अपिल सुरु गरेको छ ।


प्रकाशित : चैत्र ११, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

‘कोमा’मा पर्यटन क्षेत्र

व्यापारी भन्छन्, ‘अहिलेको जस्तो अवस्था १० वर्षे युद्ध र भूकम्पका बेलामा पनि बेहोर्नुपरेको थिएन ।’
अब्दुल्लाह मियाँ

काठमाडौँ — कोभिड–१९ को असर विश्वव्यापी रूपमा नफैलिएको भए ठमेलस्थित ग्लोबल होलिडेज एडभेन्चर नेपाल प्रालिका प्रमुख शमशेर पराजुली ५ दिनपछि रुसी नागरिक इभजेनी शिरोकोभलाई हेलिकप्टरमा राखेर पूर्वी रुकुमको ढोरपाटन सिकार आरक्षको सेङ ब्लक पुग्थे । ५४ वर्षीय शिरोकोभले त्यहाँ एउटा नाउर र एउटा झारलको सिकार गर्ने निश्चित थियो ।




लामो समयदेखि विदेशीलाई सिकार खेलाउँदै आएका पराजुलीले चैत १४ देखि २७ गतेसम्म शिरोकोभलाई सेङ ब्लकमा सिकार गराउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको टेन्डरबाट स्वीकृति पाएका थिए । ‘कोरोनाले मेरो तयारी त डामाडोल गर्‍यो नै नेपालमा सिकार खेल्ने शिरोकोभको सपना पनि साकार भएन,’ पराजुलीले भने ।

ढोरपाटन आरक्ष सिकार पर्यटनका लागि विश्वमै प्रख्यात छ । यसमा असोज–कात्तिक र चैत–वैशाख गरी वर्षमा दुईपटक युरोप र अमेरिकबाट पर्यटकहरू सिकार गर्न आउँछन् । विश्वलाई नै कोभिड–१९ ले आक्रान्त पारेपछि सिकार मात्र होइन, समग्र पर्यटन क्षेत्र नै ‘कोमा’मा पुगेको छ ।

पदयात्राका लागि उपयुक्त मानिने यो सिजनमा विगतका वर्षमा ठेलमठेल रहने ठमेल अहिले सुनसानप्रायः छ । ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अनुसार काठमाडौंमा करिब १ हजार ८ सय र पोखराका करिब ३ सय ट्रेकिङसम्बन्धी कार्यालय छन् । ती सबै बन्द छन् । पदयात्रा पनि रोकिएको छ । पदयात्राका सामग्री बेच्ने ठमेलका धेरैजसो पसल बन्द छन् । एकाध खुलेकामा पनि ग्राहक छैनन् । भीडभाड हुने ठमेलका रेस्टुरेन्टमा धेरै बन्द छन् ।

टानका अध्यक्ष खुम सुवेदी कोभिड–१९ का कारण नेपालको पदयात्राको मुख्य सिजन कोमामा गएको विश्लेषण गर्छन् । ‘यो पटकको सिजन शून्यबाट माइनसित गइसक्यो,’ उनले भने, ‘कोरोनाले युरोप र अमेरिका नै थला परेपछि हाम्रो बेहाल हुने नै भयो ।’ उनका अनुसार नेपालमा पदयात्रामा आउनेमध्येमा धेरैजसो युरोपेली र अमेरिकी हुन्छन् । यतिबेला युरोपका इटाली, स्पेन, फ्रान्स, बेलायत, नेदरल्यान्ड्स, जर्मनीलगायतका मुलुकमा कोभिड–१९ को संक्रमण फैलिइसकेको छ । धेरैजसो देश ‘लक डाउन’ छन् ।

सुवेदीका अनुसार यो सिजनमा मुख्य गरी पदयात्राका लागि पर्यटक नेपाल आउँथे । अन्नपूर्ण सर्किट, सगरमाथा र लाङटाङ निकुञ्ज तथा मनास्लु संरक्षण क्षेत्रमा पदयात्रीको भीड हुन्थ्यो । सरकारी तथ्यांकअनुसार गत वर्ष नेपाल आएका १० लाखमध्ये ७ लाख पर्यटकले संरक्षण क्षेत्रहरूको पदयात्रा गरेका थिए ।

विश्वभर नै कोभिड–१९ को असर फैलिन थालेपछि यो सिजनका लागि ‘बुक’ भएका सबै पदयात्रा पनि रद्द भएका छन् । ‘पदयात्रा र माउन्टेनेयरिङले मात्र यो सिजनमा १५ अर्ब रुपैयाँ गुमाएको छ,’ सुवेदीले भने, ‘पदयात्रालाई पुरानै अवस्थामा फर्काउन धेरै समय लाग्ने देखिन्छ । पदयात्रा रोकिँदा हजारौंको रोजगारीसमेत गुमेको छ ।’

अघिल्ला वर्षमा यो सिजनमा काठमाडौंसहित पोखरा, लुम्बिनी र चितवन र सौराहाका ९० प्रतिशत होटल भरिभराउ हुन्थे । ‘अहिले एनजीओ–आईएनजीओमा काम गर्ने विदेशीबाहेक होटलमा छैनन्,’ होटल संघ नेपाल (हान) का महासचिव तथा काठमाडौं प्रिन्स होटलका साजन शाक्यले भने, ‘मुस्किलले होटलका १ देखि ५ प्रतिशत कोठा अकुपाई भएको अनुमान छ ।’ केही पाँचतारे होटल बन्द भइसकेका छन् भने केहीले कर्मचारीलाई एक महिनाको बिदा दिएका छन् ।

कोभिड–१९ को असर फैलिनुअघि नै नेपाल भित्रिएका केही पर्यटक काठमाडौं, पोखरा, लुम्बिनी र सौराहालगायत स्थानमा छन् । त्यसैले ठमेलमा अहिले पनि ५ देखि १० प्रतिशत रेस्टुरेन्ट खुला राखिएको बताउँछन् ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारी । ‘तर अब कहिलेसम्म खोल्ने भनेर हामी अन्योलमा छौं,’ उनी भन्छन्, ‘अहिलेको जस्तो अवस्था १० वर्षे जनयुद्ध र भूकम्पका बेलामा पनि बेहोर्नुपरेको थिएन ।’

भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन सरकारको आग्रहअनुसार ठमेल र मुख्य पर्यटकीय स्थान र रुटमा करिब ३० प्रतिशत होटल र रेस्टुरेन्ट थप गरिएको थियो । कोभिड–१९ को प्रभावका कारण सरकारले भ्रमण वर्ष स्थगित गरेपछिको मार आफूहरूलाई परेकाले परिषद्ले एक वर्ष घरभाडा र बैंक ऋणमा ब्याज मिनाहाको व्यवस्था मिलाइदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ध्यानाकर्षण गराएको छ । ‘पर्यटन व्यवसाय ठप्प भएपछि व्यापारीले मार खेप्नुपरेको छ,’ अधिकारीले थपे, ‘त्यसैले सरकारले हामीलाई सहयोग गर्ला भन्ने हाम्रो अपेक्षा छ ।’

अप्रिल र मे महिना सर्वाधिक पर्यटक भित्रिने महिना हुन् । यो सिजनमा हिमाल खुल्ने र मौसमसमेत राम्रो हुने भएकाले युरोपेली र अमेरिकीहरू पदयात्राका लागि नेपाल आउँथे । पर्वतारोहणसमेत रोकिएपछि पर्यटन क्षेत्रमा अरू मार पर्ने देखिन्छ । ‘दुइटा सिजनमा ४ महिना व्यवसाय गरेर १२ महिना चलाउनुपर्ने हाम्रो बाध्यता थियो,’ महासचिव अधिकारीको विश्लेषण छ, ‘सिजन नै शून्य भएपछि पर्यटन क्षेत्रमा लामो समयसम्म असर पर्ने देखिन्छ ।’

सरकारले चैत १८ सम्म सबै अन्तर्राष्ट्रिय उडानसमेत रोकेको छ भने सीमा नाकासमेत कडाइ गरेको छ । पछिल्ला केही वर्षदेखि नेपालमा चिनियाँ पर्यटकको पनि बढोत्तरी हुँदै गएका थिए । कोभिड–१९ चीनबाट नै फैलिए पनि चिनियाँ आगमनमा पनि रोक लगाइएको छ । पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरे विश्व नै आक्रान्त भइरहेका बेला अहिलेसम्म कोभिड–१९ का हिसाबले नेपाल ग्रिनजोनमा पर्नु पनि सकारात्मक भएको बताउँछन् । तत्काल केही पर्यटक गुमाए पनि कालान्तरमा नेपालले पुनर्जीवन दिन सक्ने उनको विश्वास पनि छ । ‘हामीले राम्रो सन्देश दिन सक्यौं भने पर्यटन क्षेत्रलाई छिट्टै रिकभर गर्न सक्छौं,’ उनले भने ।

मुख्य पर्यटकीय क्रियाकलाप
पर्वतारोहण
पदयात्रा
चरा अवलोकन
माउन्टेन फ्लाइट
रक क्लाइम्बिङ
बन्जी जम्पिङ
प्याराग्लाइडिङ
माउन्टेन बाइकिङ
जंगल सफारी

प्रकाशित : चैत्र ११, २०७६ १२:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×