कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

को-को कलाकार परे कोभिड-१९ को संक्रमणमा ?

एजेन्सी

एल्भिस प्रिन्सलेको जीवनमाथि बनिरहेको फिल्मका लागि अस्ट्रेलिया पुगेका हलिउड अभिनेता टम ह्यांक्सले आफू र आफ्नी पत्नी रिटा विल्सलनलाई कोरोना संक्रमण भएको बताएपछि मनोरञ्‍जन क्षेत्रमा यसले तरंग ल्यायो ।

को-को कलाकार परे कोभिड-१९ को संक्रमणमा ?

आफू संक्रमित भएको सार्वजनिक गर्दै आफ्नो सम्पर्कमा आएकालाई सचेत हुन आग्रह गरेका कारण उनको प्रशंसा पनि गरियो ।


अस्पताल भर्ना भएको ५ दिनपछि विल्सन दम्पती डिस्चार्ज भइसकेका छन् । टम ह्यांक्स खुलेर प्रस्तुत भएपछि धेरै कलाकारले आफू संक्रमित भएको कुरा संकोच नमानी सेयर गर्दै आएका छन् ।


रक ब्याण्ड बोन जोभी फाउन्डेसनको सदस्यसमेत रहेका डेभिड ब्रायन (किबोर्ड वादक) र गायिका डेवी मेजरले पनि आफूलाई कोभिड-१९ को संक्रमण भएको खुलाएका छन् । ५५ वर्षीया गायिका मेजरले इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई घरमै सुरक्षित रहन सल्लाह दिएकी छिन् । मार्च २१ मा कोभिड -१९ पोजेटिभ देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा छिन् । उनीसँगै उनका परिवारका सदस्य पनि क्वारेन्टाइनमा छन् ।


हालै अभिनेता इद्रिस अल्बाले पनि ट्विटर भिडियोमार्फत् आफूमा कोभिड-१९ पोजेटिभ देखिएको बताएका छन् । ‘मैले मेरो स्वास्थ्य परीक्षण गराएको थिएँ । मलाई कोभिड-१९ पोजेटिभ देखिएको छ,’ उनले सार्वजनिक गरेको भिडियोमा भनेका छन् । ४७ वर्षीया अल्बाले आफ्ना फ्यानलाई सजग हुन आह्वान गरेका छन् ।


विश्वभर महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ को चपेटामा पर्ने कलाकारहरुको सूची लामो छ । युक्रेनी अभिनेत्री/मोडल ओल्गा कुर्लेन्कोले पनि आफूलाई कोभिड-१९ को संक्रमण देखिएको इन्स्टाग्राममार्फत जानकारी गराएकी हुन् । कोरोना संक्रमित भएसँगै घरभित्र बस्न थालेको उनले बताएकी थिइन् । उनले सन् २००८ मा जेम्स बोन्ड फिल्म ‘क्‍वन्टेम अफ सोलेस’ मा अभिनय गरेकी थिइन् ।


‘गेम अफ थ्रोन’का कलाकार क्रिस्टोफर हेभ्यूले पनि इन्टाग्राममार्फत् नै कोभिड-१९ पोजेटिभ देखिएसँगै सेल्फ आइसोलेसनमा बसेको जानकारी गराएका थिए । ‘तपाईंहरुले सावधानी अपनाउनुहोस्,’ उनले इन्स्टाग्राममा लेखेका छन्,'हात धोइरहनुहोस् । क्वारेन्टाइनमा बस्नुहोस् । यो भाइरस फैलन नदिन हर प्रयास गर्नुहोस् ।'


‘फ्रोजन २’ अभिनेत्री रेचल म्याथू गत हप्ताबाट क्वारेन्टाइनमा छिन् । कोभिड-१९ पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइनमा बस्न थालेकी हुन् । ‘विकल्प नभेटिएसम्म क्वारेन्टाइनमा बस्नलाई अरुलाई पनि भन्नुहोस्,’ २६ वर्षीया म्याथूले इन्स्टामा लेखेकी छिन्,‘यो समय जिम्मेवार हुने समय हो । एकअर्काको ख्याल राखौं ।' उनले आफू विस्तारै स्वस्थ हुँदै गएको जानकारी दिएकी छिन् ।


त्यस्तै अभिनेता डेनियल डेइ किमले आफूलाई कोभिड-१९ पोजेटिभ देखिएको बताउँदै चाँडै स्वस्थ हुने बताएका छन् । कोभिड-१९ को परीक्षण अगाडि उनी टिभी सिरिज सुटिङका लागि न्यूयोर्क पुगेको थिए । संक्रमितले बेवास्ता गरे धेरैको जीवन जोखिममा पार्ने उनले बताएका छन् ।


कोरोना पोजेटिभ देखिने अर्का कलाकार हुन् कोल्टेन अन्डरवुड । गत शुक्रबार उनले सामाजिक सञ्जालमार्फत् आफू यो भाइरसबाट संक्रमित भएको जानकारी गराएका हुन् । ‘वाच ह्वाट ह्यापेन्स लाइभ’का होस्ट एन्डी कोहेनलाई पनि कोरोनाको संक्रमण देखिएको छ । गत शुक्रबार नै एन्डीले आफू कोरोनाबाट संक्रमित भएको जानकारी गराए ।

हालै भारतमा ‘बेबी डल’ गायिका कनिका कपुरलाई कोभिड-१९ को परिक्षण पोजेटिभ देखियो । उनीसँगै उनका परिवार अहिले क्वारेन्टाइनमा छन् । लन्डनबाट फर्केकी उनको आफ्नो ट्राभल हिस्ट्री लुकाएको र धेरै मानिसलाई भेट्नेगरी पार्टीहरुमा उपस्थित भएको भनेर आलोचनासमेत गरिएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?