कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

कोरोना प्रभाव : फ्रान्समा हिँडडुल गर्न रोक

कोभिड–१९ संक्रमणविरुद्धको नयाँ कदम कार्यान्वयनका लागि एक लाख सुरक्षाकर्मी खटाइने 
ददि सापकोटा

पेरिस — कोभिड–१९ संक्रमण थप नफैलियोस् भनेर फ्रान्समा मंगलबारबाट हिँडडुलमा पूर्णरूपमा रोक लगाइएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै नयाँ कदमबारे जानकारी गराएका हुन् ।

कोरोना प्रभाव : फ्रान्समा हिँडडुल गर्न रोक

‘अत्यन्त जरुरी कामका लागि कारण खुलाइएको अनुमतिबिना हिँडडुलमा पूर्ण रोक लगाइएको छ । अवज्ञा गरे कडा कारबाही गरिने छ,’ उनले भने, ‘यो नियम १५ दिनका लागि भए पनि आवश्यकताअनुसार थप १५ दिन बढाउन सकिने छ ।’ २१ मिनेट लामो सम्बोधन म्याक्रोंले ६ पटक ‘हामीहरू युद्धमा छौं’ भन्दै फ्रान्स अति संकटपूर्ण अवस्थामा रहेको उल्लेख गरे । पछिल्लो घोषणालाई कडाइका साथ कार्यान्वयन गर्न करिब १ लाख सुरक्षाकर्मी खटाइने र केही सुरक्षा पोस्ट तत्कालै थपिने उनले बताए ।


पछिल्लो नियमअनुसार घरमै बसेर काम गर्न नसक्नेबाहेक अन्य व्यक्ति हिँडडुल गर्न पाउने छैनन् । पार्कमा भेला हुन, पारिवारिक भेटघाट र भोजभतेर गर्न, सामान्य अवस्थाका बिरामीलाई अस्पताल जान पनि रोक लगाइएको छ । घाँटी दुख्ने, अलिअलि शरीर पोल्ने, रुघाखोकी लाग्ने अवस्थामा पनि घरमै उपचार गर्न भनिएको छ । फ्रान्सले मंगलबारबाटै ३० दिनका लागि देशबाहिर जान र देशभित्र आउन पनि रोक लगाएको छ । पछिल्लो नियमले फ्रान्सेली नागरिकलाई स्वदेश फर्कन भने रोक्ने छैन । ‘अब कुनै पनि साथीभाइ भेट्न र पार्कमा जम्मा हुन पाइने छैन । यो आफ्ना लागि मात्र सोच्ने समय हो । अरूका लागि होइन,’ म्याक्रोंले भने, ‘अत्यावश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्नबाहेक काम गर्ने कार्यालय टाढा छ भने मात्रै सार्वजनिक यातायात चढ्न पाइने छ । यसको उल्लंघन गर्नेलाई तत्कालै एक सय ३५ युरो जरिवाना गरिने छ ।’ फ्रान्सले मंगलबारबाटै लागू हुने गरी राजमार्गमा समेत कडाइ गरेको छ र यातायातको संख्या घटाएको छ । ट्राम, रेलवे, मेट्रो र सार्वजनिक बसका संख्या ५० देखि ६० प्रतिशतसम्म कटौती गरिएको छ ।


भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि राजधानी पेरिसबाहिरका होटललाई अस्पतालका रूपमा परिणत गर्ने घोषणा गरिएको छ भने ट्याक्सीलाई एम्बुलेन्स सेवामा परिणत गरिने छ । पेरिसबाट करिब ४ सय ७५ किलोमिटर टाढा रहेको आल्जास क्षेत्रमा तत्कालै उच्च सुविधासहितको सैनिक अस्पताल निर्माण गर्ने घोषणा भएको छ । घरबिदा वा तालिम बिदामा बसेका र स्वास्थ्य क्षेत्रमा अध्ययन गरिरहेका सिकारु स्वास्थ्यकर्मीलाई पनि काममा फर्काइने सरकारी तयारी छ । भाइरस प्रकोपविरुद्ध सम्पूर्ण राज्यशक्ति लाग्नुपर्ने भएकाले सरकारले अगाडि सारेको पेन्सन सुविधा, बेरोजगारभत्ता र सेवा निवृत्तिभरण प्रस्ताव पनि हालका लागि रद्द गरिएको छ । अप्ठेरोमा परेका उद्योगी–व्यापारीका कोठा भाडा, बिजुली, ग्यास र पानीको बिललगायत सामाजिक र व्यापारिक करसमेत तिर्नुनपर्ने आश्वासन राष्ट्रपति म्याक्रोंले दिएका छन् । उनीहरूले लिएका बैंकको कर्जा तिर्न सरकारले ३ खर्ब युरोको व्यवस्था गरेको छ ।


चीनले रोक्यो सगरमाथा आरोहण

चीनले उत्तरी मोहडाबाट हुने सगरमाथालगायत सबै खालका हिमाल आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । यसअघि नेपालले पनि गत फागुनको अन्तिममा वसन्त ऋतुका लागि पूर्वनिर्धारित आरोहणका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । चीनको स्वशासित क्षेत्र तिब्बतले यस वसन्त ऋतुका लागि पूर्वनिर्धारित विदेशी आरोहण टोलीको तालिका रद्द गरेको घोषणा गरेको हो । यस विषयमा परिस्थिति विचार गरेर पुनः निर्णय लिने पनि उसले बताएको छ । विश्वव्यापी महामारीको अवस्था कस्तो हुन्छ, सोहीबमोजिम पर्वतारोहण पुनः खुला गर्नेबारे निर्णय गरिने चीनले जनाएको छ । महामारीको सम्भावित खतरा टार्न मंगलबार यस्तो निर्णय गरिएको तिब्बतले जनाएको छ । ८ हजार मिटरभन्दा अग्ला ५ हिमाल, ७ हजार मिटरभन्दा अग्ला ७० वटा र ६ हजार मिटरभन्दा अग्ला १ हजार वटा हिमाली चुचुरा भएकाले तिब्बतलाई विश्व पर्वतारोहणको आकर्षक केन्द्र मानिन्छ ।


सन् २०१८ मा वसन्त र शरद ऋतुमा ७ सय ५२ पर्वतारोही, पथप्रदर्शक र भरियासहित ३६ मुलुकका आरोहीले तिब्बती पर्वतको आरोहण गरेका थिए । गत वर्षको शरद ऋतुमा २ सय ९५ पर्वतारोही तिब्बत पुगेका थिए । तीमध्ये २ सय ४१ ले मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथा चुमेका थिए । तीमध्ये ९४ जना विदेशी र १ सय ८ जना नेपाली पर्वतारोही पथप्रदर्शक रहेको चाइना डेलीले जनाएको छ । नोवल कोरोना भाइरसको उद्गमस्थल चीनमा भने संक्रमण दर नियन्त्रण उन्मुख छ ।


इरानले ८५ हजार कैदी रिहा गर्‍यो

मध्यपूर्वमा सबैभन्दा प्रभावित इरानले संक्रमण नफैलियोस् भनेर ८५ हजार बन्दी रिहा गरेको छ । इरान न्याय मन्त्रालयका प्रवक्ता घोलामहोसेन इस्माइलीले दिएको जानकारीअनुसार रिहा हुनेमा राजनीतिक बन्दीसमेत छन् । पाँच वर्षभन्दा कम सजाय तोकिएका कैदीलाई मात्र अस्थायी रूपमा जेलमुक्त गरिएको उनले बताए । उनका अनुसार राजनीतिक बन्दी र सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै कठोर सजाय भएका भने जेलमै छन् । ‘हजारौं कैदी रिहा गरिए पनि जेलमा रहेका अन्य बन्दीको स्वास्थ्यमाथि सजग हुँदै भाइरसविरोधी सुरक्षात्मक कदम चालिएको छ,’ प्रवक्ता इस्माइलीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । सबै बन्दीलाई अस्थायी रूपमा रिहा गरेको बताइए पनि उनीहरू कहिले कारागार फर्किन्छन् भन्नेबारे भने उनले केही उल्लेख गरेनन् ।


इरानमा संक्रमणका कारण हालसम्म ९ सय ८८ जनाको मृत्यु भएको छ भने कुल १६ हजार १ सय ६९ जनामा संक्रमित पुष्टि भइसकेको छ । भाइरसका कारण मृतक र संक्रमित संख्यामा वृद्धि भइरहे पनि इरानले सहर बन्द गराएको छैन । उसले सबैलाई भाइरस फैलन सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर नजान निर्देशन भने दिँदै आएको छ ।


एनआरएनएको समिति

संक्रमण रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उच्चस्तरीय समिति गठन गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा १३ सदस्यीय समिति बनेको हो । समितिले नेपालमा आइपर्ने विपत्ति रोक्न दीर्घकालीन गुरुयोजना तयार गर्ने अध्यक्ष पन्तले बताए । ‘वैदेशिक रोजगारमा रहेका नेपालीका लागि नेपाली भाषामा प्रचार सामग्री तयार गर्छौं, संक्रमणविरुद्ध लड्न आवश्यक सामग्री उपलब्ध गराउँछौं,’ उनले भने, ‘विदेशमा सिकेको ज्ञान र सीपलाई नेपाल सरकारसम्म पुर्‍याउनेलगायत काम पनि गर्छौं ।’ एनआरएनएले आगामी तीन महिनाका लागि तय भएका सबै कार्यक्रम पनि रद्द गरेको छ ।

प्रकाशित : चैत्र ५, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?