कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन : पाँचको मृत्यु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा कम्तीमा पाँच जनाको ज्यान गएको छ ।

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन : पाँचको मृत्यु

संशोधित नागरिकता ऐनको विरोध र पक्षमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा विगत दुई दिन देखि जारी प्रदर्शनले सोमबार उग्र हिंसात्मक रुप लिँदा एक जना प्रहरी हवल्दारसहित पाँच जनाको मृत्यु भएको हो ।


मौजपुर क्षेत्रमा नागरिकता ऐनको विरोध र समर्थनमा विगत दुई दिनदेखि प्रदर्शन जारी थियो । सोमबार भने बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेशनहरु बन्द गरिएका थिए । सोमबारको प्रदर्शनमा क्रममा हिसांत्मक भीडले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरुमा आगजानी गरेको थियो । त्यस्ता आगजानी र तोडफोडका घटनाका भिडियो र तस्बिरहरु दिनभर नै विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका थिए । प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए । उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो । प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिका परिणत भएको थियो ।


सोमबारको हिंसात्मक प्रर्दशनमा११ जना प्रहरी र ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ । घाइते प्रहरीमध्ये एक जना डीसीपीसमेत रहेका छन् । प्रदर्शनकै क्रममा ढुंगा लागेर घाइते प्रहरी हवल्दार रतनलालको उपचारको क्रममा मृत्यु भयो भने प्रहरीको गोली र प्रदर्शनकारीको आक्रमणमा अन्य चार जना सर्वसाधारणको ज्यान गएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दिनभरी जसो अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । तर, अबेर रातिसम्म पनि स्थिति नियन्त्रणमा नआएपछि अर्धसैनिक बललाई परिचालित गरिएको थियो ।


यसैबीच प्रहरीले सोमबार अपरान्ह प्रदर्शनका क्रममा गोली चलाएको आरोपमा ३३ वर्षीय शाहरुखलाई पक्राउ गरेको छ । उनीमाथि मौजपुरमा भएको प्रदर्शनमा पेस्तोलबाट आठ राउण्ड गोली प्रहार गरेको आरोप छ । उनले पेस्तोलबाट गोली चलाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो ।


नागरिकता कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि पेट्रोल बम फ्याँक्दै कानुनका समर्थक तस्बिर : रोयटर्स

नागरिकता ऐनको विरोधमा आन्दोलन गरिरहेको पक्षले सोमबारको हिंसात्मक प्रदर्शनका पछाडि भारतीय जनता पार्टी (भाजपा) का स्थानीय कपिल मिश्रले सोमबार दिएको भडकाउपूर्ण अभिव्यक्तिलाई जिम्मेवार ठानेका छन् । शनिबार राति करिब ५ सय महिलाहरुले जाफराबाद मेट्रो स्टेसनमा भेला भएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए । यसअघि दिल्लीकै शाहिनबागमा संशोधित नागरिक ऐन र राष्ट्रिय नागरिक पन्जीकरण (एनआरसी) को विरोधमा स्थानीयले करिब दुई महिनासम्म धर्ना तथा प्रदर्शन गरेका थिए । मिश्रले सोमबार सार्वजनिक रुपमै विगत दिल्लीको जाफराबाद र चाँदबाग क्षेत्रमा जारी संशोधित नागरिकता ऐनका विरुद्ध भइरहेको प्रदर्शन तीन दिनभित्र अन्त्य गराएर सडक खुला गराउन दिल्ली प्रहरीलाई अल्टिमेटम दिएका थिए । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किन अब तीन दिन बाँकी छ, त्यसपछि हामीहरुलाई न सम्झाउनुहोला त्यसपछि हामीहरु केही सुन्नेछैनौं,’ उनले सोमबार सार्वजनिक रुपमै भनेका थिए । मिश्रको उक्त अभिव्यक्तिले साम्प्रदायिक सद्भावलाई खलल पुर्याउन खोजेको भन्दै त्यसको सबै पक्षबाट आलोचना गरिएको थियो । नभन्दै त्यसको भोलिपल्ट सोमबार बिहानैदेखि नै दिल्लीका मौजपुर, कर्दामपुरी, चाँदबाघ र दयालपुर क्षेत्रको स्थिति तनावपूर्ण थियो ।


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्ति गर्दै गृह मन्त्रालयलाई स्थिति नियन्त्रण लिनका लागि पर्याप्त मात्रामा प्रहरीलाई खटाउन आग्रह गरेका छन् ।


परिस्थितिलाई ध्यानमा राख्दै दिल्ली सरकारले उत्तरपूर्व जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई मंगलबार बन्द गर्न निर्देशन दिएको छ । यसैगरी दिल्ली प्रहरीले त्यसक्षेत्रमा धारा १४४ समेत लागू गरेको छ ।


केही नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले राजधानीमै हिंसा हुँदा समेत मौनता साँधेको भन्दै उनीहरुको आलोचना गरेका छन् । सीपीआई (मार्क्सवादी) नेता सिताराम यचुरीले ट्वीट गर्दै राजधानीकै अवस्था तनावपूर्ण हुँदा समेत प्रधानमन्त्री र गृह मन्त्री चुपचाप बसेर असक्षम र घटनालाई सघाएको आरोप लगाएका छन् ।


अमेरिकी राष्ट्रपति भारत भ्रमणका क्रममा दिल्लीमा रहेका बेला भएको हिंसात्मक प्रदर्शनप्रति राजनीतिक दलका नेताहरुले खेद प्रकट गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले विज्ञप्तिमार्फत् दिल्लीवासीलाई साम्प्रदायिक सद्भाव कायम राख्न र धर्मका आधारमा भारतलाई विभाजित गर्न चाहने तत्वहरुको गलत नियतलाई परास्त गर्न आग्रह गरेकी छिन् । सरकारी पक्षले भने सोमबार भएका हिंसात्मक घटनाहरु राष्ट्रपति ट्रम्पको भ्रमणलाई लक्षित गर्दै सुनियोजित ढंगले गरिएको आरोप लगाएको छ । सोमबार गुजरातको अहमदाबाद ओर्लेर दिल्ली आइपुगेका ट्रम्प मंगलबार साँझ स्वदेश फिर्ने कार्यक्रम छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?