कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनद्वारा हङकङ मामिला प्रमुख बर्खास्त

एजेन्सी

बेइजिङ — चीनले हङकङ र मकाउ मामिला हेर्ने आफ्ना उच्च अधिकारीलाई बर्खास्त गरेको छ । हङकङ र मकाउ मामिला कार्यालय (एचकेएमएओ) का निर्देशक झाङ सियाओमिङलाई हटाएर सिया बाओलङलाई ल्याइएको मानव संसाधन मन्त्रालयले बिहीबार घोषणा गरेको छ । 

चीनद्वारा हङकङ मामिला प्रमुख बर्खास्त

६७ वर्षीय सिया ‘चाइनिज पिपल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्स (सीपीपीसीसी) का पुराना उपाध्यक्ष हुन् । राष्ट्रपति सी चिनफिङ सन् २००३ देखि २००७ सम्म झेजियाङ प्रान्त कम्युनिस्ट पार्टीका सेक्रेटरी रहँदा सिया उनको उप–सेक्रेटरीका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।


प्रमुखबाट हटाइए पनि झाङ एचकेएमएओमै उपनिर्देशक पदमा रहने र कार्यालयका दैनिक गतिविधि हेर्ने मन्त्रालयले उल्लेख गरेको छ । लामो समयदेखि सरकारविरोधी प्रदर्शन भइरहेको चीन नियन्त्रित हङकङमा झाङ पद गुमाउने हालसम्मकै उच्च अधिकारी हुन् । चीनले यसअघि जनवरीमा हङकङ सम्पर्क कार्यालयका प्रमुखलाई पदमुक्त गरेको थियो । शंकास्पद व्यक्तिलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले सात महिनाअघि विधेयक ल्याएदेखि हङकङ अशान्त छ ।


राजनीतिक रूपमा फरक आस्था राख्नेविरुद्ध विधेयक लक्षित हुन सक्ने भन्दै हङकङमा प्रदर्शन सुरु भएको थियो । लगातारको प्रदर्शनपछि हाल विधेयक फिर्ता लिइए पनि थप स्वतन्त्रताको मागसहित लोकतन्त्रवादीको आन्दोलन जारी छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विधेयक फिर्ता भइसकेकाले प्रदर्शनको कुनै औचित्य नभएको बताउँदै आएकी छन् ।


बेइजिङ समर्थित उनले प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै चिनियाँ नेतृत्व असन्तुष्ट रहेको भन्ने समाचार बाहिरिए पनि औपचारिक हस्तक्षेप भने भएको छैन । चीनले अमेरिकालगायतका राष्ट्रले प्रदर्शनलाई समर्थन गरिरहेको आरोप लगाउँदै आएको छ । उसले हङकङको विषय आफ्नो आन्तरिक मामिला भन्दै हस्तक्षेप नगर्न चेतावनी दिए पनि खासै ठोस कदम भने चालेको छैन । केन्द्रबाट हङकङ मामिला हेर्ने प्रमुख परिवर्तनले भने बेइजिङ केही आक्रामक देखिएको छ ।


‘हङकङ मामिला प्रमुखलाई हटाएर सीले बल्ल हस्तक्षेप गरेका छन्,’ हङकङ बाप्टिस्ट विश्वविद्यालय राजनीतिक शास्त्रका प्राध्यापक जाँ पियरे क्बेस्टानले बताए । बेइजिङले घुमाउरो तरिकाले लामो समयदेखि अशान्त हङकङमा इच्छा देखाउनुको अर्थ त्यहाँ थप राजनीतिक दबाब पर्न सक्ने उनी बताउँछन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?