कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आतंकवादसम्बन्धी कानुन कडा बनाउँदै बेलायत

एजेन्सी

लन्डन — बेलायतले आतंकवादसम्बन्धी कानुनलाई थप बलियो बनाउने भएको छ । लन्डनमा आइतबार एक आक्रमणकारीले छुरा प्रहार गरेर तीनजना घाइते बनाएपछि बेलायतले यस्तो घोषणा गरेको हो । सर्वसाधारणमाथि आक्रमण गर्ने सुदेश अम्मान नामका आक्रमणकारीको प्रहरी कारबाहीमा मृत्यु भइसकेको छ ।

आतंकवादसम्बन्धी कानुन कडा बनाउँदै बेलायत

सुदेश आतंकवादसम्बन्धी मुद्दामा आधा कैद भुक्तान गरेर एक साताअघि मात्रै रिहा भएका थिए । आतंकवादसम्बन्धी कागजात राखेको र त्यसलाई वितरण गरेको अभियोगमा सन् २०१८ मा उनलाई ३ वर्ष ४ महिना जेल सजाय तोकिएको थियो ।


कारागार सजाय भुक्तान गर्नेबित्तिकै पुनः आतंकवादी आक्रमणमा संलग्न भएको पाइएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ नियम जारी गर्न लागेका हुन् । अब आतंकवादसम्बन्धी अभियोगमा जेल परेकालाई मुक्त गर्नेबारे कडा प्रक्रिया लागू हुनेछ । आतंकवादसम्बन्धी मुद्दामा सजाय खेपिरहेका अभियुक्तसँग गर्ने व्यवहारमा आधारभूत परिवर्तनबारे घोषणा गरिने प्रधानमन्त्री जोनसनले बताएका छन् ।


‘हामीले यसअघि नै तयारी गरिसकेको कानुनलाई अब घोषणा हुने नियमले कार्यान्वयनमा ल्याउनेछ,’ बेलायती गृहमन्त्री प्रीति पटेललाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । आतंकवादी गतिविधिमा संलग्नलाई समयअगावै जेलबाट निकाल्न अन्त्य गर्नेबारेको नयाँ कानुन ल्याइने उनको भनाइ छ । ‘त्यस्ता व्यक्तिलाई जेलभित्रै राखिनु न्यायसंगत हुन्छ,’ पटेलले भनिन् ।

प्रकाशित : माघ २०, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?