कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टर्की भूकम्पमा २९ को मृत्यु, १४ सय घाइते

एजेन्सी

अंकारा — टर्कीको पूर्वी क्षेत्रमा गएको ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या शनिबार रातिसम्ममा २९ पुगेको छ । स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेटमा गएको भूकम्पका कारण १४ सयभन्दा बढी घाइते भएका छन् ।

टर्की भूकम्पमा २९ को मृत्यु, १४ सय घाइते

एलाजिग र छिमेकी मलात्या प्रान्तमा भूकम्पका कारण भत्किएका घरका भग्नावशेषभित्र पुरिएकाहरुकाे खोजी कार्य भइरहेको स्वास्थ्यमन्त्री फहरेट्टिन कोकाले बताएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उनले बताए । भूकम्प प्रभावित क्षेत्रको मौसम अत्यन्तै चिसो भएकाले प्रभावितका लागि आपत्कालीन कामदार र सुरक्षा फौजले रातारात टेन्ट, बेड र कम्बल बाँडेको छ ।


भूकम्पपछि घरबाहिर बसेका स्थानीयका लागि मस्जिद, विद्यालय, खेलकुद हल र छात्रावासमेत खुला गरिएका छन् । ‘भूकम्पको कम्पन अत्यन्तै डर लाग्दो थियो । त्यसैले हामी तत्काल घरबाहिर भाग्यौं,’ एलाजिग प्रान्तको सिभ्रिस सहरस्थित खेलकुद हलमा सपरिवार बसिररहेका स्थानीय एम्रे गोकरले राज्य सञ्चालित समाचार एजेन्सी एनादोलुसँग बताए ।


भूकम्पको धक्का छिमेकी सिरिया, इरान र लेबनानमा समेत महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु एलाजिग, राजधानी अंकाराबाट करिब ५ सय ६५ किलोमिटर पूर्वमा पर्छ ।


मुख्य भूकम्पपछि ५.४ र ५.१ म्याग्निच्युडसहितका २ सय २८ भन्दा बढी परकम्प गएको टर्कीको प्रकोप तथा आपत्कालीन व्यवस्थापन प्रशासनले जनाएको छ ।


भूकम्पका कारण सिभ्रिसमा कम्तीमा ५ र मलात्यामा २५ भवन ध्वस्त भएको वातावरण र सहरीकरण मन्त्री मुरात कुरुमले बताए । उनका अनुसार अन्य कैयौं संरचना पनि ध्वस्त भएका वा असुरक्षित बनेका छन् ।

प्रकाशित : माघ १२, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?