कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

जेफ बेजोस फोन ह्याक प्रकरणः ‘साउदी युवराज सलमानको संलग्नता’

एजेन्सी

दुबई — अर्बपति व्यापारी जेफ बेजोसको फोन ह्याक प्रकरणमा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको राष्ट्र संघका विज्ञहरुले आरोप लगाएका छन् ।

जेफ बेजोस फोन ह्याक प्रकरणः ‘साउदी युवराज सलमानको संलग्नता’

युवराज सलमानले प्रयोग गर्ने फोनबाट पठाइएको फाइल स्वीकार गरेसँगै अमेजन र ‘द वासिङ्टन पोस्ट’ का मालिक बेजोसको फोन ह्याक भएको विज्ञहरुले बुधबार बताएका हुन् ।


आफूहरुले प्राप्त गरेको सूचनाबारे अमेरिका र अन्य सरोकारवालाले तत्काल अनुसन्धान गर्नुपर्ने उनीहरुको भनाइ छ । उनीहरुका अनुसार साउदी युवराजको ह्वाट्सएप अकाउन्टबाट मे २०१८ मा पठाइएको एमपीफोर भिडियो फाइल प्राप्त गर्ने बित्तिकै बेजोसको फोन ह्याक भएको थियो । ‘हामीले प्राप्त गरेको सूचनाले बेजोसमाथि सुपरिवेक्षण गर्ने काममा साउदी युवराजको सम्भावित संलग्नता रहेको बताउँछ,’ राष्ट्रसंघका स्वतन्त्र विज्ञहरुले बताएका छन् । अमेरिकास्थित साउदी दूतावासले भने आरोपलाई ‘वाहियात’ भन्दै यसबारे विस्तृत अनुसन्धान हुनुपर्ने माग गरेको छ ।


बेजोसको मोबाइल ह्याक भएको केही समयपछि अक्टोबर महिनामा ‘वासिङ्टन पोस्ट’का एक पत्रकार जमाल खसोग्गीको टर्कीस्थित साउदी महावाणिज्य दूतावासमा हत्या भएको थियो । खसोग्गी शक्तिशाली साउदी राजपरिवारका कडा आलोचक थिए । उनको हत्यापछि साउदी सरकार र बेजोसबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ ।


पत्रकार खसोग्जीको हत्याको अनुसन्धान गर्न छोडेर साउदी अरब बेजोसविरुद्ध लागेको राष्ट्र संघका विज्ञहरुले बताएका छन् । ‘खसोग्जीको हत्याबारे अनुसन्धान गर्नुपर्ने बेला साउदी अरबले वासिङ्टन पोस्टका मालिक भएकै कारण बेजोस र अमेजनविरुद्ध अनलाइन अभियान चलाइरहेको थियो ।’ फोन ह्याक भएको विषयमा बेजोसले सार्वजनिक रूपमै बोलेका थिए । उनले त्यसबेला आफ्ना गोप्य तस्बिर र विवाहत्तोर सम्बन्धका मोबाइल सन्देश सार्वजनिक गरिदिने धम्की आएको बताएका थिए ।


राष्ट्र संघका विज्ञहरुले बेजोसले बोक्ने आइफोनको सन् २०१९ मा गरिएको डिजिटल फोरेन्सिक विश्लेषणलाई पुनरावलोकन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । यस विषयमा अनुसन्धान गर्न राष्ट्र संघले स्वतन्त्र विज्ञहरु नियुक्त गरेको थियो ।

प्रकाशित : माघ ८, २०७६ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?