कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्ल्ड इकोनमिक फोरम : जलवायु परिवर्तनको मुद्दा छाडेर अमेरिकी अर्थतन्त्रको प्रशंसा

एजेन्सी

डाभोस — स्विजरल्यान्डमा मंगलबारबाट सुरु भएको वर्ल्ड इकोनमिक फोरमको प्रमुख विषयवस्तु बाहिर गएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको अर्थतन्त्रको प्रशंसा गरेका छन् । शुक्रबार समापन हुने फोरममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको उच्च आर्थिक वृद्धिदरको आफूले नेतृत्व गरेको बताउँदै विश्वलाई अमेरिकामा लगानी गर्न आग्रह गरे पनि यस वर्षको प्रमुख मुद्दा जलवायु परिवर्तनबारे भने केही बोलेनन् । ३० मिनेट लामो सम्बोधनमा ट्रम्पले लगभग सबैजसो समय आफ्नो कार्यकालमा अमेरिकी अर्थतन्त्र सुदृढ भएकोमै जोड दिए । 

वर्ल्ड इकोनमिक फोरम : जलवायु परिवर्तनको मुद्दा छाडेर अमेरिकी अर्थतन्त्रको प्रशंसा

स्विजरल्यान्डमा भेला भएका विश्वका उच्च व्यापारिक र राजनीतिक नेतृत्वले यस वर्षको भेलामा जलवायु परिवर्तनको विषयलाई प्रमुख मुद्दा बनाएका छन् । ‘विश्व बजारमा अमेरिकी फिर्तीबारे मैले तपाईंहरूलाई भनेको थिएँ,’ दर्शकदीर्घामा बसेका मानिसलाई सन् २०१८ मा बोलेको कुरा स्मरण गराउँदै ट्रम्पले भने, ‘अमेरिका अहिले विश्वले कहिले नदेखेको आर्थिक सम्पन्नताको मध्यबिन्दुमा रहेको आज म गर्वका साथ घोषणा गर्छु ।’


मंगलबारबाटै अमेरिकी माथिल्लो सदन सिनेटमा सुरु हुने ऐतिहासिक महाअभियोग अनुसन्धानबारे केही उल्लेख नगरी ट्रम्पले सम्बोधन गरे पनि डाभोसमा सुरु भएको वर्ल्ड इकोनमिक फोरमको समाचार सञ्चालन गर्न पुगेका पत्रकारको जवाफबाट भने उनी बच्न सकेनन् । ‘यो लाजमर्दो छ,’ महाअभियोग प्रक्रियालाई उद्धृत गर्दै ट्रम्पले भने ।


महाभियोग अनुसन्धानकै बीच ट्रम्प दुईदिने डाभोस भ्रमणमा पुगेका हुन् । डाभोसमा ट्रम्पले सुदृढ अर्थतन्त्रबारे बोलेका केही दाबी भने सही रहेको अमेरिकी अर्थविद् केन्नेथ रोगोफले बताएका छन् । यद्यपि ट्रम्पले ह्वाइटहाउसको नेतृत्व लिँदा पनि अमेरिकी अर्थतन्त्र खराब नरहेको उनले जिकिर गरेका छन् । ‘पछिल्ला १० वर्ष अमेरिकी अर्थतन्त्र एकदमै राम्रो छ, जसमा ट्रम्प कार्यकालको तीन वर्ष पनि पर्छ,’ उनले भने, ‘आलोचना नहोस् भनेर जलवायु परिवर्तनबारे ट्रम्पले नबोलेको हुन सक्छ ।’


फोरमको यस वर्षको मुख्य विषय नै वातावरणसम्बन्धी मुद्दा हो र ट्रम्पको मरिन वान हेलिकप्टर अवतरण भएको डाभोसस्थित अवतरण क्षेत्रमा पनि हिउँले ‘एक्ट अन क्लाइमेट’ लेखिएको थियो ।


विश्वका शक्तिशाली राष्ट्रहरूले जलवायु परिवर्तनसँग लड्नका लागि भनेर सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा गरेको सम्झौताबाट गत वर्ष ट्रम्पले एकतर्फी रूपमा हात झिकिसकेका छन् । सो सम्झौतामा जलवायु परिवर्तन गराउने प्रमुख कारक तातो ग्यासको उत्सर्जन रोक्नका लागि लगभग २ सय राष्ट्रले लक्ष्य तय गरेका थिए । ट्रम्पले भने पेरिस सम्झौतालाई अमेरिकी अर्थतन्त्रका लागि अनावश्यक बोझ भएको तर्क दिँदै हात झिकेका थिए । अमेरिका बाहिरिएपछि सो सम्झौता कार्यान्वयनका लागि अनेक चुनौतीको सामना गर्नु परिरहेको वातावरणविद्ले बताउने गरेका छन् ।


ट्रम्पले वर्ल्ड इकोनमिक फोरमको सक्रियतामा विश्वभर १० खर्ब रूख रोप्ने कार्यक्रममा अमेरिका सहभागी हुने सम्बोधनका क्रममा बताउँदा दर्शकदीर्घामा बसेकाहरू मौन रहे । कसैले पनि उनको घोषणामा ताली बजाएनन् ।


यसैबीच, वर्ल्ड इकोनमिक फोरम चलिरहँदा विश्वका वातावरणसम्बन्धी अभियन्ताहरूले पनि आवाज उठाइरहेका छन् । ट्रम्प आलोचनामा परेकी वातावरणसम्बन्धी अभियन्ता ग्रेटा थन्बर्गले विश्वका राजनीतिक र व्यापारिक नेताले ‘ग्लोबल वार्मिङ’ को चुनौतीलाई गम्भीरताका साथ नलिएको आरोप लगाएकी छन् । ‘रूख रोप्नु वास्तवमै राम्रो हो तर यो पर्याप्त छैन,’ १७ वर्षीया किशोरी थनवर्गले बताइन् ।


नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिगलिट्जले पनि जलवायु परिवर्तनसम्बन्धी विषयमा ट्रम्पले केही नबोलेको भन्दै आलोचना गरेका छन् । ‘रूख रोप्न सहयोग गर्छु भने पनि जलवायु परिवर्तनमा केही नबोलका कारण यसको अर्थ छैन,’ उनले भने ।

प्रकाशित : माघ ८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?