कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाली गृहयुद्ध : ‘बेपत्ता सबैको मृत्यु’

एजेन्सी

कोलोम्बो — श्रीलंकाली राष्ट्रपति गोताबय राजापाक्षेले देशको गृहयुद्धमा बेपत्ता सबैको मृत्यु भएको घोषणा गरेका छन् । तालिम विद्रोहलाई अन्त्य गरेको एक दशकपछि गृहयुद्धका समयमा बेपत्ता सबैको मृत्यु भएको सरकारले पहिलो पटक औपचारिक रूपमै स्वीकार गरेको हो । 

श्रीलंकाली गृहयुद्ध : ‘बेपत्ता सबैको मृत्यु’

३० वर्ष बढी चलेको श्रीलंकाली गृहयुद्ध सन् २००९ मा अन्त्य भएको थियो । गृहयुद्धका बेला २३ हजार ५ सय बढी मानिस बेपत्ता भएको सरकारी तथ्यांक छ । विखण्डनवादी तामिल विद्रोहीलाई दबाउन महत्त्वपूर्ण सैन्य भूमिका निर्वाह गरेका वर्तमान राष्ट्रपति राजापाक्षेले राष्ट्र संघका एक प्रतिनिधिसँगको भेटमा बेपत्ता सबैलाई मृत्यु प्रमाणपत्र दिनका लागि कदम चालिने बताएका छन् ।


‘बेपत्ता मानिससम्बन्धी मुद्दालाई सम्बोधन गर्नेबारेको योजना राष्ट्रपति राजापाक्षेले बताउनुभयो,’ राष्ट्र संघका आवासीय प्रतिनिधि हाना सिंगरसँगको भेटबारे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बेपत्ता मानिस वास्वतमै मरिसके ।’ बेपत्ता सूचीमा रहेकामध्ये ५ हजार सरकारी सुरक्षा फौजका सदस्यसमेत छन् । अधिकांश बेपत्ता मे २००९ मा सरकारी कारबाहीमा ध्वस्त भएको तामिल विद्रोही समूह (लिट्टे) ले अपहरण गरेकाहरू रहेकोले उनीहरू मारिएको निष्कर्षमा सरकार पुगेको विज्ञप्तिमा भनिएको छ । ‘बेपत्ता पारिएकाको परिवारले पनि यसबारे बताएका छन् । यद्यपि उनीहरूलाई के गरियो भन्नेबारे परिवारका सदस्य पनि जानकार छैनन् र बेपत्ता भएको दाबी गरिरहेका छन्,’ राष्ट्रपति राजापाक्षेले राष्ट्रसंघीय प्रतिनिधिसँग बताए ।


तामिल युद्ध र मार्क्सवादी विद्रोहपछि कतै नभेटिएका मानिसबारे अनुसन्धानका लागि राजापाक्षेअघिको सरकारले सन् २०१८ मा बेपत्ता व्यक्तिका लागि छुट्टै कार्यालयको स्थापना गरेको थियो । श्रीलंकाली गृहयुद्धको अन्त्यतिर सरकारले कम्तीमा ४० हजार तामिल नागरिकको हत्या गरेको अन्तर्राष्ट्रिय अधिकारवादी समूहहरूले दाबी गर्दै आएका छन् ।

प्रकाशित : माघ ८, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?