कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्भया काण्ड : दाेषीकाे मृत्युदण्डको मिति सर्‍यो

एजेन्सी

नयाँदिल्ली — दिल्ली सामूहिक बलात्कार काण्डका दोषी ठहर गरिएका चार जनालाई दिइने मृत्युदण्डको मिति सरेको छ ।भारतको एउटा अदालतले दिएको आदेशअनुसार अब ती दोषीलाई फेब्रुअरी १ मा मृत्युदण्ड दिइनेछ । यसअघि अदालतले जनवरी २२ मा मृत्युदण्ड दिन भनेको थियो ।

भारतीय कानुनअनुसार मृत्युदण्ड पाएका अभियुक्तले राष्ट्रपतिसमक्ष याचिका गर्न सक्छन् । त्यहीअनुरुप चारमध्ये एकको दया याचिका राष्ट्रपतिसामु विचाराधीन रहेकाले २२ जनवरीमा उनीहरुलाई मृत्युदण्ड दिन सम्भव नभएको दिल्ली सरकारले अदालतसमक्ष बताएको थियो ।


‘निर्भया’ काण्ड भनेर परिचित यस बलात्कार घटनामा सुरुमा ६ जनाविरुद्ध मुद्दा चलाइएको थियो । सन् २०१२ को सो घटना राजधानी दिल्लीस्थित एउटा गुडिरहेको बसमा भएको थियो । बसमा सवार विद्यार्थीलाई ती अभियुक्तले सामूहिक बलात्कारपछि हत्या गरेका थिए । उनको लगभग १५ दिनपछि उपचारकै क्रममा सिंगापुरमा मृत्यु भएको थियो । बलात्कारको यस घटनापछि भारतभर प्रदर्शन भएको थियो भने विश्वभरका सञ्चारमाध्यमले यस घटनालाई प्राथमिकता दिएका थिए ।


अभियुक्त ६ जनामध्ये एकलाई किशोरकिशोरीसम्बन्धी कानुनअनुसार हिरासत केन्द्रमा राखिएको थियो । तीन वर्ष त्यहाँ बसेर उक्त व्यक्ति रिहा भइसकेको छ भने अर्का एक अभियुक्तले जेलमै आत्महत्या गरेको थियो । बाँकी चार जनालाई भने मृत्युदण्डको फैसला भएको थियो ।


यद्यपि मृत्युदण्डको समय परिवर्तन पटकपटक परिवर्तन भएपछि पीडितका आफन्तहरुले दिक्क लागिसकेको बताएका छन् । ‘हाम्री छोरीलाई न्याय दिलाउन हामीले सात वर्ष संघर्ष गरेका छौं । दोषीहरुले मृत्युदण्डको मिति ढिला गर्न हदैसम्मको उपाय लगाइरहेका छन् । उनीहरुलाई नझुन्ड्याइएसम्म हामी सन्तुष्ट हुन सक्दैनौं,’ शुक्रबारको फैसलापछि पीडित विद्यार्थीकी आमाले सञ्चारकर्मीसँग बताइन् ।


फेब्रुअरी १ मा पनि उनीहरुलाई मृत्युदण्ड दिइनेछ भन्नेमा आफूहरु ढुक्क नभएको पीडित विद्यार्थीको अभिभावकको आशंका छ ।

प्रकाशित : माघ ३, २०७६ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?