कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परमाणु परीक्षण फेरि थाल्ने उत्तर कोरियाको चेतावनी 

एजेन्सीहरु

प्योङयाङ — उत्तर कोरियाली नेता किम जोङ–उनले आफ्नो मुलुकले फेरि परमाणु र अन्तर महाद्विपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण थाल्ने बुधबार चेतावनी दिएका छन् ।

परमाणु परीक्षण फेरि थाल्ने उत्तर कोरियाको चेतावनी 

उनले अमेरिकासँग जारी वार्ताका क्रममा परमाणु र लामो दूरीको क्षेप्यास्त्र परीक्षण स्थगन गरेपछि वासिङ्टनको रबैयाले फेरि त्यो कार्य गर्न उस्काएको भन्दै उक्त चेतावनी दिएका हुन् । बीबीसीका अनुसार उनले आफ्नो मुलुकले शीघ्र ‘एउटा नयाँ रणनीतिक हतियार’ विश्वसमक्ष पेस गर्नेसमेत जनाएका छन् ।


‘वार्ताका लागि ढोका खुला राखेका छौँ,’ उनले भने, ‘तर उत्तर कोरियाले कुनै पनि परीक्षण सुचारु गर्ने/नगर्ने कुरा अमेरिकी भूमिकामा निर्भर रहनेछ ।’ विगत केही वर्षयता प्योङयाङले आफ्नो परमाणु कार्यक्रम स्थगन गरेको छ । तर, उत्तर कोरियाले परमाणु कार्यक्रम पूर्ण रूपमा समाप्त नगरेसम्म उसमाथि जारी प्रतिबन्ध हटाउन अमेरिकाले आनाकानी गर्दै आएको छ । विश्लेषकहरुले किमको यो भनाइ अमेरिकामाथि दबाब दिने उद्देश्यले आएको हुन सक्ने टिप्पणी गरेका छन् ।


यसै क्रममा सन् २०१९ को अन्त्यमा उत्तरले धेरै साना हतियारको परीक्षण गरेको थियो । ती परीक्षणहरु अमेरिकामाथि प्रतिबन्ध हटाउनका लागि दबाब स्वरूप गरिएको विश्लेषकहरुको भनाइ छ । तर, स्वघोषित मोरेटोरियम अन्तर महाद्विपीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) अमेरिकी मुख्य भूमिसम्म पुग्न सक्ने खालका परीक्षण हो । यो वासिङ्टनसँगको वार्ताको आधारमध्ये एउटा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् २०१७ यता प्योङयाङले यस प्रकारको कुनै परीक्षण गरेको छैन ।


नेता किमको पछिल्लो टिप्पणी एउटा असामान्य घटनाका रूपमा मानिएको प्योङयाङमा पार्टी नेताहरुको चार दिवसीय महत्त्वपूर्ण बैठकपछि सार्वजनिक भएको छ । यसलाई विश्वजगत्ले अर्थपूर्ण रूपमा लिएको छ ।


जनवरी १ मा किमको भनाइलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले दक्षिण कोरियासँग अमेरिकाले संयुक्त सैन्य अभ्यास जारी राखेर आफ्नो प्रतिबन्धलाई वासिङ्टनले बढाएकाले उत्तर कोरिया अब स्वघोषित रोकका लागि बाध्य नरहेको जनाएको छ । ‘यस प्रकारको गतिविधिले उत्तर कोरिया आफ्नो एकतर्फी प्रतिबद्धता लागू गर्न बाध्य हुनुपर्ने कुनै आधार छैन,’ कोरियाली समाचार संस्था केसीएनएले उल्लेख गरेको छ ।


आफ्नो भाषणमा नेता किमले चेतावनी दिँदै भनेका छन्, ‘विश्वले निकट भविष्यमा उत्तर कोरियाबाट एउटा नयाँ रणनीतिक हतियार हेर्न पाउनेछ । ’ उक्त रणनीतिक हतियारबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।


बीबीसीका अनुसार पार्टी बैठकमा नेता किमको टिप्पणीले यो स्वीकार गर्छ कि प्रतिबन्धले अर्थ व्यवस्थालाई प्रभावित गरेको कुरो एउटा सत्य भए पनि यसलाई शीघ्र माथि उकास्न नसकिने सम्भावनालाई पनि छर्लङ्ग पारेको छ । तर नेता किमले आफ्नो चेतावनीमा ‘उत्तर कोरियालीहरु आफ्नो बेल्टलाई बलियो बनाउनतिर लागिपर्ने’ भन्न भ्याएका छन् ।’ उत्तर कोरियाली नेताले हालैका महिनाहरुमा जस्तो आक्रामक प्रतिक्रिया दिनुको साटो पर्यवेक्षकहरुका लागि ‘टोनिङ–डाउन’ का रूपमा डोनाल्ड ट्रम्प वा दक्षिण कोरियाको नाम उल्लेख नगरीकनै आफ्नो पछिल्लो चेतावनी जारी गरेका छन् ।


उत्तर कोरियाका विश्लेषण साइट ‘एनके न्युज’ का च्याड ओ’ क्यारोलले भनेका छन्, ‘अप्रिल २०१८ मा लामो दूरीको क्षेप्यास्त्र र मोटाटोरियममाथि परमाणु परीक्षणहरु कम गर्नका लागि यो टिप्पणी महत्त्वपूर्ण छ । यस प्रकारको परीक्षण साता वा महिनामै हुन सक्ने भए पनि त्यो अमेरिकी कदमका लागि आकस्मिक हुन सक्ने उनले बताए । नेता किमको पछिल्लो सार्वजनिक टिप्पणीहरु नव वर्षको अवसरमा उनले दिने सामान्य भाषणका रूपमा मात्र रहेको प्रतिक्रियासमेत केही विश्लेषकहरुको छ ।

प्रकाशित : पुस १६, २०७६ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?