कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्मा भन्छन्,'नेपालसँग सहकार्य गर्ने धेरै ठाउँ छन्'

गोविन्द पोखरेल

काठमाडौँ — सन् १९८४ मा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्मासँग अन्तरिक्ष अनुभवबारे प्रश्‍न सोधेकी थिइन् । उक्त क्षण यसकारण पनि खास थियो कि प्रधानमन्त्री कार्यालयबाट गान्धीले अन्तरिक्षमा रहेका शर्मालाई अन्तरिक्ष यात्राको अनुभवबारे बताउन प्रश्‍न गरेकी थिइन् । 

भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्मा भन्छन्,'नेपालसँग सहकार्य गर्ने धेरै ठाउँ छन्'

गान्धीले अन्तरिक्षबाट भारत कस्तो देख्छ भन्दा शर्माले गान्धीलाई 'सारे जहाँ से अच्छा' जवाफ दिएका थिए । उक्त जवाफलाई लिएर भारतीयहरु अहिले पनि गर्व गर्छन् । ७१ वर्षीय शर्माले अन्तरिक्ष यात्रा गरेको ३६ वर्ष बितिसकेको छ ।

शनिबार यिनै भारतका एक मात्र अन्तरिक्षयात्री शर्मालाई पुनः त्यही प्रश्‍न सोधियो । उनले जवाफ दिँदै भारतीय उपमहाद्विप क्षेत्र अन्तरिक्षबाट हेर्दा एकदमै राम्रो देखिने बताए । उनले त्यसबेला भारत मात्रै नभएर नेपाल,भुटान लगायतका मुलुकहरुको प्राकृतिक सौन्दर्यताले सबैलाई लोभ्याउने बताए । उनले अन्तरिक्षबाट उपमहाद्विप क्षेत्र पुरै फरक देखिने बताए ।

अन्तरिक्षयानबाट पृथ्वीलाई फन्को लगाउने क्रममा समुद्रको नीलो रंग,त्यसपछि देखिने जमिनको भाग,डेगन प्लेट्यूको रंग,राजस्थानको रंग र नेपालको हिमालयको दृश्य एकदमै मनमोहक रहेको स्मरण गरे । सबै चीजहरु एउटा ठूलो भूगोलमा देखिने भएपछि स्वतःराम्रो हुने उनले बताए । यस क्षेत्रका खोला,तटीय क्षेत्र,हिमाल,नदी,जंगललगायत प्राकृतिक भू-वनोवट अन्तरिक्षबाट हेर्दा बेग्लै किसिमको अनुभूति मिल्ने शर्मा बताउँछन् ।

भारतका एक मात्र र पहिलो अन्तरिक्षयात्री राकेश शर्माले शनिबार नेपाली विद्यार्थीहरुसँग अनलाइन मार्फत अन्तरक्रिया गरे । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आयोजना गरेको भर्च्युअल कार्यक्रममा उनी खुला रुपमा प्रस्तुत भए ।

सन् १९४९ मा जन्मिएका राकेश शर्माले गर्ल्स स्कुलबाट आफ्नो औपचारिक शिक्षा सुरु गरे । त्यसबेला पुरुषहरुलाई कक्षा ४ सम्म अध्ययनका लागि गर्ल्स स्कुलमा भर्ना दिइने भएकाले उनले त्यहाँ अध्ययन गरे । आफू विद्यालयमा कहिल्यै उत्कृष्ट छात्र नभएको उनले सुनाए ।

'म पढाइमा औसत थिएँ,गणित कमजोर थियो,' उनले बाल्यकाल सम्झदै भने,'सपनाहरु देख्थेँ । ५ वर्षको उमेरमा मैले फाइटर एयर प्लेन देखेपछि ममा पाइलट बन्ने सपना जाग्यो । निरन्तरको प्रयासले म सफल भएँ ।' उनी भारतीय एयर फोर्समा सन् १९७० मा फाइटर पाइलट बने । अन्तरिक्षयात्री हुँदै विङ कमान्डरबाट एयर फोर्सबाट शर्माले अवकाश पाए ।

सन् १९८०मा तत्कालीन सोभियत युनियन र भारतको भारतीय अन्तरिक्ष संस्था(इस्रो)बीच इन्टर कसमोस प्रोगामसम्बन्धी सम्झौता भयो । सम्झौता अनुसार भारत र रुसबीच संयुक्त रुपमा अन्तरिक्षको अध्ययन र अनुसन्धानका लागि अन्तरिक्षयात्रीहरु लैजाने उल्लेख थियो । त्यसका लागि शर्मा र रविस मल्होत्रा तालिमका लागि छनोट भए ।

त्यसबेला हालको जस्तो अटोमेटिक सिस्टमहरु थिएनन् । शर्माले भने,'अहिले पो स्पेस फ्लाइटहरु अटोमेटेड हुन थालेका छन् । मेरो पालामा अन्तरिक्षयात्री हुन पाइलट हुनुपर्ने अनिवार्य थियो । पाइलटको तालिम लिनुपर्थ्यो अहिले त्यस्तो छैन ।'

शर्मा अनुसार अन्तरिक्षयात्रीका लागि शारीरिक रुपमा स्वस्थ्य, जिओ-फोर्सहरुसँग थेग्न सक्‍ने लगायत विभिन्न किसिमबाट शरीरलाई फिट बनाउनुपर्ने आवश्यकता हुन्छ ।

अन्तरिक्षमा शून्य गुरुत्व हुँदा शरीर पनि त्यही अनुरुपमा फिट बनाउने किसिमका तालिमहरु चाहिन्छ । उनले भने,'ग्र्याभिटी नभएको नभएको ठाउँमा लामो समयसम्म काम गर्नुपर्ने भएकाले शारीरिक रुपमा स्वस्थ्य हुनुपर्थ्यो । जिरो ग्र्याभिटी हुँदा हाम्रो शरीर जताततै गएको हुन्छ । त्यसलाई कसरी स्थिर राख्नुपर्ने सम्बन्धी तालिम हुन्थ्यो । त्यसका लागि हामी पूर्ण रुपमा तयारी हुनुपर्थ्यो । एउटा प्रोसिड्युर हुन्थ्यो । हरेक क्रिया र प्रतिक्रिया लागि कति बल लगाउने भन्ने पनि तालिम हुन्छ ।'

अन्तरिक्षमा जाने यात्रीहरुलाई लन्च हुनुभन्दा अघि पनि उनीहरुको फिजिकल फिटनेश जाँचिन्छ । स्पेसमा हुँदा धेरै खालको परीक्षणको आवश्यकता हुन्छ । शरीरका सबै सूचकहरु स्वस्थ्य र राम्रो देखिएपछि मात्रै जान पाइन्छ । अन्तरिक्षमा 'स्पेस सिक्नेस' को समस्या देखिने जोखिम पनि उत्तिकै हुन्छ । त्यसबाट कसरी बँच्ने भन्ने किसिमका तालिमहरु पनि आवश्यक पर्ने शर्माले बताए ।

भारतीय एयर फोर्सका पूर्व विङ कमान्डर समेत रहेका रकेशलाई रकेट र फाइटर जाहाज उडाउँदा के फरक हुन्छ भन्ने प्रश्नमा धेरै फरक हुने बताए । उनले भने,'फाइटर आफ्नो हातमा कन्ट्रोल हुन्छ । स्पेसमा हुँदा कम्प्युटरले कन्ट्रोल गरेको हुन्छ । कम्प्युटरमा हुँदा त्रुटी कम हुन्छ तर फाइटर प्लेन चलाउँदा सबै रिस्क व्यक्ति स्वयंममा हुन्छ । '

'अब जो कोही अन्तरिक्षयात्री बन्‍न सक्छन्'

२० औं शताब्दीमा अन्तरिक्षयात्री हुनका लागि पाइलट तालिम अनिवार्य भएपनि २१ औं शताब्दीमा जो कोही अन्तरिक्षयात्री हुन सक्ने शर्माले बताए । नेपाली विद्यार्थी तथा युवाहरु राखेको जिज्ञासमा उनले स्पेस फ्लाइट अटोमोटेड हुने भएकाले भविष्यमा जो पनि अन्तरिक्षयात्री हुन सक्ने बताए । यसका लागि कुनै विशेष क्षेत्रमा दक्षता भए पुग्छ ।

पृथ्वीभन्दा बाहिर मानव बस्ती बसाल्ने योजनाहरु आइरहेको उल्लेख गर्दै त्यसका लागि चाहिने अध्ययन र अनुसन्धानका आवश्यक विधाका मानिसहरु कस्मोनट हुन सक्ने शर्माको भनाइ छ ।

अन्तरिक्ष यात्रा र अनुसन्धान मानव हितका लागि हुनुपर्ने शर्माको भनाइ छ । अन्तरिक्ष कार्यक्रमहरु कुनै निश्चित मिसन र उद्देश्का लागि भएपनि भारतीय अन्तरिक्ष कार्यक्रमहरु सामाजिक र आर्थिक हितका लागि केन्द्रीत भएको बताए । उनले अन्तरिक्ष कार्यक्रमहरु मानिसको जीवनस्तरका सुधारका लागि हुनुपर्ने बताए । उनले भारत दक्षिण एसियाली क्षेत्रका मुलुकहरुसँग अन्तरिक्ष कार्यक्रममा सहकार्य गर्न इच्छुक समेत भएको बताए ।

नेपाल र भारतबीच अन्तरिक्षमा काम गर्ने धेरै ठाउँहरु छन्

भारतको अशोक चक्र र तत्कालीन सोभियत युनियनको 'हिरो अफ सोभियत युनियन' अवार्डबाट सम्मानित शर्माले नेपाल र भारतबीच अन्तरिक्षका क्षेत्रमा काम गर्ने धेरै क्षेत्रहरु भएको बताए । भारत नेपाल लगायत अन्य मुलुकहरुसँग शान्तिपूर्ण कार्यका लागि अन्तरिक्षको क्षेत्रमा काम गर्न इच्छुक रहेको उनले बताए ।

क्षेत्रीय हिसाबले अन्तरिक्ष सम्बन्धीको कार्यक्रमहरु संयुक्त रुपमा गर्नुपर्ने उनले औंल्याएका छन् । अन्तरिक्षको अनुसन्धान प्रतिस्पर्धामा भन्दा पनि सहकार्यमा हुनुपर्ने उनले जोड दिएका छन् ।

सन् १९८४ को अप्रिल ३ तारिखमा सोयूज टी- ११ मार्फत शर्मासहित रुसी अन्तरिक्ष यात्रीहरु युरी म्यालिसेभ र जेनाडी स्ट्रेकालोभले अन्तरिक्ष यात्रा गरेका थिए । शर्माले ७ दिन २१ घन्टा ४० मिनेट अन्तरिक्षमा बिताएका छन् । त्यहाँ उनले भारतीय वैज्ञानिकहरुका लागि लाइफ साइन्सेस र मेटेरियल्स साइन्सेससम्बन्धी करिब ४ दर्जन जति ल्याब टेस्ट गरेका थिए ।

अन्तरिक्षमा रहँदा उनले गरेको योगा चर्चित थियो । स्पेस सिक्नेसबाट बच्नका लागि उनले योगा गरेका थिए भने उनीसँगै गएका रुसी अन्तरिक्ष यात्रीहरुले भने तालिममा दिइएको निर्देशनअनुसारको प्रोटोकल्स अपनाएका थिए । शर्मा भन्छन्,'संयोगवस भनौं या अरु केही हामी कसैलाई पनि स्पेस सिक्नेस भएन । '

शर्मासँगै अन्तरिक्षमा गएका युरी र जेनाडीको केही वर्षअघि निधन भएको छ ।

अन्तरिक्षको क्षेत्रमा भारतले धेरै फड्को हानिसकेको छ । भारतले हाल चन्द्रमा,मंगल ग्रहको अनुसन्धानमा उपलब्धी हासिल गरेपनि राकेश भारतका एकमात्र अन्तरिक्षयात्री हुन् । त्यी भएर उनी भारतमा मात्रै नभएर दक्षिण एसियामा उदाहरणीय बनेका छन् । उनको योगदानलाई कदर गर्दै बायोपिक बलिउड चलचित्र निर्माण हुने तयारीमा छ ।

शर्मासँग अनलाइन मार्फत प्रत्यक्ष रुपमा सवाल जवाफको संयोजन नासोका अध्यक्ष सुरेश भट्टराईले गरेका थिए । उनीसँगको प्रत्यक्ष संवादमा भारत,नेपाल लगायतका मुलुकहरुबाट सयौं युवाहरुको उपस्थिती थियो ।

प्रकाशित : मंसिर १३, २०७७ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?