पहिलो पटक प्राणीशास्त्र सम्मेलन हुँदै- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो पटक प्राणीशास्त्र सम्मेलन हुँदै

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपालमा पहिलो पटक राष्ट्रियस्तरको प्राणीशास्त्र सम्मेलन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले ५५औं स्थापना दिवसको अवसर पारेर यही मंसिर १३ देखि १५ गतेसम्म पहिलो पटक प्राणीशास्त्र सम्मेलन गर्न लागेको हो ।

अनलाइन मार्फत हुने यो सम्मेलनमा प्राणीशास्त्र क्षेत्रसँग सम्बन्धित विभिन्न ५ वटा विधामा विज्ञहरुले प्रस्तुति दिने विभागका प्रमुख एवं प्राध्यापक डाक्टर तेजबहादुर थापाले बताए ।

नेपालसहित विभिन्न देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको उपस्थित हुने उक्त सम्मेलनमा नेपालको जैविक विविधता, संरक्षणका प्रयास, वन्यजन्तु र पर्यावरणसँग सम्बन्धित रोग, जलवायु परिवर्तन, प्राणीशास्त्र र मानवबीचको सम्बन्धको बारेमा सम्मेलनमा प्रस्तुति दिइने प्राध्यापक थापाले जानकारी दिए ।

सम्मेलनबाट नेपालको प्राणी स्रोतको क्षेत्रमा महत्वपूर्ण सहयोग र नेपालको प्राणीशास्त्रको क्षेत्रमा रोजगारीका अवसर तथा विषयहरुमा सहयोग हुन सक्ने विश्वास आयोजकले लिएको छ ।

वैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञ, प्राध्यापक तथा विद्यार्थीहरुको अनुसन्धानात्मक रिपोर्टको प्रस्तुतिकरण हुने सम्मेलनमा करिब १५० वटा अनुसन्धानात्मक पेपरहरु प्रस्तुत हुनेछन् ।

सम्मेलनमा विश्व वन्युजन्तु कोषका पूर्व प्रमुख वैज्ञानिक डा. इरिक डिर्नस्टिन,चाइनिज एकेडेमी अफ साइन्सेसका प्राध्यापक डाक्टर फूवेन वे, आईयूसीएनका पूर्व प्रमुख वैज्ञानिक डाक्टर जेफेरि म्याकनि‍ली, यूनिभर्सिटी अफ लन्डनका प्राध्यापक डाक्टर रिचार्ड कक र विश्व वातवरणीय कार्यक्रम (यूनेप) जैविक विविधता र जलवायू विभागकी प्रमुख डाक्टर भ्यालरी क्यपोसले सम्बोधन गर्ने प्राध्यापक थापाले बताए ।

प्रकाशित : मंसिर २, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्

विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट आवश्यक: मन्त्री भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा इकाईको आवश्यकता रहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताए । त्यसका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडी बढाएको बताए ।

यस्तै देशभित्र सञ्चालित कतिपय विमानस्थलहरु दक्षिण र उत्तरतर्फको सीमाना नजिक रहेको र त्यस्ता विमानस्थल बढि संवेदनशिल हुने भएकाले पनि विमानस्थल सुरक्षाको जिम्मेवारी दिनेगरी छुट्टै सुरक्षा युनिटको अवधारणालाई अगाडि ल्याउनुपर्ने बताए ।

नेपालमा विमानस्थलको संख्या बढ्दै गएको र उडान संख्या पनि बढ्दै जाने भएकाले देशभरका विमानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर भएपनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराईले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० सुरक्षाकर्मी क्षमताको विमानस्थल सुरक्षा ब्यारेक निर्माण सम्पन्न भई मंगलबार समुद्घाटन गरिएको हो ।

प्रकाशित : मंसिर २, २०७७ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×