पृथ्वी आकारको अर्को ग्रह- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वी आकारको अर्को ग्रह

पत्ता लगाउने टोलीमा नेपाली युवा पनि
गोविन्द पोखरेल

काठमाडौँ — खगोलशास्त्रका एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पृथ्वी आकारको ग्रह पत्ता लगाएको छ । अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका २८ वर्षीय नेपाली अनुसन्धानकर्ता प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएको हो । समूहमा मुख्य भूमिका निरौलाले खेलेका हुन् । उनी काठमाडौं मैतीदेवीका हुन् ।


सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न निरौलासहित अमेरिका, बेलायत, बेल्जियम र स्विट्जरल्यान्ड लगायत मुलुकका २८ जना अनुसन्धानकर्ताहरूको टोली खटिएको थियो । उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको छ । यो ग्रहलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले समेत मान्यता दिएको छ । निरौलाले नयाँ ग्रहको खोज र सौर्यमण्डल बाहिरका ग्रहहरूको वायुमण्डल र विशेषताहरूको अध्ययन गर्दै आएका छन् । उनका अनुसार यो ग्रह स्पेकुलोस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो । यस ग्रहको नाम ‘के२–३१५–बी’ राखिएको छ । के२–३१५ नामक ताराको वरिपरि घुम्ने भएकाले यसको नाम के२–३१५–बी राखिएको कान्तिपुरसँग टेलिफोन सम्पर्कमा आएका निरौलाले बताए ।

उनका अनुसार पृथ्वीबाट १ सय ८५ प्रकाश वर्ष टाढा रहेको यो ग्रहले आफ्नो तारालाई प्रत्येक ३ दशमलव १४ दिनमा परिक्रमा गर्छ । गणितमा पाईको मान ३.१४ हुने भएकाले यो ग्रहलाई पाई ग्रह पनि भनिएको छ । यसको गति ८१ किलोमिटर प्रतिसेकेन्ड रहेको छ ।

अनुसन्धानले यो ग्रहको सतही तापक्रम अत्यधिक रहेको जनाएको छ । ग्रहको सतही तापक्रम १८५ डिग्री सेल्सियस रहेकाले यसमा जीवनको सम्भावना नरहेको उनले बताए । तारा नजिक भएकाले यो ग्रहको वायुमण्डल धेरै नै तातिँदा ग्रहभित्र ग्यास अडिन नपाउने र वायुमण्डल बन्न नसक्ने सम्भावना उनले औंल्याए । ग्रहको वायुमण्डलसम्बन्धी अनुसन्धान हाल नगरिए पनि अनुमान लगाइएको उनको भनाइ छ । ‘वैज्ञानिकहरूलाई सबैभन्दा धेरै पिरोल्ने प्रश्न भनेको जीवन पृथ्वीमा मात्रै सम्भव छ भन्ने हो । हाम्रो काम भनेकै ग्रहहरूको खोज हो,’ उनले भने । ‘अहिले पत्ता लगाएको ग्रह बस्न लायकको थियो भने के हुन्थ्यो ? ग्रहहरू खोज्नु भनेको जीवन छ कि छैन भनेर हो । अनि त्यसपश्चात् अध्ययन गर्नॅ नै हो,’ उनले भने ।

सन् २०१७ मा नासाको के२ मिसनअन्तर्गत केप्लर टेलिस्कोपबाट लिइएको तथ्यांकलाई आधार मानेर यो ग्रहको खोजी गरिएको थियो । उक्त तथ्यांकलाई पुनः पुष्टि गर्न जमिनमा रहेका स्पेकुलस टेलिस्कोप नेटवर्कको प्रयोग गरिएको थियो । स्पेकुलस टेलिस्कोपको ६ वटा स्टेसन छन् । तीमध्ये ४ वटा स्टेसन चिलीमा र बाँकी स्पेन र मेक्सिकोमा छन् ।

हरेक राति सौर्यमण्डलभन्दा बाहिरका ताराको वरिपरि घुम्ने ग्रहहरूको ग्रहण (छाया) को खोजी गरेर त्यसैलाई आधार मानी वैज्ञानिकहरू ग्रह पत्ता लगाउँछन् । उनका अनुसार सानो तारा वरिपरि घुम्ने ग्रहहरूको वायुमण्डल अध्ययन गर्न सजिलो हुने भएकाले स्पेकुलसलाई त्यस्ता ग्रहहरूको खोजीमा प्रयोग गरिन्छ । सौर्यमण्डल बाहिरका ग्रह ताराको तुलनामा निकै मधुरा हुन्छन् । तर ती ग्रहको ग्रहण तारामा पर्दा टेलिस्कोपको सहयोगबाट देख्न सकिन्छ । तारामा देखिने ग्रहणलाई आधार मानेरै आफूहरूले नयाँ ग्रहबारे थाहा पाएको उनले बताए । ‘ग्रहहरू जति तारा नजिक हुन्छन्, पत्ता लगाउन त्यति नै सजिलो हुन्छ,’ उनले अनुभव सुनाए ।

उक्त समूहले सन् २०१८ मा पनि सौर्यमण्डल बाहिर रहेका ३ वटा ग्रहहरूको ‘प्लानेटरी सिस्टम’ पत्ता लगाएका थिए । यो अनुसन्धानमा सन् २०१९ मा भौतिक शास्त्रतर्फ नोबल पुरस्कार पाएका क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ता डिडियर कोएलोजले पनि सहयोग गरेका छन् । ग्रहको अनुसन्धान सम्बन्धमा प्रकाशित वैज्ञानिक आलेखमा कोएलोज सह–लेखकका रूपमा छन् । उनले आफूहरूलाई अनुसन्धान गर्न प्रेरित गर्दै ग्रह खोज्ने तरिकाहरू सिकाएको निरौलाले बताए ।

कोएलोज तिनै भौतिकशास्त्री हुन्, जसले पहिलो पटक सन् १९९५ मा सौर्यमण्डल बाहिर ग्रह पत्ता लगाएका थिए । उनले पत्ता लगाएको ग्रहको नाम ५१–पेगासी–बी हो । यही ग्रह पत्ता लगाएको भन्दै उनलाई नोबल पुरस्कार दिइएको थियो । गत वर्ष भौतिकशास्त्रमा उनीसहित जेम्स पेब्लस र माइकल मेयरलाई संयुक्त रूपमा भौतिकशास्त्रतर्फको नोबल पुरस्कार दिइएको थियो । संसारमा हालसम्म ४ हजार वटा ग्रहहरू पत्ता लागेका छन् । तीमध्ये थोरै ग्रहहरूको मात्रै वायुमण्डल अध्ययन भएको छ । वैज्ञानिकहरूले ती ग्रहहरूको अध्ययन र विशेषताहरू बुझ्दै पृथ्वी बाहिर जीवन सम्भव हुने–नहुनेबारे खोज गरिरहेका छन् ।

एमआईटीको एटमोस्फेरिक एन्ड प्लानेटरी साइन्सेस (ईएपीएस) विभागमा कार्यरत निरौलाले नेपालबाट पनि अध्ययन गरेर नयाँ ग्रहहरू पत्ता लगाउन सकिने बताए । उनले नेपालमा खगोल विज्ञानसम्बन्धी अनुसन्धानको राम्रो रहेको समेत दाबी गरे । लगातार बादलले आकाश ढाक्ने भएकाले खगोलसम्बन्धी अध्ययनका लागि नेपालका धेरै ठाउँको मौसम अनुकूल मानिँदैन । मुस्ताङलगायत हिमालपारिका जिल्लाहरूमा अनुसन्धान केन्द्रको स्थापना गरी अध्ययन गर्न सकिने उनको भनाइ छ । ती स्थानहरूमा टेलिस्कोप राखेर अध्ययन गर्न सके खगोल विज्ञानलाई अझ प्रभावकारी बनाउन सकिने उनले बताए । आफ्नो समूहले पत्ता लगाएको ग्रहले वैज्ञानिक खोजको दायरालाई बढाएको उनले बताए ।

प्रकाशित : आश्विन ११, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

पीपीईको गुणस्तर जाँच्‍न नाष्टले बनायो पीसीटी डिभाइस

गोविन्द पोखरेल

काठमाडौँ — बिरामीको उपचारमा खटिँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्‍विपमेन्ट (पीपीई)को गुणस्तर परीक्षण अब नेपालमै हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पीपीईको गुणस्तर परीक्षण गर्न पीसीटी निर्माण गरेको छ ।

नाष्टको प्रविधि संकाय अन्तर्गतको समृद्धिका लागि नवप्रवर्तन केन्द्र (सीआईपी) ले पीपीईको गुणस्तर परीक्षणका लागि प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस (पीसीटी)को निर्माण गरेको हो ।

बजारमा विभिन्न खालका पीपीईहरु निर्माण हुँदा त्यसको गुणस्तरमा प्रश्न उठ्न थालेपछि नाष्टले नाप तौल तथा गुणस्तर विभागले दिएको मापदण्डअनुसार पीसीटीको निर्माण गरेको जनाएको छ । रेन कोट तथा विभिन्न बस्तुहरुमा प्रयोग हुने कपडाबाट पीपीई निर्माण हुन थालेपछि त्यसको गुणस्तरको परीक्षण आवश्यक भइरहेको बेला पीसीटीको निर्माण गरिएको सीआईपीका वरिष्ठ प्राविधिक अधिकृत एवं इन्जिनियर शंकर ढकालले बताए ।

'कम गुणस्तरको पीपीई कोरोनाको मात्रै नभएर अन्य भाइरसहरुको पनि स्रोत हुन सक्छ,' ढकालले भने, 'हामीले नाप तौल विभागले तोकेको मापदण्ड अनुसार यो डिभाइसको निर्माण गरेका हौं ।' पीपीईको बिक्री वितरण र उत्पादन टेलरिङमा पनि हुन थालेपछि त्यसको गुणस्तर जाँच आवश्यक भएको उनले बताए । नाष्टले निर्माण गरेको यो डिभाइस अमेरिकन स्टान्डर्ड अफ टेस्टिङ अफ मेटेरियल्स(एएसटीएम) प्रोटोकल अनुसार निर्माण गरिएको छ । यो प्रोटोकल विश्वभरी प्रयोग हुँदै आएको ढकालले बताए ।

यसरी हुन्छ परीक्षण

पीपीईको गुणस्तर परीक्षणमा सिन्थेटिक ब्लड र भाइरस छिर्न सक्छ या सक्दैन भनेर हेरिन्छ । यसमा 'एएसटीएम १६७०' र 'एएसटीएम १६७१' प्रोटकलहरु छन् ।

पीसीटी डिभाइसमा पीपीईको 'फ्याब्रिक' मा १५ किलो पास्कलको चाप दिएर सिन्थेटिक ब्लड पठाइने इन्जिनियर ढकालले बताए । सिन्थेटिक ब्लड उक्त चापबाट छिर्यो भने पीपीई गुणस्तरहीन हुने उनले बताए । कृत्रिम रुपमा निर्माण गरिएको रगतलाई सिन्थेटिक ब्लड भनिन्छ । 'संक्रमितले हाछ्यु गर्दा निस्कने पार्टिकल्सहरुले पीपीई छेड्नु सक्छ कि सक्दैन भनेर यसको परीक्षण गरिएको उनले बताए ।

पीसीटी डिभाइसमा मापदण्ड अनुसारको धातुको 'डिस्क' निर्माण गरिएको छ । त्यही डिस्कमा परीक्षण गरिने पीपीईलाई अड्याएर त्यहाँ सिन्थेटिक ब्लड हालिन्छ । त्यसपछि मोटरको साहयताबाट चाप दिइने ढकालले बताए । 'पीपीईबाट ब्लड छिरेन भने योग्य हुन्छ, छिर्यो भने अयोग्य हुन्छ ,' उनले भने । यो परीक्षण 'एएसटीएम १६७०' प्रोटकल अनुसार रहेको उनले सुनाए ।

'एएसटीएम १६७१' टेस्ट प्रोटकलमा भाइरस हालेर परीक्षण गरिने ढकालले बताए । इन्जिनिरिङमा विद्यावारिधि समेत गरेका ढकालले भने,' यो प्रोटोकल अनुसार हामी पीपीईमा ब्याक्टेरियोफेज भाइरस मिसिएको ब्लड पठाउँछौं । फ्याब्रिकबाट छिर्छ कि छिर्दैन भनेर पनि हेर्छौं ।' चाप दिएर भाइरस निस्किए/ननिस्किएको थाहा पाउन माइक्रोबियल टेस्ट गरिन्छ ।

ब्याक्टेरियोफेज भाइरस नेपालमा नपाइने र अमेरिकबाट ल्याउनुपर्ने भएकाले त्यसको विकल्प खोजिएको छ । अन्य मुलुकहरुमा पनि पीपीई टेस्टमा प्रयोग हुँदै आएको ग्राम पोजिटिभ र ग्राम नेगेटिभ ब्याक्टेरिया हालेर परीक्षण गरिने ढकालले बताए । यो डिभाइसको सफल परीक्षण नाष्टले निर्माण गरेको स्वाब कलेक्सन बुथको पञ्जामा भइसेकको छ ।

कोरोना महामारीकै बेला नाष्टको सीआईपीले मोबाइल स्वाब कलेक्सन बुथ भेहिकलको पनि निर्माण गरेको छ । यो भेहिकल मार्फत जनुसकै ठाउँमा गएर पनि सुरक्षित तरिकाले स्वाब संकलन गर्न सकिने ढकालले बताए । उक्त बुथ सीसीएमसी,सशस्त्र प्रहरी,स्वास्थ्य विभाग लगायतका संस्थाहरुले प्रयोग गरिरहेका छन् ।

यसैबीच नाष्टले सीसीएमसीसँगको सहकार्यमा नेपाली सेनाको केही हेलिकप्टर र विमानलाई कोरोना संक्रमितहरुमैत्री बनाउन प्रस्ताव अघि सारेको छ ।

सीआईपीका प्राविधिक ढकालले भने,' नेपाली सेनाको हेलिकप्टर र विमानलाई कोभिडका बिरामीहरुलाई लैजाने किसिमको संरचना कसरी बनाउन सकिन्छ भन्ने सवालमा प्रारम्भीक छलफल सुरु भएको छ ।' यसका लागि विमानभित्र कस्ता परिवर्तन आवश्यक पर्ने र कोरोना मैत्री विमानको रुपमा रुपान्तरण गर्ने सवालमा कार्य अगाडि बढेको नाष्टले जनाएको छ ।

कोरोना विरुद्ध लड्नका लागि सीआईपीले इन्जिनियरिङ तथा प्रविधि विकासको काम गरिरहेको जनाएको छ । नाष्टले यो उपकरण मार्फत मास्कको गुणस्तर पनि थाहा पाउन सकिने बताएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ २१:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×