स्मार्टफोनको लतमा बालबालिका- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मार्टफोनको लतमा बालबालिका

नवीन पोखरेल

(लन्डन) — कुनै समय केवल खबर आदान–प्रदानका लागि मात्रै मोबाइल फोनको प्रयोग गरिन्थ्यो । फोनमा इन्टरनेटको पहुँच थिएन र अहिलेजस्तो आधुनिक प्रविधियुक्त डिभाइस पनि थिएनन् । 

तर, अहिले ‘डिजिटल युग’ छ, थरीथरीका स्मार्टफोन बनेका छन् । प्रयोजन अनेक छ । जीपीएस, हेल्थ ट्र्याक, क्यामेरा, गेमदेखि समाचार पढ्न स्मार्टफोनकै सहारा चाहिएको छ । साथीभाइ वा पारिवारिक सदस्यको डिनर जमघट होस्, खाना अर्डर नगरी सबैका औंला स्मार्टफोनतिर चल्न थाल्छन् । सार्वजनिक सवारीसाधन चढेका बेला होस् वा ग्रोसरी स्टोरमा सामान किन्न लामो पंक्तिमा रहँदा, प्राय फोन नचलाउने कोही हुन्न । समय यस्तो छ, एकछिन फोन स्वीच अफ हुँदा मानिस सबै गुमाएजस्तो गरी आत्तिन्छ ।


भर्बल होइन, भर्चुअल लाइफमा व्यस्त छ विश्व । अत्यधिक स्मार्टफोन प्रयोग अहिले लतकै रूपमा देखिएको छ । स्मार्टफोन लतलाई ‘नोमोफोबिया’ पनि भनिन्छ । विश्वभर अहिले करिब ३.५ बिलियन स्मार्टफोन प्रयोगकर्ता रहेका तथ्यांक छ । सन् २०२१ मा यो संख्या ३.८ बिलियन पुग्ने अनुमान गरिएको छ ।


बेलायतका १० वर्ष उमेर समूहका करिब ५० प्रतिशत बालबालिकासँग स्मार्टफोन रहेको एउटा प्रतिवेदनले देखाएको छ । मिडिया नियामक निकाय अफकमको प्रतिवेदनअनुसार, ९ र १० वर्ष उमेरका बालबालिकाले स्मार्टफोन प्रयोग गर्ने क्रम दोब्बर बढेको छ । अफकमले यसलाई ‘डिजिटल स्वतन्त्रता’ उपमा दिएको छ ।


बीबीसीका अनुसार उक्त प्रतिवेदनले ३ देखि ४ वर्ष उमेर समूहका २४ प्रतिशत बालबालिकासँग ट्याब्लेट भएको र तीमध्ये १५ प्रतिशतले आफ्नो ओछ्यानमै लैजान अनुमति पाएका जनाएको छ ।


अफकमले सन् २०१९ मा बेलायतभरका बालबालिका तथा अभिभावक गरी ३ हजार २ सय जनासँग अन्तरवार्ता लिएको थियो । अफकमको वार्षिक प्रतिवेदनले बालबालिकामा बढिरहेको मिडिया लत र उनीहरूले कस्ता खालका डिभाइस प्रयोग गर्छन् भन्ने देखाएको छ ।


अफकमका निर्देशक यी चुङ तेले भने, ‘मोबाइल फोन बालबालिकाले रुचाउने एउटा उपकरण हो । म के ठान्छु भने यी बालबालिकालाई इन्टरनेटबाहेकको संसारबारे केही थाहा छैन र उनीहरू अनलाइन वा अफलाइन के हो भनेर छुट्याउन सक्दैनन् ।’


यस अतिरिक्त प्रतिवेदनमा ५ देखि १५ वर्षसम्मका ४८ प्रतिशत किशोरीले अनलाइन गेम खेल्ने गरेको पाइएको छ, जसमा किशोरका संख्या ७१ प्रतिशत छ । स्न्याप च्याट र फेसबुक उनीहरूका लागि सबैभन्दा लोकप्रिय सोसल मिडिया रहेको पनि अध्ययनमा उल्लेख छ । अध्ययनमा सहभागी ४५ प्रतिशत अभिभावकले इन्टरनेट प्रयोग बालबालिकाका लागि फाइदाजनक हुने सोचेको बताएका छन् । नेपाली समुदायका बालबालिका पनि यस लतबाट टाढा छैनन् । पश्चिम लन्डनस्थित नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधान भन्छन्, बेलायतमा हुर्किरहेका नेपालीलगायत आप्रवासी समुदायका १० वर्ष उमेर समूहका धेरैजसो बालबालिकासँग स्मार्टफोन छ । त्यसको दुरुपयोग हुन सक्नेबारे अभिभावक चिन्तित छन् तर सुरक्षित अनलाइन अभ्यासबारे धेरैलाई थाहा नै छैन । प्रधानले अभिभावकलाई चनाखो रहन पनि सुझाव दिए ।


घण्टौं समय फोनमा व्यतीत गर्दा जागिर, पढाइ वा अन्य रचनात्मक काममा लगाव घट्ने मात्र होइन, निद्रा गढबढ, मानसिक समस्या, चिन्ता, एक्लोपन र नकारात्मक सोच वृद्धि हुने बेलायतस्थित कन्सल्टेन्ट कमल अर्यालको भनाइ छ ।

प्रकाशित : माघ २६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

‘डिजिटल कनेक्टिभिटीले अवसर विस्तार’

प्रविधिका कारण परिवर्तन भइरहेको विश्वका लागि सोहीअनुसारको सीपयुक्त जनशक्ति आवश्यक
कान्तिपुर संवाददाता

काठमाडौँ — डिजिटल कनेक्टिभिटीले संसारभरका मानिसलाई अवसरको नयाँ ढोका खोलेको विज्ञहरूले बताएका छन् । कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणको दोस्रो दिन शनिबार आयोजित ‘द फ्युचर अफ डिजिटल वर्ल्ड’ नामक सत्रमा विज्ञहरूले डिजिटल कनेक्टिभिटीका कारण बजार र अवसरको विस्तार भएको विचार राखे । 

डिजिटल कनेक्टिभिटीका कारण विश्वभर मानिसले एकआपसमा सेवा तथा वस्तुहरूको माग र आपूर्ति गर्न सकेको इटालीको योक्स नेट ए पोर्टर ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अल्बर्टो ग्रिङ्गोलले बताए । ‘कनेक्टिभिटीकै कारण मानिसले आपसमा जानकारी आदानप्रदान मात्रै होइन, कारोबारका माध्यमबाट धन पनि कमाउन सकेका छन्,’ उनले भने, ‘यसले मानिसको जीवनस्तर पनि उकासेको छ ।’

प्रविधि संसार जोड्ने एक माध्यम भएको भन्दै उनले यसबाट जोडिएर वस्तु तथा सेवाको व्यापार भएको, कारोबारमार्फत धनआर्जन भएको उदाहरण प्रस्तुत गरे । प्रविधिको भविष्य, यसको चुनौती र अवसरका विषयमा चर्चा गर्दै अल्बर्टोले प्रविधिका कारण परिवर्तन भइरहेको विश्वका लागि सोहीअनुसारको सीपयुक्त जनशक्ति आवश्यक हुने उल्लेख गरे । भविष्यका लागि तयार रहने गरी मानिसले आफूलाई अपडेट गर्नुपर्ने उनको भनाइ छ । छलफलमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले प्रविधि संसारका हिसाबले नेपाल प्रारम्भिक चरणमा रहेको टिप्पणी गरे । यस्तो अवस्थामा नेपालमा डिजिटल इकोसिस्टम विकासका लागि गर्नुपर्ने काममा तथ्यांकहरू महत्त्वपूर्ण हुने उनको धारणा थियो ।

नेपालीको भविष्यका लागि उपयुक्त मोडल तय गर्न आवश्यक तथ्यांकबारे विचार गर्नुपर्ने बेला भइसकेको उनले बताए । विश्वभर प्रविधिका कारण उत्पादन हुने तथ्यांक र यसको व्यवस्थापनका विषयमा बहस र चर्चा भइरहेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन् । मानिसका समस्या समाधान गर्ने गरी प्रविधिका माध्यमबाट समाधान निकाल्न यस्तो तथ्यांक आवश्यक हुने उनको भनाइ छ ।

‘प्रविधिको प्रयोगबाट उत्पादन हुने तथ्यांक कसरी प्रयोग गर्ने, व्यक्तिगत विवरण कसरी व्यवस्थापन गर्ने र त्यस्ता तथ्यांकलाई कसरी सदुपयोग गर्ने विषयमा हामीसँग उपयुक्त कानुन पनि आवश्यक छ,’ उनले भने, ‘सर्वसाधारणको जीवनस्तर उकास्न हामीलाई तथ्यांक आवश्यक पर्छ ।’ एफवान सफ्टले आफ्ना प्रयोगकर्ताको तथ्यांकको सुरक्षालाई महत्त्व दिएको उनको दाबी छ ।

प्रविधिमार्फत मानिसका समस्या समाधान गर्ने मानिसलाई के कुराको आवश्यकता छ, त्यो जान्न जरुरी रहेको ढकालले बताए । यसका लागि भौगोलिक तथा जनसंख्याका आधारमा विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।

‘नयाँ सोचबाट आउने चुनौतीलाई पनि बुझ्नुपर्छ,’ उनले भने, ‘हामीले खालि अन्य देशका भएका प्रविधिलाई कपी गर्छौं र नेपालमा मिल्ने गरी स्थानीयकरण गर्छौं ।’ प्रविधिले निम्त्याउने चुनौतीको चर्चा गर्दै भारतको क्वान्टम होलिस्टिक एडभाइजरी सर्भिसकी संस्थापक राजेश्वरी घोषले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण भविष्यमा धेरै काम लोप हुने दाबी गरिन् ।

मानिसले गर्ने एकै किसिमको काम र व्यावसायिक रूपम गरिने काम पनि एआईले गर्न थाल्ने र यसका कारण मानिसको रोजगारी गुम्ने उनको तर्क थियो । प्रविधिसँगै आध्यात्मिक विषयलाई पनि जोड दिनुपर्ने उनको धारणा थियो । प्रविधिको विकास भइरहे पनि आध्यात्मिक विषय पनि भविष्यमा मानिसलाई आवश्यक पर्ने उनले बताइन् ।

प्रविधि र भौतिक जीवनसँगै जानुपर्ने र मानिसले आफ्नो सिर्जनशीलता एवं आविष्कार गर्ने क्षमता विकास गर्दै जानुपर्नेमा उनको जोड थियो । डिजिटल इकोसिस्टमका लागि मानिसले आध्यात्मिक, भावुक, सिर्जनशीलता र सामाजिकीकरणको पनि विकास गर्नुपर्ने उनको धारणा थियो ।

फाइभ फोर आई भेन्चरका म्यानेजिङ पार्टनर दीप्त शाहले यो सत्रको सहजीकरण गरेका थिए ।


‘बेरोजगारलाई पठाओको अवसर’
‘राइड सेयरिङ प्लेटफर्म’ पठाओका संस्थापकमध्येका एक तथा प्रमुख कार्यकारी अधिकृत हुसेन एम इलियसले पठाओले बेरोजगार व्यक्तिलाई कमाउने अवसर दिएको बताएका छन् ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिन शनिबार मन्तव्य राख्दै उनले सार्वजनिक यातायातमा हिँड्दाको पीडा र लामो समय खेर जाने भएकाले नयाँ विकल्प सोचेको र त्यो विकल्पको रूपमा पठाओ जन्मिएको बताए । एलियससहित उनका साथीहरूले सुरुआत गरेको पठाओ अहिले बंगलादेश र नेपालमा लोकप्रिय ‘राइड सेयरिङ प्लेटफर्म’ भएको छ । उनले बंगलादेशको ढाकामा भोग्नुपरेको ट्राफिक समस्याबाट मुक्ति पाउन आफ्ना साथीहरू मिलेर पठाओलाई अघि बढाएको बताए ।

‘सुरुआतमा आफ्नो साथीहरूको सर्कलमा मात्र एक ठाउँबाट अर्को स्थानमा जान यसको प्रयोग गरियो । यसले प्रभावकारी काम गर्‍यो । त्यसपछि बिस्तारै पठाओलाई अघि बढाइएको हो,’ एलियसले भने ।

प्रकाशित : माघ २६, २०७६ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×