काठमाडौँ — नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सीता रानामगरको हृयाट्रिक विकेटबाट प्रेरित नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा बुधबार कुवेतलाई ८ विकेटले पराजित गर्यो ।
कुवेतले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई ७३ रन बनाएको थियो । बाँगी स्थित वाईएसडी युकेएम ओभल मैदानमा नेपालको ब्याटिङ सुरु हुनु अगाडि वर्षाले खेल प्रभावित गरेको थियो, जस अनुसार डक वर्थ लुइस पद्धतिमा नेपाललाई १२ ओभरमा ५० रनको लक्ष्य दिइएको थियो ।
कविता कुँवर १ रनमात्र बनाई रनआउट भए पनि नेपालले ६.५ ओभरमै लक्ष्य पुरा गरेको थियो । प्लेयर अफ द म्याच सीता १५ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाइन् । नेपालले खेलेको ४ खेलमा उनी तेस्रो पटक उत्कृष्ट खेलाडीमा चुनिएकी हुन् । कप्तान इन्दु बर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहिन् । इन्दुले २१ बल खेली १ चौका प्रहार गरेकी थिइन् ।
नेपालले शुक्रबार मलेसियासँग सेमिफाइनल खेल्ने छ । मलेसियाले बुधबार नै भएको अर्को क्वार्टरफाइनलमा जापानलाई १६ रनले पराजित गरेको थियो । अर्को सेमिफाइनल यूएई र थाइल्यान्ड बीच हुनेछ । यस प्रतियोगिताको फाइनलमा पुग्ने टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।
यसअघि कुवेतबाट ओपनर प्रियादा मुरलीले ३३ बल खेली ३ चौका र १ छक्का प्रहार गरि २९ रन बनाएकी थिइन् । शान्थी बालासुब्रामन्युम र खादिजा खलिलले समान १३ रन बनाइन् । सीताले आफ्नो दोस्रो ओभरमा लगातार तीन विकेट लिएर हृयाट्रिक पुरा गरेकी थिइन् । उनले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएकी हुन् । रुविना क्षेत्री र कविता कुँवरले २–२ विकेट लिइन् ।
सीता नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा हृयाट्रिक विकेट लिने पाँचौं र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार तीन विकेट लिने नेपालको दोस्रो खेलाडी हुन् । रुविना क्षेत्रीले २०१९ को फेब्रुअरीमा थाइल्यान्डको एआईटी मैदानमा आईसीसी वुमन्स ट्वान्टी–२० एसिया क्षेत्रमा कुवेतविरुद्ध नै हृयाट्रिक लिएकी थिइन् ।
नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाउनु अघि २००९ मा रुविनाले मलेसियामा सिंगापुरविरुद्ध, २०११ मा करुणा भण्डारीले थाइल्यान्डविरुद्ध र सबनम राईले २०१७ मा चीनविरुद्ध हृयाट्रिक विकेट लिएकी थिइन् ।
प्रकाशित : फाल्गुन २, २०८० २२:२८