२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

टाइगर कप भलिबल : एपीएफ र न्यु डायमन्डको विजयी सुरुआत

दीपक परियार

पोखरा — चौंथो टाइगर कप भलिबल प्रतियोगितामा एपीएफ क्लबले पुरुष र महिला दुबैतर्फ विजयी सुरुआत गरेको छ । पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा सोमबार महिलातर्फ न्यु डायमन्डले पहिलो जित दर्ता गर्‍यो ।

टाइगर कप भलिबल : एपीएफ र न्यु डायमन्डको विजयी सुरुआत

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भए । पहिलो खेलमा महिलातर्फ साविक विजेता एपीएफ क्लबले अर्को विभागीय टिम नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकाल्यो ।

पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१८ ले जितेको एपीएफले तेस्रो र चौंथो सेट भने १९–२५ र १८–५ ले गुमाउन पुग्यो । तेस्रो र चौंथो सेटमा टिमभित्र समन्वयको अभाव देखिएको एपीएफलाई दुई सेटमा जितेर खेलमा फर्किएको पुलिसले अन्तिम सेट भने १३–१५ मा सुम्पियो । उक्त खेलमा एपीएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दी म्याच घोषित भइन् । यससँगै एपीएफले २ र पुलिसले १ अंक जोडेको छ ।

महिलातर्फको दोस्रो खेलमा चन्द्रागिरी न्यु डायमन्ड क्लबले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराएको छ । पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लगातार जित्दै न्यु डायमन्डले आर्मी विरुद्ध दबाब प्रस्तुत गरे पनि तेस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । तर चौंथो सेटमा आर्मीलाई दबाबमा राख्दै न्यु डायमन्डले २५–१५ ले खेल आफ्नो पक्षमा पार्‍यो । उक्त खेलमा रिमा कुँवर टाइगर अफ दी म्याच बन्न सफल भइन् । न्यु डायमन्डले २ अंक प्राप्त गरेको छ भने आर्मीले १ अंक पाएको छ ।



पुरुषतर्फको खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लब विरुद्ध ३–० को सोझो सेटमा जित निकालेको छ । एपीएफले पहिलो सेटमा २५–१९ ले सहज जित निकाले पनि दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो । दोस्रो सेट जित्न एपीएफले ३३–३१ पुर्‍याउनुपर्‍यो । अन्तिम सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै महत्त्वपूर्ण ३ अंक हात पारेको छ । उक्त खेलमा एपीएफका विजय थापा टाइगर अफ दी म्याच घोषित भए ।

पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबबीचको उद्घाटन खेल भने खराब प्रकाशका कारण बीचमा नै रोकिन पुगेको छ । खेल जारी रहँदा गण्डकी प्रदेश २–१ सेटले अगाडि थियो । तर प्राविधिक टिमले अन्तिम समयमा खेल रोक्न बाध्य भयो । रोकिएको खेल बुधबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध भएको बताए । ‘प्रदेश सरकारले खेलाडी हित र खेलकुद विकासका लागि केही नयाँ योजनाका साथ अघि बढेको छ,’ उनले भने, ‘प्रदेश सरकार गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, कभर्ड हल समेत निर्माण गर्ने योजनामा छ ।’

प्रतियोगिताकै अवसरमा आयोजक टाइगर ग्रुप अफ पोखराले कर्णेल जेपी क्रसलाई सम्मान गरेको छ । हालै १ सय वर्ष टेकेका उनलाई शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

चौंथो टाइगर कपमा महिलातर्फ समूह ‘ए’ मा एपीएफ, गण्डकी र पुलिस छन् । समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमन्ड र हरियाना टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब तथा समूह ‘बी’ मा एपीएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।

मंगलबार महिलातर्फ पहिलो खेलमा गण्डकीले नेपाल पुलिसको सामना गर्ने छ । दोस्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लब र हरियाणा टिम भारतबीच हुनेछ । पुरुषतर्फ श्रीलंका आर्मी टिम र एपीएफ, त्रिभुवन आर्मी र हेल्प नेपाल क्लबका बीच खेल हुनेछ ।

प्रकाशित : माघ १, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?