२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

गौरिकाको तिहार

बाध्यताले एसियाली खेलकुद गुमाएकी गौरिका चाडपर्वमा रमाइरहेकी छिन्
नवीन पोखरेल

लन्डन — नेपाली चाडपर्व चलिरहँदा निकै उत्साहित हुन्छिन् गौरिका सिंह । उनी तिहारको रमझममा मस्त छन् । कुकुर पूजा र भाई सौरेनलाई टीका लगाइदिन उनले सामग्री जोरजाम गरिसकेकी छन् ।‘मलाई कुकुर निकै मन पर्छ । यसपटक पनि छिमेकी घरको कुकुरलाई पूजा गरिदिन्छु,’ उनले कान्तिपुरसँग भनिन्, ‘भाइटीका पनि छ । बरु कलेज भएकाले समय मिलाउनुपर्नेछ । परिवारका साथ मिठाई, सेलरोटी खाएर तिहार मनाउँछु ।’ 

गौरिकाको तिहार

लन्डनवासी गौरिकाको व्यस्त छ दिनचर्या । कलेजको पढाइ र खेल प्रशिक्षणमा अधिकांश समय जान्छ । साताको ६ दिन हरेक दिन दुईदेखि चार घण्टासम्म प्रशिक्षण चल्ने उनले बताइन् । गत महिना चीनमा आयोजित १९ औं एसियाली खेलकुद उनले गुमाइनुको कारण थियो, भर्खर सुरु भएको कलेज । ‘एसियन गेम्स हुँदा मेरो नयाँ कलेज सुरु भइसकेको थिएन । मैले खेल्छु भनेर ओके गर्दा यता कलेजले अनुमति दिएन भने म मात्र होइन मेरो सट्टा जाने अरूको पनि मौका गुम्ने भएकाले यसपटक नजाने निर्णय नै गरेकी हुँ,’ उनले एसियन गेम्सबाट नाम फिर्ता लिनुपरेको बाध्यता सुनाइन् ।

गौरिकाले टफ्ट्स युनिभर्सिटी, बस्टन, अमेरिकामा ४ वर्षे ब्याचलर्स कोर्स गरिरहेकी छन् । दुई वर्ष सकिसकेको छ । तेस्रो वर्षमा सम्बन्धन रहेको विदेशी युनिभर्सिटीमा समेतअध्ययन गर्न मिल्ने हुँदा उनले गत सेप्टेम्बरबाट लन्डन स्कुल अफ इकनमिक्समा अध्ययन सुचारु गरेकी छन् । चौथो वर्षमा फेरि बस्टन नै जानुपर्छ उनी ।

जापानको फुकुओकामा केही महिनाअघि सम्पन्न २० औं विश्व एक्वाटिक च्याम्पियनसिप–२०२३ मा व्यक्तिगत स्पर्धामा नयाँ चार राष्ट्रिय कीर्तिमान कायम गरेपछि फेरि चर्चामा आएकी थिइन् गौरिका । दक्षिण एसियाली खेलकुद (साग) की चार स्वर्णधारी गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नामको ३१ दशमलव ८७ सेकेन्डमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । गौरिकाले उक्त कीर्तिमान सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा बनाएकी हुन् ।

जापानमा बनाएको राष्ट्रिय कीर्तिमानबारे गौरिकाले लन्डनमा कान्तिपुरसँग भनिन्, ‘मैले जापानमा दुइटा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकोमा धेरै नै खुसी लागेको छ । मलाई प्रशिक्षण दिने टिम र मेरो मिहिनेतको फल हो यो ।’ यसले आगामी दिनमा अझै राम्रो गर्ने हौसला मिलेको उनी बताउँछिन् । ‘म हरेक प्रतियोगितामा सकेसम्म राम्रो गर्ने प्रयास गर्छु । हाल पौडीमा मेरो नाममा लङकोर्समा १० वटा र सर्टकोर्समा ११ राष्ट्रिय कीर्तिमान छन् भने अहिलेसम्म मैले ६९ पटक राष्ट्रिय कीर्तिमान भंग गरिसकेको छु,’ उनले सुनाइन् । राष्ट्रिय कीर्तिमान बन्दा सन्तुष्टि मिल्ने भए पनि राष्ट्रिय कीर्तिमान नबन्दा वा आफ्नो प्रदर्शन सोचे जस्तो नहुँदा पनि सामान्य रूपमा लिने गर्छिन् उनी ।

जापानमा खेल्न जानु अघि उनलाई अलिक धपेडी परेको थियो । किनभने पहिले क्वालिफाइङ खेल्न अमेरिकाबाट नेपाल जानुपर्‍यो । यसको केही सातापछि परीक्षा भएकाले प्रशिक्षण लिन केही समय कटौती गर्नुपरेको उनी स्मरण गर्छिन् । ‘बोस्टनबाट परीक्षा सकेर लन्डन फर्केपछि लगभग ६ हप्ता जति कडा प्रशिक्षण लिन पाएकी थिएँ,’ उनले सुनाइन् । सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी हुँदा उनको विश्वमाझ खुबै चर्चा बढेको थियो । अचेल उनको खेलाडी जीवन अलि सुस्त भएको हो त ?

जवाफमा उनले प्रस्ट्याइन्, ‘अमेरिकाबाट नेपाल जान समय, खर्च समेत बढी लाग्ने हुँदा पहिले जति नेपालमा गइरहन सम्भव हुन्न । फेरि पढाइको तह पनि बढ्दै जाँदा भनेको समयमा पढाइ छोड्न मिल्दैन । बिदा मिलेको समयमा मात्र नेपालमा हुने एवं अन्य प्रतियोगिताहरूमा भाग लिन सकिन्छ । बीचमा कोभिड महामारीले पनि प्रतियोगिताहरू हुन सकेन । साउथ एसियन गेम्स पनि हुन सकेको छैन । विविध कारण खेलाडी जीवन सुस्त भएको जस्तो देखिनु स्वाभाविक हो ।’

अहिले अध्ययन उनको पहिलो प्राथमिकता छ । अध्ययनकै बीचमा आवश्यक ट्रेनिङ गरी सम्भव भएसम्म पौडी प्रतियोगितामा भाग लिने अठोट गौरिकाले गरेकी छन् । ‘म नेपाललाई प्रतिनिधित्व गर्ने सबै प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्नेछु । अध्ययन सकेर आफू क्षमतावान भएपछि मात्र नेपाललाई किटानीसाथ के गर्ने भनी सोच्न सकिन्छ । केही गर्छॅ भनेर मात्रै हुने होइन,’ उनले भनिन् ।

हो, नेपाल सम्पन्न छैन । स्रोतसाधनका अभावबीच नेपाल सरकारले खेलाडीलाई के गर्छ भन्ने कुरामा आफूले बढी ध्यान नदिने उनले बताइन् । ‘आफ्नो देश नेपाललाई प्रतिनिधित्व गर्न पाएकोमा मलाई ठूलो गर्व लाग्छ,’ उनले सुनाइन् । प्रशिक्षण साथै पढाइमा पनि सक्दो राम्रो गर्ने प्रयास उनले जारी राखेकी छन् । ‘मैले परिश्रमअनुसारको फल पनि प्राप्त गरेकी छु । हरेक टर्ममा मेरिट लिस्टमा आफ्नो नाम निकाल्न सफल भएकी छु,’ उनले अर्को सफलता सुनाइन् ।

गौरिकाका पिता डा. पारसबहादुर सिंह युरोलोजिस्ट हुन् भने आमा गरिमा राणा सन् १९९५ को एसएलसी बोर्ड परीक्षा टपर । गौरिकाका एक भाइ छन् १४ वर्षका सौरेनबहादुर सिंह । सौरेन पनि दिदीजस्तै पौडी खेल्छन् । नेपालमा दुईपटक राष्ट्रिय गेम्समा सहभागी भइसकेका छन् उनी । पोखरामा भएको राष्ट्रिय गेम्समा उनले सशस्त्र प्रहरीलाई प्रतिनिधित्व गर्दै तीन कांस्य पदक जितेका थिए ।

बुवा पारसले छोरीलाई आफ्नै पेसामा जान जोड दिएनन् ? गौरिका भन्छिन्, ‘पेसा भनेको आफ्नो रुचिअनुसार हुन्छ । म हुर्केको समाजमा बाबुआमाले छोराछोरीलाई पढ्न प्रोत्साहन गरे पनि पेसा रोज्न स्वतन्त्र रूपमा छाडेका हुन्छन् । मेरो पिताले मलाई डाक्टर बन्न कहिले पनि दबाब दिनुभएन ।’ गौरिका सानो छँदा पौडीमात्र होइन टेनिस, नेटबलसमेत खेल्ने गर्थिन् । ‘ठूलो उमेर, प्रगति हुँदै गएपछि र एउटै खेल रोज्नुपर्ने भएकाले मैले पौडी खेल रोजेकी हुँ,’ उनले भनिन् ।

खेलकुदबाट मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त रहने हुँदा आफ्नो चयनको खेलमा लाग्नु अपरिहार्य रहेको उनको भनाइ छ । खेलकुदमार्फत कुलतबाट पनि बचिने जनाउँदै गौरिकाले स्वस्थ रहन नियमित व्यायाम र स्वस्थकर खाना आवश्यक पर्नेमा जोड दिन्छिन् ।

प्रकाशित : कार्तिक २७, २०८० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?