२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

१७० किलोमिटर लामो 'मञ्जुश्री ट्रेल रेस' शुक्रबारदेखि 

कान्तिपुर संवाददाता

काठमाडौँ — १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण शुक्रबार सुरु हुँदैछ । दहचोकस्थित कालु पाण्डे स्मारकबाट दौड सुरू हुनेछ । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र रहेको छ । 

१७० किलोमिटर लामो 'मञ्जुश्री ट्रेल रेस' शुक्रबारदेखि 

मञ्जुश्री ट्रेल रेसअन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागिताका लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुनेछ । सबै दौडहरू दहचोकस्थित कालु पाण्डे स्मारकमै पुगेर सकिनेछन् ।

मूलदौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विट्जरल्यान्डमा आयोजना हुने 'अल्ट्रा टुर मोन्टा रोस (युटिएमआर)' मा सहभागी हुने अवसर पाउनेछन् । उनीहरूको आर्थिकलगायत सम्पूर्ण व्यवस्थापनको संयोजन मञ्जुश्री ट्रेल रेसले गर्ने छ ।

विजेताले नगद र प्रमाणपत्रसहित 'एड्भेन्चर गियर' पुरस्कारस्वरुप प्राप्त गर्नेछ ।

रेसको गत वर्षको संस्करणमा ४२ जना नेपाली र ३१ जना विदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेन्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए ।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात् उनीहरूले सन् २०१६ मा यो रुट छिचोले । विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो।

आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट रहेको छ । कालु पाण्डे स्मारकबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिप्ले, गुर्जेभन्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङपौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरीभन्ज्याङ, फुल्चोकी, लेले, वाग्मती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाण्डे स्मारकमा नै पुगेर सम्पन्न हुन्छ ।

प्रकाशित : कार्तिक २३, २०८० १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?