कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विश्वकपअघि एसिया कपको रौनक

भारतीय कप्तान रोहित शर्मा भन्छन्, ‘यो प्रतियोगिता पाकिस्तानविरुद्धको खेलमात्र होइन, यसमा अरू टिम पनि छन्’

कोलम्बो — एसिया कप क्रिकेट २०२३ बुधबार सुरु हुँदै छ । यो हुनेछ एकदिवसीय विश्वकपअगाडि भारत, पाकिस्तान र श्रीलंकालाई आफ्नो टिम जाँच्ने अन्तिम अवसर । कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितामा दुई चिरपरिचित प्रतिद्वन्द्वी अन्त्यसम्म कायम रहने हो भने एक आपसमा तीनपल्ट भिड्ने अवसर जुट्न सक्ने छ । प्रतियोगिताको आयोजक भने पाकिस्तान र श्रीलंका छन् । खेलहरू यी दुई देशमा अनुकूल मिलाएर हुनेछ । 

विश्वकपअघि एसिया कपको रौनक

भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि प्रतियोगिताको यस्तो स्वरूप तयार भएको हो । फाइनल भने कोलम्बोमा हुनेछ । बाबर आजमको पाकिस्तान गत साता मात्रै एकदिवसीय वरीयताको नम्बर एक टिम भएको थियो । टोलीले अफगानिस्तानविरुद्धको सिरिजमा ३–० को क्लिन स्विप गरेको थियो । यही पाकिस्तानले बुधबार उद्घाटन खेलमा डेब्यु गरिरहेको नेपालको सामना गर्नेछ र खेल हुनेछ मुल्तानमा ।

आजम अफगानिस्तानविरुद्धको सिरिजमा ब्याटबाट सफल रहेका थिए । उनले १ सय १३ रन बनाए । पाकिस्तानसँग तीन तीव्र गतिका बलर साहिद साह अफ्रिदी, नसिम शाह र हरिस रउफको आक्रमण अस्त्र छ । एकदिवसीय विश्वकपको आयोजना गर्न लागेको भारत भने रोहित शर्माको नेतृत्वमा हुनेछ । टोलीले शनिबार हुने आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ । यो खेल हुनेछ पालेकेलेमा । राजनीतिक शत्रुताका कारण भारत र पाकिस्तान यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र भिड्ने गर्छन् ।

लिग चरणमात्र नभएर सुपर फोरमा पनि यी दुई भिड्ने छन् । दुवै टिम फाइनल पुगे एक आपसमा तेस्रो खेल सम्भव हुनेछ । पाकिस्तानविरुद्धको खेलअघि भारतीय कप्तान शर्माले भनेका छन्, ‘यो प्रतियोगिता पाकिस्तानविरुद्धको खेलमात्र होइन, यसमा सहभागी हुने अरू टिम पनि छन् । अरू पनि खेल हुनेछ ।’ एकदिवसीय विश्वकपमा यिनै दुई टिमबीचको खेल अहमदाबादमा हुनेछ । यो प्रतिस्पर्धा जुरेको छ अक्टोबर १४ का दिन ।

कप्तान शर्मा थप्छन्, ‘गत वर्ष श्रीलंकाले एसिया कप जितेको थियो । त्यसको अर्थ अरू टिमले पनि राम्रो क्रिकेट खेलिरहेका छन् भन्नु नै हो । यसले पनि भन्छ, हामीसामु कडा चुनौती नै छ ।’ उनी के मान्छन् भने एकदिवसीय विश्वकपअगाडि सहभागी सबैले आफूहरू कहाँ छन् भनेर जाँच्नका लागि अहिलेको एसिया कप उपयुक्त विकल्प हो ।

रोहित टिमले कति दबाब सहने र प्रतिद्वन्द्वीलाई कति धेरै दबाब दिन सक्ने हो, त्यो पनि यही प्रतियोगिताबाट देखिने छ । केएल राहुल र श्रेयस ऐरको पुनरागमनमा भारतीय टिमको ब्याटिङ फेरि सुदृढ देखिएको छ । यद्यपि चोटका कारण राहुलले सुरुका दुई खेलमा गुमाउने जनाइएको छ । टिममा यसअघि नै विराट कोहली, शुभमन गिल र स्वयं रोहित छँदै छन् ।

भारतमा ५० ओभरको क्रिकेट भने अक्टोबर ५ देखि सुरु हुँदै छ । दुबईमा भएको पछिल्लो एसिया कप श्रीलंकाले जितेको थियो । त्यतिबेला यो ट्वान्टी–२० क्रिकेटको प्रतियोगिता थियो । श्रीलंकाले बिहीबार क्यान्डीमा हुने खेलमा बंगलादेशको सामना गर्नेछ । श्रीलंका भने चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको छ ।

बंगलादेशलाई पनि टिम बनाउनमै समस्या छ । तमिम इकवालले कप्तानी छाडेका छन् । उनी आफै ढाडको समस्याबाट गुज्रिरहेका छन् । उनी विश्वकपलाई तयार हुने प्रयासमा छन् । अनुभवी अलराउन्डर सकिब अल हसनलाई फेरि नेतृत्वको जिम्मेवारी दिइएको छ । सन् २००९ देखि २०१७ बीच उनी नै बंगलादेशी टिमका कप्तान थिए ।

पाकिस्तानविरुद्धको शृंखला नराम्रोसँग गुमाएको स्थितिमा पनि अफगानिस्तान अरूका लागि बलियो प्रतिद्वन्द्वी नै रहनेछ । अफगानिस्तानको बलियो पक्ष स्पिन आक्रमण रहेको छ । यसमा माहिर खेलाडी छन् रसिद खान, मुजिब रहमान र मोहम्मद नाबी ।

रहमनुल्लाह गुरबाज टिमका प्रमुख ब्याटर रहनेछन् । उनले पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीयमा १ सय ५१ रन बनाएका थिए । तर, उनको टिम पराजित रह्यो । एसिया कपमा डेब्यु गर्दै गरेको नेपाल समूह ‘ए’ मा पाकिस्तान र भारतसँगै छ । अर्को समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहबाट दुई टिम सुपर–फोरका लागि छनोट हुनेछ ।

प्रकाशित : भाद्र १३, २०८० ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?