कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भारतमा गुगलले ल्यायो गुगल वालेट

गुगल पे भने यथावत रहने
एजेन्सी

काठमाडौँ — यो सातादेखि गुगलले भारतमा आफ्नो वालेट सेवा उपलब्ध गराएको छ । भारतका प्रयोगकर्ताले एन्ड्रोइड स्मार्टफोनमा गुगल वालेट इन्स्टल गरी आफ्ना महत्वपूर्ण कागजपत्र, विमान टिकेट, फिल्मका टिकेट लगायत विवरण स्टोर गर्न सक्छन् । यसका लागि गुगलले भारतका २० वटा ब्रान्डसँग साझेदारी गरेको जनाएको छ ।

भारतमा गुगलले ल्यायो गुगल वालेट

भारतका प्रख्यात मल्टिप्लेक्स पीभीआर र आईनक्ससँगै एयर इन्डिया, इन्डिगो, फ्लिपकार्ट, पाइन ल्याब्स, कोची मेट्रो लगायत ब्रान्डसँग गुगल वालेटले साझेदारीको घोषणा गरेको छ ।

गुगल वालेटलाई कतिपयले गुगल पेसँग जोडेर दोधारमा परेको देखिएपछि भारतस्थित गुगलका प्रतिनिधि राम पापट्लाले गुगल वालेटले गुगल पेलाई विस्थापित नगर्ने स्पष्ट पारेका छन् । उनका अनुसार गुगल वालेट भुक्तानी सेवाका लागि प्रयोग हुँदैन । डकुमेन्ट संकलन गर्न वालेट सेवा दिइने उनको भनाइ छ ।

डिजिटल भुक्तानी सेवाका लागि भारतमा गुगल पे यथावत रहने पापट्लाले इन्डिया टुडेसँगको अन्तर्वार्तामा बताएका छन् । ‘गुगल वालेट गुगल पेको पुरकका रूपमा रहनेछ,’ उनले भनेका छन्, ‘प्रयोगकर्ताले भुक्तानी प्रयोजनका लागि गुगल पे प्रयोग गर्न सक्छन् ।’ गुगल वालेट भने डकुमेन्ट भण्डारणका लागि बनाइएको हो, प्रयोगकर्ताले कागजपत्र बोकेर हिँड्नु नपरोस् र जहाँबाट जहिले पनि आफ्ना कागजपत्रमा पहुँच प्राप्त गर्न सकुन् भनेर वालेट सेवा बनाएको गुगलले जनाएको छ ।

विमानबाट यात्रा गर्दा गुगल वालेटमा बोर्डिङ पास अपलोड गरेपछि विमान उड्ने समय र प्रवेशद्वारबारे अद्यावधिक जानकारी प्राप्त हुनेछ । एयर इन्डियाले आफ्ना बोर्डिङ पास सोझै गुगल वालेटमा उपलब्ध गराउन सहमती जनाइसकेको छ । अनलाइनबाट आईपीएल वा ट्रेनको टिकट खरिद गरेपछि त्यसको जानकारी पनि सोझै गुगल वालेटमा आउने सुविधा भारतीय प्रयोगकर्ताले प्राप्त गर्नेछन् ।

मोबाइल भुक्तानी सेवा प्रदायकका रूपमा भारतमा गुगल पे निकै लोकप्रिय छ । बिजनेस टुडेका अनुसार दसमध्ये करिब आठ भारतीयले गुगल पे नियमित रूपमा प्रयोग गर्छन् । फोर्ब्सको तथ्यांकअनुसार भारतमा गुगल पे प्रयोग गर्नेको संख्या करिब ७ करोड छन् । नेपालमा भने गुगलको भुक्तानी सेवा हालसम्म उपलब्ध छैन, गुगल वालेट पनि यहाँ चल्दैन ।

प्रकाशित : जेष्ठ २, २०८१ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×