२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आर्मी र पुलिसलाई मेयर कप भलिबल

काठमाडौँ — त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप खुला महिला तथा पुरुष भलिबलको उपाधि जितेका छन् ।

आर्मी र पुलिसलाई मेयर कप भलिबल

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न फाइनलमा आर्मीले पुरुष र पुलिसले महिलातर्फ उपाधि जिते । आर्मीले विभागीय प्रतिद्वन्द्वी पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । आर्मीले २५–२०, २५–१७, २७–२९, १९–२५, १५–७ को सेटमा जित पायो ।

महिलातर्फ पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २५–११, १९–२५, २५–१९, २५–२२ को सेटमा हराएर उपाधि जित्यो ।

विजेता आर्मी र पुलिसले ट्रफीसहित समान २ लाख रुपैयाँ पुरस्कार पाए । उपविजेता पुलिस र एपीएफले समान एक लाख पाए ।

पुरुषतर्फ पुलिसका विशाल विके उत्कृष्ट स्पाइकर, पुलिसका द्वारिका थापा उत्कृष्ट ब्लकर, एपीएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, आर्मीका ईश्वर थापा उत्कृष्ट लिबेरो, आर्मीका हरिहजुर थापा उत्कृष्ट सर्भर र आर्मीका जगतबहादुर भण्डारी उत्कृष्ट प्रशिक्षक भए । आर्मीका मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए ।

महिलातर्फ एपीएफकी आरती सुवेदी उत्कृष्ट स्पाइकर, न्यु डायमन्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जसोना महतो उत्कृष्ट सेटर, पुलिसकी यमुना रसाइली उत्कृष्ट लिबेरो, आर्मीकी सृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । पुलिसकी लक्ष्मी चन्द सर्वोत्कृष्ट खेलाडी भइन् । विधागततर्फ उत्कृष्ट खेलाडीले जनही ५ हजार र सर्वोकृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्काले पुरस्कृत गरे । ललितपुर महानगरले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले समन्वयमा आयोजना गरेको हो ।

प्रकाशित : वैशाख १६, २०८० २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?