कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिर्लो कति ठीक-बेठीक ?

पिर्लोसँग प्रशिक्षकको अनुभव छैन । त्यसैले अबको दिन कुनै न कुनै मोडमा समस्या हुने छ नै। तर पिर्लोसँग केही राम्रा पक्षछन् । जस्तो, उनले खेलाडीले सिरी ‘ए’ लाई जति बुझेका छन्, त्यो अरु कमैले बुझेका होलान् ।
मीना रजुकी

लन्डन — प्रशिक्षक माउरिजियो सारी बर्खास्त र त्यसको जिम्मेवारी आन्द्रे पिर्लोलाई । युभेन्ट्सले पछिल्लो साता तहल्काजस्तै मच्चायो । हुन पनि युभेन्ट्सले त्यस्ता प्रशिक्षकलाई नियुक्ति दिएको थियो, जसलाई प्रशिक्षणको काममा फिटिक्कै अनुभव छैनभन्दा हुन्छ ।

पिर्लो कति ठीक-बेठीक ?

उनी लिजेन्डरी खेलाडी थिए, त्यसमा कुनै शंका छैन । युभेन्ट्समात्र होइन, एसी मिलान र इन्टर मिलानमा उनले खेलेरे खुबै नाम कमाए । तर ‘क्वालिफाइड कोच’ हुनका लागि चाहिने ‘थेसिस’ उनले बुझाएका छैनन् ।

त्यसैले प्रश्न जायज छ पिर्लो ?

उनको आत्मकथाको नवौं अनुच्छेदमा लेखिएको छ, ‘मलाई प्रशिक्षक हुने मन छैन, यो काममा मलाई आकर्षण पनि छैन । यो खालि तनावको काम हो ।’ युभेन्ट्स यू–२३ टिमको प्रशिक्षक घोषित भएको १० दिनपछि उनी पूरा टिमकै प्रशिक्षक घोषित भए । यू–२३ टिममा खासै भन्ने हो भने तनाव हुन्न, तर क्रिस्टियानो रोनाल्डो सम्मिलित टिमको प्रशिक्षण गराउनु भनेको तनावैतनाव मात्र हो । रोनाल्डोले खेल्न छाड्नुअगाडि युभेन्ट्स चाहन्छ, युरोपेली च्याम्पियन्स लिग जित्ने ।

यही कामका लागि पिर्लोको चयन वास्तवमै आश्चर्यजनक छ । खेलाडी छँदा उनी गज्जबकै थिए । यस्तै काम के उनले प्रशिक्षकका रूपमा पनि दोहोर्‍याउन सक्नेछन् त ? यो प्रश्नलाई अर्को पाराले पनि सोध्न सकिन्छ, के पिर्लो आएयता युभेन्ट्सको ब्रान्ड अझ मजबुत हुनसक्छ त ?

सन् २०१७ को च्याम्पियन्स लिग फाइनल युभेन्ट्सले रियल म्याड्रिडसँग गुमाएको थियो । त्यसयता क्लबमा धेरथोक परिवर्तन आएको छ । जस्तो, युभेन्ट्स ब्रान्ड बलियो बनाउन क्लबले रोनाल्डो किन्यो ।

तर सन् २०१८–०१९ को सिजन मासिमिलियानो एलेग्रीको नेतृत्वमा क्लबले राम्रो खेल्न सकेन, टिमले पस्केको फुटबल नीरस थियो । त्यसपछि सारी आए, युभेन्ट्सको खेल सुध्रिएन, अझ नीरस भयो । अझ क्लबको संघर्ष गर्ने छवि पनि धुमिलियो । क्लब अध्यक्ष आन्द्रे एग्नेली जोखिम उठाउन तयार छन्, त्यसैले सायद पिर्लोलाई उनले भित्र्याएका हुन् । मिलानका यी नायक युभेन्ट्सका पनि लिजेन्ड हुन्, उनको आगमनले क्लबको खेलमा यसपल्ट त रौनकता फर्कने विश्वास छ ।

हुन पनि केही वर्षअघिसम्म युभेन्ट्सको खेल हेर्दा मज्जा आउँथ्यो । त्यो खेलमात्र थिएन, कला पनि थियो । रोनाल्डोको खेल हेर्न त सबै तयार छन् नै, पिर्लोले त्यो खेलमा अब मसला थप्ने प्रयास गर्नेछन् अनि रोनाल्डोलाई ती सबै खेलाडीले साथ दिनेछन्, जसलाई व्यक्तिगत खेलभन्दा टिमको प्रदर्शनमा बढी ध्यान हुनेछ । अब प्रश्न यही हो, के पिर्लोले खेलाडीका रूपमा जे जस्ता सफलता चुमे, प्रशिक्षक भएर त्यस्तै सफलता हात पार्न सक्नेछन् त ?

जर्जियो किलेनीले पनि आफ्नो आत्मकथामा लेखेका छन् । जतिबेला सफल र नाम कहलिएका खेलाडी पछि प्रशिक्षक हुन्छन्, तिनले अनौठो समस्या सामना गर्छ । उसले सोच्न सक्छ, सबै खेलाडी म जस्तै हुँदो हो, तर हुन्न । खेलाडी छँदा त उसले तनाव भनेकै आफ्नो मात्र लिए हुन्थ्यो, तर प्रशिक्षक भएपछि यस्तो तनाव सबै खेलाडीको लिनुपर्छ । त्यसैले मानव व्यवस्थापनमा अलिकति पनि चुक्यौं भने प्रशिक्षक नराम्रोसँग चिप्लिन सक्छ, यसमा दुईमत छैन ।

त्यसो त युभेन्ट्सले सारीलाई १४ महिनाअगाडि अनुबन्ध गर्दा पनि यस्तै अपेक्षा राखेको थियो । सारीको नेतृत्वमा नेपोलीले राम्रै आकर्षक फुटबल खेलेको थियो । उनको नेतृत्वमा चेल्सीले युरोपा कप जितेको हो । सारी खेलको सौन्दर्यतामा ध्यान दिने प्रशिक्षक पनि हुन् । उनको नेतृत्वमा युभेन्ट्सले सिरी ‘ए’ जितेको पनि हो । तर उनको काममा खोट लगाउने धेरै छन् । अहिले उनको स्थानमा पिर्लो ल्याउनु अझ जोखिम हो भन्ने त उत्तिकै छन् ।

पिर्लोसँग प्रशिक्षकको अनुभव छैन । त्यसैले अबको दिन कुनै न कुनै मोडमा समस्या हुने छ नै । तर पिर्लोसँग केही राम्रा पक्ष छन् । जस्तो, उनी जत्तिको खेलाडीले सिरी ‘ए’ लाई जति बुझेका छन्, त्यो अरू कमैले बुझे होलान् । इटालीमा उनले तीनै ठूला क्लबका लागि खेलेका छन् । अब रोनाल्डोले सारीलाई जस्तो व्यवहार गर्न सक्छन्, त्यस्तै व्यवहार पिर्लोलाई गर्न सक्दैनन् । किनभने पिर्लो युभेन्ट्सका लागि त्यही हो, जुन रियलका लागि जिनेदिन जिदान हो ।

खेलाडीका रूपमा पिर्लोले धेरैथोक जितेका छन्, त्यसैले रोनाल्डोले उनलाई सम्मान नगरेर सुखै छैन । पिर्लोलाई नजिकबाट चिनेकाहरू भन्छन्, प्रशिक्षक भएर उनका केही अपेक्षा छन्, जुन अन्य आधुनिक प्रशिक्षकमा पनि छ । जस्तो, खेलमा सुरुदेखि प्रभुत्व जमाउने, सकेसम्म बल आफ्नै नियन्त्रणमा राख्ने । तर पिर्लो, पेप ग्वार्डिओला र एटलान्टाका जियान पिएरे गास्पेरिनी जस्ता भने छैनन् । जसले आक्रमणका लागि रक्षांक्तिमा बलिदान दिने गर्छन् ।

उनले आफ्नो आत्मकथामा भनेका छन्, ‘फुटबलको सबैभन्दा ठूलो सिद्धान्त हो, जसले कम गोल खान्छ, त्यही टिमले जित्छ ।’

यो सिद्धान्तका कडा हिमायती पिर्लोले एउटा तथ्यमा अर्को सिजन खुबै ध्यान दिनेछन् । त्यो हो, त्यही कडिकडाउ डिफेन्स । यस सिजन युभेन्ट्सले लिगमा ४० गोलभन्दा बढी खाएको थियो भने जितको स्थितिबाट २१ अंक गुमाएको थियो । तर समस्या यहींनिर हुन सक्छ । धेरै डिफेन्समा ध्यान दिँदा फेरि खेल नै नीरस हुने त होइन ? -बीबीसी स्पोर्ट्सबाट

तस्बिरहरु : रोयटर्स

प्रकाशित : श्रावण ३०, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?