ब्ल्याक फरेस्टबाट एनफिल्डसम्म

ब्‍ल्याक फरेस्टबाट एनफिल्डसम्मको योर्गन क्लोपको यात्रामा त्यस्ता खास मोड छन्, जसले उनको पूरा व्यक्तित्वमा असर पारेको छ ।
बीबीसी

लिभरपुरल — जेनेस हासलाई अहिले पनि राम्रोसँग सम्झना छ । जति बेला उनलाई लागेको थियो, आफ्ना साथी योर्गन क्लोपमा फुटबलको व्यवस्थापक हुने गुण छ । उनीहरू भर्खर ११ वर्ष टेकेका थिए । सीभी ग्लाटेनको युवा टिमका लागि खेलिरहेका थिए अनि त्यति बेला उनीहरू खुबै चाख मानेर रेडियोमा स्टुटगार्टले बुन्डेसलिगामा खेल्दाको कमेन्ट्री सुन्थे । त्यसमध्ये एक खेलका क्रममा किशोर क्लोपले स्टुटगार्टको रणनीति विश्लेषण गर्न सुरु गरे ।

उनले केही सब्स्टिच्युटबारे सल्लाह दिएका दिए, जसले टिमको प्रदर्शन राम्रो हुन सक्थ्यो । त्यसको केही क्षणपछि खबर आयो, क्लोपले जे भनेको थिए, त्यसैअनुसार खेलाडी परिवर्तन पनि भयो । हास सम्झन्छन्, ‘म त छक्कै परें । उनमा फुटबलबारे गज्जबको ज्ञान थियो । मलाई त अझ के पनि लागेको थियो भने त्यही बेला उनी प्रशिक्षक बन्न सक्षम थिए ।’ ब्ल्याक फरेस्ट स्कुलमा छँदा नै उनमा प्रशिक्षक हुने गुण देखा परिसकेको थियो ।

आखिरमा उनी आधुनिक फुटबलका एक सफल प्रशिक्षक भइहाले । मेन्ज क्लबमा छँदा उनी खेलाडीबाट प्रमुख प्रशिक्षकसम्म भए । उनकै नेतृत्वमा त हो, क्लबले पहिलोपल्ट बुन्डेसलिगाको यात्रा तय गरेको । बोरुसिया डर्टमन्डमा रहेका बेला उनले जर्मन फुटबलमा बायर्न म्युनिखको वर्चस्व समाप्त पारेका थिए । अहिले उनी लिभरपुलमा छन् र क्लबलाई छैटौं युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाइसकेका छन् । केही असोचनीय भएन भने लिभरपुलले अब १९ औं पटक लिग उपाधि पनि जित्दै छ ।


क्लोप खेलाडी, समर्थक, क्लब पदाधिकारीदेखि पत्रकारका लागि पनि सजिलो व्यक्तित्व हुन् । अधिकांस समय मुस्कुराइरहेका हुन्छन् । दाह्रीमा उनको व्यक्तित्व अझ खुल्छ । लिभरपुलको खेलमा त्यसका समर्थकको ठूलो भावना लगानी भएको हुन्छ । सपना पनि उत्तिकै हुने गर्छ । ती सबैको राम्रो प्रतिफल दिन सक्षम कोही छन् भने ती क्लोप नै हुन् । क्लोपको ब्ल्याक फरेस्टबाट एनफिल्डसम्मको यात्रा त्यस्ता खास मोड छन्, जसले उनको पूरा व्यक्तित्वमा खासै असर पारेको छ ।


सबैभन्दा पहिले कथा ग्लाटेनबाटै सुरु हुन्छ । त्यहाँको क्लोपको ब्ल्याक फरेस्ट स्पा भिलेजमा उनले आफ्नो फुटबल खेलजीवनको सुरुआती दिन बिताएका थिए । त्यहीं उनले हासलाई भेटे । उनीहरू अरू केही साथीसँग मिलेर खेल हेर्न जान्थे । स्कुलबाट केही टाढा उनको सेतो रंगको घर पनि थियो । त्यहाँ उनका आमा अझै बस्छिन् । त्यसको छेउमा क्लोप र हासको सुरुआती स्कुल पनि थियो । उनको त्यो गाउँ आफ्नो परम्परा र खानका लागि मात्र प्रसिद्ध छैन ।


यो दक्षिण–पश्चिम जर्मनीको गाउँमा क्लोपले त्यो स्वतन्त्रता र तनावरहित क्षण बिताए, जुन मेन्ज, डर्टमन्ड र लिभरपुल कहीं पनि सम्भव छैन । हास भन्छन्, ‘यहाँका बासिन्दा बढी चुपचाप हुन्थे, गम्भीर खालका थिए । यहाँका मानिससँग एकपल्ट दोस्ती गर्नुपर्छ, त्यो पूरा जीवन कायम रहन्छ अनि सबै खुलेर कुराकानी गर्न थाल्छन् ।’ क्लोपका दुई दिदी थिए । दुवैलाई उनी आमाजस्तै मान्छन् । तर क्लोपलाई फुटबलमा केन्द्रित हुन प्रेरित गर्ने थिए, उनका बुवा नोरबर्ट ।


उनी भ्रमणकारी सेल्सम्यान थिए । पूर्व गैरव्यावसायिक गोलरक्षक पनि । क्लोपका पहिलो प्रशिक्षक उलरिच राथ भन्छन्, ‘क्लोपको जीवनमा उनको बुवाको ठूलो प्रभाव रह्यो ।’ राथले नै ग्लाटेनको यू–११ टिम बनाएका थिए, सन् १९७२ मा । त्यसमा उनले आफ्ना दुई छोरालाई पनि राखे । उनीहरू थिए, इन्गो र हार्टी । त्यसमा क्लोप र हास पनि थिए । राथ मान्छन्, ‘नोरबर्टको जन्म ग्लाटेनमा भएको थिएन, उनी मेन्ज नजिकका थिए । तर ग्लाटेन आएयता क्लबमा उनी खुबै सक्रिय रहे ।’


आफ्‍ना पिता नोर्बटका साथ किशोरावस्थामा क्‍लोप


ती नोरबर्ट सुरुमा फुटबलमा सक्रिय थिए, पछि टेनिसमा पनि जमे । तर उनको पहिलो माया फुटबलप्रति नै थियो । त्यसको प्रभाव क्लोपमा पर्ने भयो नै । उनकी आमा भने ग्लाटेनकै थिइन् । उनको परिवारलाई त्यहाँ सबैले चिन्थ्यो । राथ थप्छन्, ‘फुटबलमा क्लोपलाई छिराउने उनको बुवा थिए । तर क्लोपलाई परिवारबाट फुटबलमा लाग्न जुन प्रकारको समर्थन र सहयोग चाहिन्थ्यो, त्यो भने आमाबाट प्राप्त भएको थियो ।’ क्लोप मिडफिल्डर थिए र युथ सीभी ग्लाटेनका कप्तान पनि ।


अलि उमेर बढेपछि उनी केही ठूलो आर्गेनजिगेन क्लबसँग आबद्ध भए । राथ अहिले ७९ वर्षका भए । उनी सम्झन्छन्, ‘केही चित्त बुझेन भने क्लोप आफ्नो मनको कुरा भनिहाल्थे । उनको र मेरो सम्बन्ध सधैं राम्रो रह्यो । उनी निकै महत्त्वाकांक्षी पनि थिए । उनी विपक्षी टिमलाई हराउन सधैं केही न केही सोचिरहेका हुन्थे ।’ सन् १९८१ मा उनले फेरि छेउकै गाउँको नयाँ क्लब रोजे, जसको जर्सीमा पहेंलो र कालो धर्का थियो, जुन डर्टमन्डसँग मिल्छ ।

सन् २०११ मा यही डर्टमन्डलाई उनले पहिलो बुन्डेसलिगा उपाधि दिलाए । जर्मन फुटबलमा ठूलै सफलता चाखे पनि उनले आफ्नो गाउँ र त्यहाँको फुटबललाई बिर्सेनन् । साथीको ७५ वर्षको जन्मदिनमा क्लोपले फोन गरेर शुभकामना व्यक्त गरे । ग्लाटेन छाडेयता उनले केही गैरव्यावसायिक क्लबबाट खेले । फ्रान्कफर्टमा रहेका बेला त्यहाँको विश्वविद्यालयमा उनले खेलकुदबारे अध्ययन पनि गरे । सन् १९९० मा उनी २३ वर्षको उमेरमा मेन्ज गए ।


बाल्यकालको फुटबल टिम ब्ल्याक फरेस्टमा क्लोप । उनी सन् १९६७ मा ग्‍लाटेनस्थित ब्ल्‍याक फरेस्ट भिलेजमा जन्‍मेका हुन् ।


त्यहाँ क्लबका कप्तान थिए, मिखेल सुमेकर । उनी भन्छन्, ‘क्लोप सधैं जिन्स र टी–सर्टमा हुन्थे ।’ क्लोप आएयता मेन्जले नाटकीय प्रगति गर्न सक्यो । मैदानमा क्लोप खासै जम्न सकेनन् । उनी यो तथ्य मान्न सधैं तयार हुन्छन् कि उनको खुट्टा दोस्रो डिभिजन खेल्न मात्र लायक थियो, तर उनको फुटबल दिमाग भने ए डिभिजनको थियो । सुमेकर पनि मान्छन्, क्लोप औसत खेलाडीमात्र रहे । मेन्जमा उनी सुरुमा फरवार्ड थिए । पछि डिफेन्डर भए ।

यो भूमिकामा उनी केही हदसम्म सफल रहे । मेन्जमा उनले एक दशक बिताए । क्लबका लागि ३ सय २५ खेल खेले । यसैबीच अचानक उनले क्लबको प्रशिक्षक हुने अवसर पाए । सुरु भयो, उनको वास्तविक फुटबल यात्रा । सन् २००१ को फेब्रुअरीमा मेन्ज रेलिगेसनको डरबाट गुज्रिइरहेको थियो । क्लब अध्यक्ष हेराल्ड स्टुरेजले उनलाई प्रशिक्षक बनाउने जोखिमपूर्ण निर्णय लिए । लगत्तै क्लोपको आगमनले रंग देखाउन सुरु गरेको थियो ।


सन् २००४ मा मेन्‍जले सफलता पाउँदा क्लोप

पहिलो खेलमै मेन्जले डसबर्गलाई हरायो । त्यसपछिका ७ खेलमध्ये ६ मा मेन्ज विजयी रह्यो र रेलिगेसनको सम्भावना रहेन । त्यसपछि अझ राम्रा दिन सुरु भए । तर दुई सिजन बढुवाको नजिक पुगेर पनि सफल रहेन । अन्तत: लगत्तैको सिजनमा मेन्ज बुन्डेसलिगा पुग्न सफल रह्यो । त्यस दिन मेन्जका सबै फुटबलप्रेमी खुसीले रोएका थिए । मेन्जले तीन सिजन बुन्डेसलिगामा बितायो । सबैले देखे, क्लोप कस्ता छन् भनेर ।


सन् २००६ को विश्वकपमा उनी टेलिभिजनमा पनि देखा परे, खेल पण्डितका रूपमा । सन् २००८ आइपुग्दा उनी डर्टमन्ड पुगिसकेका थिए । क्लबको घरेलु मैदानमा खेल हुँदा ८० हजार दर्शक हुने गथ्र्यो । उनको नेतृत्वमा डर्टमन्डले ‘हेभिमेटल’ फुटबल खेल्यो । सन् २०१२ मा डर्टमन्डले लिग र कप दुवै जित्यो । अहिले उनी लिभरपुलमा छन् । विश्वकै सर्वाधिक लोकप्रिय क्लबमध्ये एक रहेको लिभरपुललाई उनले फेरि सफलताको उचाइमा पुर्‍याउन सक्छन् ।

–यो सामग्री बीबीसीका लागि साम टेरिङघमले तयार पारेका हुन् । प्रकाशित : चैत्र २३, २०७६ ११:४५

प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तानी नागरिक स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा

माधव घिमिरे

विराटनगर — सुनसरीका मस्जिदमा केही समययता पाकिस्तानी र भारतीय नागरिक बस्दै आएको पाइएपछि प्रहरीले उनीहरूलाई स्वास्थ्य जाँच गराएर सुरक्षित बस्न भनेको छ ।सुनसरीको पकलीमा शनिबार सात पाकिस्तानी बसिरहेको जानकारी पाएपछि उनीहरूको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

इलाका प्रहरी कार्यालय, इटहरीका नायब उपरीक्षक (डीएसपी) धर्म भण्डारीका अनुसार उनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा डेढ महिनाभन्दा अघि आएको पाइएको छ । स्वास्थ्य अवस्था ठिक रहेको पाइएको उल्लेख गर्दै भण्डारीले उनीहरूलाई सुरक्षित भएर बस्न भनिएको बताए ।

यसै गरी हरिनगर गाउँपालिकास्थित जामिया मस्जिदमा भारतको मुम्बईका १४ जना नागरिक भेटिएका छन् । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य पाइएपछि प्रहरीले सुरक्षित भएर मस्जिदमै बस्न भनेको छ ।

सुनसरीका विभिन्न गाउँमा मुस्लिम समुदायको बाक्लो बसोबास छ । ती स्थानमा मस्जिद र मदरसा पनि छन् । कतिपय भारतीय र पाकिस्तानी नागरिक ती स्थानमा आएर बसेको भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले सोधखोज गरी स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा बस्न लगाउने गरेको छ ।

केही स्थानीयले भारतको नयाँ दिल्लीमा हालै भएको मुस्लिम समुदायको भेलाका सहभागीहरू पनि रहेको आशंका गर्दै प्रहरीमा सूचना दिएका छन् । त्यसका आधारमा प्रहरीले निगरानी गरिरहेको जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×